१२ तस्विरमा हेर्नुहाेस् कराँची विमान दुर्घटना

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ। पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएकाे हाे।

उक्त विमान कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। विमान लाहोरबाट कराँची आइरहेको पाकिस्तानी समाचार संस्थामा उल्लेख छ।

समाचारका अनुसार विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्यहरु सवार थिए। सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ।

प्रत्यक्षदर्शीका अनुसार विमान दुई या तीन पटक अवतरणको असफल प्रयास गरेपछि दुर्घटनाग्रस्त बनेको थियो। ‘विमान पहिले मोबाइल टावरमा ठोकियो र त्यसपछि घरहरूमाथि खस्यो,’ प्रत्यक्षदर्शी शकिल अहमदले भने।

लाइभएटीसी डट नेटमा उपलब्ध विमान चालक र एयर ट्राफिक कन्ट्रोलरबीच भएको अन्तिम संवादमा पाइलटले आफू ल्याण्ड गर्न असफल भएको र दोस्रो प्रयास गर्न गइरहेको बताएको सुन्न सकिन्छ। उनले विमानको इन्जिनमा समस्या रहेको पनि जानकारी गराएको सुन्न सकिने एपीले जनाएको छ। अन्त्यमा ‘मेडे मेडे मेडे’ भन्दै ट्रान्समिसन अन्त्य हुन्छ।

कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो। 

 दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन। यसअघि, सन् २०१६ मा पाआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले जयान गुमाएका थिए।

त्यस्तै सन् २०१२ मा भोजा एयरको बोइङ विमान रावलपिन्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ चालकदलका सदस्यले ज्यान गुमाएका थिए। सन् २०१० मा एयरब्लु एयरलाइनसको विमान इस्लामावादमा दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो।

 

 

प्रकाशित मिति: : 2020-05-22 21:56:15

प्रतिकृया दिनुहोस्