धर्मेन्द्रका कारण जन्मिएकाे मेराे उपन्यास ‘विगतको परिवेशभित्र’

धर्मेन्द्रका कारण जन्मिएकाे मेराे उपन्यास ‘विगतको परिवेशभित्र’

सन् १९७१ मा बंगलादेशमा स्वतन्त्रता संग्रामका लागि लड्न जाँदा म २२ वर्षको कलिलो ठिटो थिएँ। पहिलेदेखि नै साहित्यमा रुचि थियाे। युद्धकाे मैदानमा पनि म ट्रेन्चमा बसेर कविता लेख्ने गर्थे। 

बंगलादेश जन्मनु भन्दाअघि पाकिस्तानमा रहेकाे याे देशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो। भाषा बंगली भएपनि राज्यकाे धर्म इस्लाम थियाे। जुन अहिले पनि यथावत छ। सन् १९४७ मा बेलायती शाषकबाट स्वतन्त्रता पाउदा भारत र पाकिस्तानकाे रुपमा दुईवटा देशकाे जन्म भएकाे थियाे।  

धर्मकाे आधारमा बाँडिएकाे यी दुई देशमध्ये पाकिस्तानले हालकाे बंगलादेशकाे भूभाग पनि प्राप्त गरेकाे थियाे। मूलत बंगालीहरु बसाेबास गर्ने पूर्वी पाकिस्तानकाे राज्य व्यवस्था पश्चिम पाकिस्तानबाटै सञ्चालन हुन्थ्याे। ब‌ंगाली नेता शेख मजिबुर रहमानकाे नेतृत्वलाई सहन नसकेकाे तत्कालीन पाकिस्तानी सरकारले बहुसंख्यक बंगाली मुसलमानमाथि घाेर अत्याचार गरेपछि यहाँ ठूलाे आन्दाेलन भयाे। 

यसलाई दबाउन पाकिस्तानले सेना पठाउनु परेकेा थियाे। पाकिस्तानी सेनाले ब‌ंगलादेशमा नरसंहारको अटुट शृंखलालाई जारी राखेपछि बलात्कारमा परेका हजाराैं नारीलगायत उनका परिवारले भारतमा शरण लिन थाले। पाकिस्तानी सेनाकाे अत्याचार बढ्न थालेपछि र आफ्नाे सीमामा पनि शान्ती सुरक्षामा प्रभाव पर्न थालेपछि भारत सरकारलाई पाकिस्तानसँग युद्ध गर्न कर लाग्याे।

यसरी सन् १९७१ मा बंगलादेश युद्धकाे भूमिका बन्याे। ३–१६ डिसेम्बरसम्म भएकाे याे युद्धमा भाग लिन हाम्रो पल्टन २ र ५ गोर्खा राइफल्स पनि सहभागी भयाे। त्यति बेला हाम्राे पल्टन केरलाकाे राजधानी त्रिवेन्द्रममा थियो। यसबारे मैले आफ्नो आत्मकथा ‘कारगिल युद्ध–१९९९’ मा राम्ररी वर्णन गरेको छु्। 

बंगलादेश युद्धमा भाग लिएर फर्किएपछि सन् १९७२ को फरवरी र मार्चमा हाम्रो पल्टन राजस्थानको सुन्दर नगरी उदयपुरमा बसेकाे थियाे। यहाँ एक महिना बिताउने क्रममा हिन्दी फिल्म ‘राजाजानी’ को सुटिङका लागि यस फिल्मका निर्देशक मनमोहन देशाई एवम् कलाकार धर्मेन्द्र ,प्रेम चोपडा, हेमा मालिनी ,जानीवाकर आदि आएका थिए। उनीहरु ५ तारे होटल ‘लेक प्लेस’ मा बसेका थिए। 

उदय सागरको माझमा रहेकाे याे हाेटल कुनै बेला उदयपुर राजाको महल थियाे। तरपछि होटलमा परिणत भयाे। होटल हाम्रो ब्यारेकदेखि डेढ किलोमिटर टाढा थियो। उदय सागरको केही किनार हाम्रो ब्यारेकबाट आधा किलोमिटरमा पनि आइपुगेको थियो। किनारमा हाम्रो ब्यारेकबाट केही नालाकुलो मिसिएका थिए। यसैकारण पानी परेपछि उदय सागरबाट अत्यधिक माछाहरू नाला हुँदै ब्यारेका खोल्सा–खोल्सीमा आइपुग्थे। माछा अत्यधिक भेटिन्थ्यो। हामीले धेरै माछा खाएका छाैं त्यहाँकाे। 

यही उदय सागरस्थित लेक प्लेस होटलमा बसेका फिल्मी कलाकार हाम्रा पल्टनका जवानलाई भेट्न भनेर एक साँझ आएका थिए। उनीहरुलाई भेट्न हामी पनि सबै जम्मा भएका थियाैं। उनीहरूलाई राख्न ब्यारेकको एक छेउमा स्वागत मञ्च बनाइएको थियो। उनीहरू मञ्चमा बसेपछि उद्घोषक बनेका हाम्रा पल्टनका एड्ज्यूटेण्टले उनीहरूबाट फिल्मीसम्बन्धी अन्तरंग कुरा सोधेका थिए। 

प्रेम चोपडालाई सोधियाे–उनले किन भिलेनको मात्र भूमिका खेल्छन्? हिरो भएर किन खेल्दैन्?

उनकाे उत्तर थियाे– ‘भिलेन होस् कि हिरो तर कुरा त अभिनयकाे हुन्छ। अभिनय राम्रो गरेन भने हिरो पनि फ्ल्प हुन्छ। अभिनय राम्रो गरे भिलेन पनि फिल्मी जगतमा टिकिरहन सक्छ। म टिकिरहेको छु। यसैैकारण मलाई भिलेन हुन मन पर्छ।’

यसै प्रसंगमा उनले पृथ्वीराज कपूरको घटना सुनाए। जुन घटनाबारे मैले अस्तिकाे लेखमा समावेश गरिसकेकाे छु। हेमा मालिनीलाई सोधियो उनको सबैभन्दा उत्कृष्ट फिल्म कुन हो? उनले उत्तरमा ‘सपनोंका सौदागर’ भनिन्। धर्मेन्द्रलाई पनि यही कुरा सोधियो–उनको सबैभन्दा उत्कृष्ट फिल्म कुन हो?

उत्तरमा ‘सत्यकाम’ भने। तथा ‘सत्यकाम’ बारे विस्तृत कुरा गरे। उनकाे कुराले गर्दा ‘सत्यकाम’ बारे शोध गर्ने मेरो विचार भयो। आखिर उनले ‘सत्यकाम’ बारे यति विस्तृत कुरा किन गरेँ?

फिल्म ‘सत्यकाम’ नारायण सन्यालको उपन्यास ‘सत्यकाम’ बाट बनेको रहेछ,जुन उपन्यास मैले पल्टनको पुस्तकालयमा फेला पारेँ।

सो उपन्यास मैले तीनपल्ट पढेपछि मलाई पनि नेपालीमा उपन्यास लेख्ने उत्साह जाग्यो। अनि मार्च महिनामा उदयपुरमै मबाट उपन्यास ‘विगतको परिवेशभित्र’ जन्मियाे।

प्रकाशित मिति: May 28, 2020 19:15:42

प्रतिक्रिया दिनुहोस