‘युथ एड्भोकेसी नेपाल’ ले निकाल्यो युवा र स्वयंसेवासम्बन्धी जर्नल

सामाजिक जीवनका विभिन्न क्षेत्रमा युवा स्वयंसेवकको भूमिकाबारे अनुसन्धानमा आधारित लेखहरु समेटिएको ‘नेपाल युथ जर्नल’को शनिबार वेबिनारमार्फत् विमोचन गरिएको छ । 

‘युथ एड्भोकेसी नेपाल’ नामक संस्थाले वार्षिक रुपमा प्रकाशित गर्ने जर्नल यस वर्ष युवा र स्वयंसेवा विषयमा केन्द्रित गरिएको थियो । 

वरिष्ठ साहित्यकार एवं प्राध्यापक अभि सुवेदीले विमोचन गरेका जर्नलमा वातावरण, पर्यटन, कृषि, दुव्र्यसनबाट मुक्ति, राजनीतिलगायतका क्षेत्रमा युवाहरुले गर्न सक्ने स्वयंसेवाका बारेमा १८ लेखकका अनुसन्धानमा आधारित लेख प्रकाशित छन् ।

प्रकाशित लेखको सान्दर्भिकता र स्तरीयताका बारेमा प्रा. सुवेदी लगायत शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइराला, विश्लेषक डा. उद्धव प्याकुरेल, शीखा श्रेष्ठलगायतले विचार व्यक्त गरेका थिए ।  
जर्नल विमोचन गर्दै साहित्यकार एवम् प्रा. अभि सुवेदीले युवाहरुलाई स्वयंसेवामा प्रेरित गर्ने उद्देष्यले र स्तरीय मानकहरुमा आधारित भएर लेखिएका आर्टिकल सहितको जर्नल प्रकाशित हुनु गर्वको विषय भएको बताए । 
प्राध्यापक विद्यानाथ कोइरालाले स्वयंसेवाको चर्चा गर्दा पश्चिमा विद्वान र अभ्यासलाई मात्र हेर्नु भन्दा परम्परादेखि चलिआएका असल अभ्यासमा पनि जोड दिनुपर्ने बताए । कार्यक्रममा आफनो विचार राख्दै राजनीतिक समाजशास्त्री डा. उद्धव प्याकुरेलले प्राज्ञिक कर्ममा संलग्नहरु नै स्तरीय आर्टिकल लेख्नभन्दा पैसामुखी कन्सल्ट्यान्सीमा लागिरहेको सन्दर्भमा मेहनतपूर्वक लेख लेखेर जर्नल प्रकाशित गर्न सकेकोमा सह्राना गरे । 

जर्नलका प्रधान सम्पादक डा. तारालाल श्रेष्ठले सञ्चालन गरेकाे  कार्यक्रममा सम्पादक मण्डलका सदस्यहरु शिवप्रसाद तिवारी, लेखनाथ पाण्डे र प्रवीण श्रेष्ठले जर्नल प्रकाशनका अनुभव बाँडेका थिए । 

 

प्रकाशित मिति: : 2020-05-23 20:31:35

प्रतिकृया दिनुहोस्