कृषिमन्त्री घनश्याम भुसालको तयारी– आगामी आर्थिक वर्षबाट किसानको आफ्नै बजार

कृषिमन्त्री घनश्याम भुसालको तयारी– आगामी आर्थिक वर्षबाट किसानको आफ्नै बजार

संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशभरि किसानको आफ्नै राष्ट्रिय बजार खोल्ने तयारी गरेका छन् ।

उनले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरुसँग आइतबार 'भर्चुअल' बैठक गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार निर्माणको काम सुरु गर्ने सहमति जुटाएका हुन्।

सहमति अनुसार, ७५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण सुरु गरिने भएको छ। 'हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारण गृह र वितरण प्रणाली हुने व्यवस्था शुरु नगरे कृषि क्षेत्र बचाउँन सकिदैन', मन्त्री भुसालको प्रस्ताव थियो। त्यी स्थानीय सेललाई प्रदेश र संघीय सरकारले जोडेर किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने भएको छ।

यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेट केन्द्रीत गर्ने सहमति भएको छ। मन्त्री भुसालले संघीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्नेगरी बजेट ल्याउने जानकारी दिदैं प्रदेश सरकारहरुलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरेका छन्।

प्रदेशका मन्त्रीहरुले पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने तर, बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमति जनाएका छन्। 'एउटा प्रदेशबाट अर्को प्रदेश र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहसम्म किसानले उत्पादन गरेको उपज पुग्न सकिरहेको छैन', मन्त्री भुसालले भने, 'किसानको राष्ट्रिय बजार निर्माणले अहिलेको अस्तव्यस्तताको अन्त्य हुनेछ।'

कृषि क्षेत्रको पुनर्संरचनाका लागि मन्त्रालयले अगाडि बढाएको ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमको एक महत्वपूर्ण काम किसानको आफ्नै राष्ट्रिय बजार निर्माण भएको मन्त्री भूसाले बताएका छन्। प्रदेश मन्त्रीहरुले भने अहिले नै केही स्थानीय सरकारले त्यो अभ्यास शुरु गरिसकेको जानकारी गराएका थिए। कुनै पनि किसानलाई न्यूनतम नाफा सुनिश्चित गर्नेगरी सरकारले कार्यक्रम ल्याउने घोषणा गरेका मन्त्री भुसालले बजेटबारे नै गत फागुन २५ र २६ गते सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेका थिए।

संघीय राजधानी काठमाडौं उपत्यकाबाटै यो अभियान सुरु गर्ने मन्त्रीको योजना छ। उनले भने, 'सबै क्षेत्र, प्रदेश मन्त्रीहरु र स्थानीय सरकारको कुरा सुन्दा अहिलेको प्रमुख समस्या किसानले उत्पादन गरेको उपज बजारसम्म पुग्ने नेटवर्क नहुनु नै हो। त्यसैका लागि सरकारले किसानको राष्ट्रिय बजार सञ्चालन गर्नुपर्छ ।' कृषिमन्त्री भुसालले यसका लागि राजधानी उपत्यकाका सबै मेयरहरुसँग छलफल समेत गरिसकेका छन्।

कोभिड–१९ महामारीका कारण कृषि क्षेत्रमा सवैभन्दा बढी चुनौती देखिएको संघ र प्रदेशका मन्त्रीहरुले निष्कर्ष निकालेका छन्। महामारीकै कारण देशमा थपिन सक्ने बेरोजगारलाई कृषि क्षेत्रमा सामेल गराउन थप बजेट समेत माग गरिएको भुसालले जानकारी दिएका थिए। “कृषि क्षेत्रमा जान चाहनेलाई सस्तो ब्याजमा ऋण दिलाउन थप बजेट मागिएको छ। त्यो थपिएको बजेटले बेरोजगारलाई रोजगार र कृषि क्षेत्रमा उत्पादन बढाउनेछ', भुसालले भने।

कृषि क्षेत्रमा देखिएको समस्याबारे पनि छलफल गरेको छ। महामारीकै कारण कतिपय ठाउँहरुमा मल तथा बीऊ पुग्न नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरी तत्काल यो समस्या हल गर्न प्रदेशका मन्त्रीहरुले आग्रह गरेका थिए। प्रदेश–१ र २ मा उत्पादित उपज महामारीकै कारण भारत तर्फ निकासी गर्न नसकिएकोबारे पनि छलफल भएको छ।

 

 

प्रकाशित मिति: May 25, 2020 06:52:50

प्रतिक्रिया दिनुहोस

सबै