पीडालाई शक्तिमा बदलेरै सफल उद्यमी बनेकी लक्ष्मी शर्मा (भिडियो)

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन्

२००६ सालमा महाराजगन्जमा जन्मिएकी लक्ष्मी शर्मा दक्षिण एसियाकै  पहिलो महिला टेम्पो ड्राईभर हुन्। यद्यपी उनको परिचय यतीमा सिमित छैन।

चालकबाट अन्तर्राष्ट्रियस्तरको उद्योगीको रूपमा समेत उनी परिचित छन्। टेम्पो ड्राईभरबाट करियर सुरू गरेकी लक्ष्मी पछिल्लो समय अन्तर्राष्ट्रियस्तरको सफल उद्यमी बनेर उदाएकी छन्।

यस बिचमा उनले अनेकौ आरोह-अबरोहको सामना गर्नुपर्‍यो।

काठमाडौं महाराजगन्ज स्थायी घर भएकी लक्ष्मी शर्मा मामाघरको गाईगोठमा जन्मिएकी हुन्।

‘विवाह भएको छोरीले माईतमा सन्तान जन्माउनु हुन्न’ भन्ने परम्पराले गर्दा उनकी आमाले गोठमा जन्माएकी थिइन्।

उनी आफूलाई न्वारन नभएको छोरी हुँ भन्छिन् र धर्म बुबाको काखमा हुर्किएको बताउँछिन्। यसभित्रका कथा उनलाई कोट्याउन मन लाग्दैन।

परिवारको  एक्ली छोरी लक्ष्मीका बुवा पूर्व राजा त्रिभुवनको पालामा राजदरवारमा काम गर्थे। त्यसैले ६ वर्षकै उमेरमा उनी राजा त्रिभुवनको बहिनीको घरमा काम गर्न बसेकी थिइन्। लक्ष्मीले ११ वर्षको उमेरसम्म दरवार भित्रै बसेर पूजाको भाडा माझ्ने, भगवानको कपडा फेराईदिने, धोईदिने, राजाको बहिनीको खुट्टा माड्नेदेखि घर सफा गर्नेसम्मका काम गरिन्।

लक्ष्मी ११  वर्षको हुँदा महारानीको मृत्यु भयो। महारानीको मृत्यु पश्चात उनको जाने ठाँउ कतै नभएपछि उनी घरमै फर्किइन्।

१३ वर्ष टेक्दै गर्दा उनको अन्तर्जातीय बिहे भयो। उनले १७ वर्षको  उमेरमा छोरीलाई जन्म दिइन्। छोरी जन्मिएको केही समयमानै उनको जिन्दगीमा ठूलो भुईँचालो आयो।

छोरी जन्मिएको केही दिनपछि मात्र श्रीमान अस्पताल गए। त्यसको केही दिनमा अस्पतालमा एक अपरिचित महिला आएर लक्ष्मीलाई तथानाम गालि गर्न थालिन्।

अस्पतालको बेडमा भएकी लक्ष्मीलाई ती महिलाले गाली मात्र गरिनन् चिथोर्ने र कोपर्नेसमेत गर्न थालिन्। त्यो महिला श्रीमानको प्रेमिका रहिछन्। उनले वास्तविकता थाहा पाएपछि बेहोस भईन्।

श्रीमानको व्यवहार र साथमा केटी देख्दा उनलाई धर्ति नै  भासिए जस्तै भयो रे।

'छोरी पाएको ४ दिनमै कोही महिलाले 'म तेरो श्रीमानको प्रेमिका हुँ, तलाई तेरो श्रीमानले माया गर्दैन' भनेर मलाई दुर्व्यवहार गरेपछि मेरो भर्खरै सुरु भएको जिन्दगीमा ठूलो तुषारापात भयो। संसारमा सबै चिज बाढ्न सकिन्छ। तर श्रीमान बाढ्न नसकिँदो रहेछ’, भन्दै आखाँ भरि आशु पार्दै बिएल नेपाली सेवासँग भनिन्, 'त्यसै दिनदेखि मलाई मन भित्रैबाट उसलाई छाड्ने निर्णय गरेँ। 

त्यो बेलाको परिवेशमा श्रीमान छोड्नु भनेको सामाजिक बहिस्करणमा पर्नु थियो भन्दै उनले आफूले त्यो बेला ठूलो निर्णय लिएको बताइन्।

उनको श्रीमान सरकारी जागिरे भए पनि लक्ष्मीलाई कुनै किसिमको सहयोग गर्दैनथें।

लक्ष्मीको संघर्षको दिनहरू एकपछि अर्को गर्दै थपिए। अरू दुई छोरीहरू जन्मिए। काखका ३ छोरीहरू हुर्काउनुपर्ने बाध्यता उनैमा थियो। यस बिचमा उनले विभिन्न विदेसी कुटनीतिक व्यक्तिको घरमा खाना पकाउनेदेखि घर सफा गर्नेसम्मका काम गर्न थालिन्।

जेठी छोरी ६ महिलाको हुँदा लक्ष्मी एक रसियन डिप्लोमेन्टको घरमा मासिक ६० रूपैयामा भाडा माझ्ने,  बेड मिलाउने काम गरिन्।  १ वर्ष सम्म त्यहाँ काम गरेपछि उनले ब्रिटिस डिप्लोमेन्टकोमा महिनाको २०० मा काम गर्न थालिन्।

राम्रोसँग अंग्रेजी बोल्ने उनी स्कुलको औपचारिक शिक्षा लिएकी छैनन्। 'म जिन्दगीमा जम्मा २ दिन स्कुल गएकी छु। तर, विदेसीको सुसारे भएर काम गर्दा गर्दै मैले त्यहीबाट अंग्रेजी बोल्नेदेखि नैतिक शिक्षा सिकेँ, जसले आज मलाई व्यापारमा सफल हुन सघायो,' उनले भनिन्।

लक्ष्मीलाई पेन्टिङमा असाध्यै रूचि थियो। उनी आफ्नो भान्साको काम सकेर साना कपडामा पेन्टिङ कोर्थिन्। र तिनै पेन्टिङ विदेसीलाई बेच्थिन्।

आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मान्यता बोकेकी लक्ष्मीलाई विदेशीले नै यसमा सघाए।

एक जना ब्रिटिस डिप्लोमेन्टको श्रीमतीले उनलाई ६ महिनाको उद्योग अवलोकन कोर्सका लागि २०३९ सालमा भारत पठाइदिइन्। साना छोरीलाई आमासँग छोडेर लक्ष्मी  ८ महिनाको लागि कलकत्ता गईन्।

उनले जैशवाल अटो रिक्साको सिफारिसमा बनारसमा साढे दुई महिना टेम्पो बनाउने कोर्स पुरा गरिन्। त्यसपछि उनले  जनावरको हड्डी र सिङबाट बटन बनाउने, यसैगरी भारतमा काठका सामान बनाउने, छालाका सामान बनाउनेलगायतका धेरै तालिम लिएर उनी नेपाल फर्किइन्।

आवश्यक तालिम त लिईन्। तर, व्यवसाय गर्न उनीसँग सुको पैसा थिएन।

सुरूमा उनले बिग्रेको टेम्पो बनाउने मिस्त्रिको काम गरिन्। २०४१ साल चैत १४ गते उनले चालक अनुमति पत्र लिइन्। त्यसपछि टेम्पो चलाउन थालिन्। अरूको टेम्पो चलाउँदा कहिले बिग्रने कहिले भने जति पैसा नै नहुने  त्यसपछि उनको मनमा टेम्पो किन्ने  सोच आयो।  तर आफूसँग पैसा थिएन्।

साईली आमासँग १० हजार रूपैया ३६ प्रतिशत् व्याजमा लिएर सेकेन्ड हयाण्ड टेम्पो किनिन्। टेम्पोबाट राम्रै कमाई हुन थाल्यो।

टेम्पो चलाउँदा पछाडिबाट कपाल तानिदिने, आईमाईले चलाएको टेम्पोमा पनि पैसा तिर्छ भनेर नदिएर हिँड्नेदेखि पिटाई पनि खानुपरेको घटना अझै सम्झँदै दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभरसमेत रहेकी उनले भनिन्, 'टोलटोलमा पैसा उठाउन पल्केका गुण्डासँग लड्दा ओठमा लागेको घाउको निशाना अझै छ।'

 सरकारले  छानबिन गर्दा उनी पहिलो टेम्पो चालक  भएको थाहा भयो। गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री भएको समयमा उनलाई दक्षिण एसियाकै पहिलो टेम्पो चालिका भनेर पुरस्कृत गरियो।

टेम्पो नं ९ बाट सुरु भएको उनको चालक यात्रा टेम्पो न. २२६, टेम्पो नं २७१ र दरबारबाटै लिलामी अवस्थामा रहेर किनेको टेम्पो नं २५४ सम्म पुगेर ५ वटा टेम्पोको मालिक भइन्। आफूले टेम्पो किनेर अरूलाई पनि उनले रोजगार दिएकी थिईन्।

२०४३ सालमा टेम्पो चलाउन छोडेकी उनले विष्णुमति र धोविखोलाबाट फयाँकिएका राँगा र भैसीका वेवारिसे  सिंह र हाडखोर जम्मा गरेर टाँकलगायतका हस्तकलाका समान बनाउने पेसाको सुरूवात गरिन्।

१० हजार रूपेयाँबाट  सुरू भएको उनको व्यवसायीक यात्रा आज करौडौंको भईसकेको छ।

अहिले शर्माको 'लक्ष्मी उड क्राप्ट' मा लगभग १५ सय किसिमका विभिन्न हस्तकलाका समानहरू उत्पादन हुन्छन्।

‘त्यो बखत सानो कचौरा, लामाले बजाउने डम्मरु, विभिन्न किसिमका हाण्डक्राफ्टहरु बनाएँ मैले,’ उनले भनिन्, ‘पछि गएर निडिल केशहरु,लेसहरुलगायत थुप्रै निर्माण गरेँ । ‘माइ क्रियशन’ भनेर अहिले त किताब नै निकालेको छु । मलाई बुन्नेमा धेरै रहर थियो । ढाका कारखाना राखे । विश्वका अधिकांश देशहरुमा हाम्रा उत्पादनहरु जान्छन्।’

उद्योग सञ्चालन गर्दा पहिला उनले बनारसबाट कालिगढहरू ल्याएर काम चलाएकी थिइन्। उनी स्वयं म पनि काम गर्थिन्। त्यसबेला २७ जनासम्म बनारसीहरू भएका थिए। पछि उनीहरुले नेपालीहरुलाई टुल्स (औजार) छुन नदिने गुनासो गरेपछि नेपालीहरुलाई काम सिकाउन सुरू गरिन्। ‘काम सिकाउने क्रममा वि.सं. २०५० सालसम्ममा मकहाँबाट धेरैले सीप सिकेँ। म आफैंले नपढेको कारण नपढेकाहरुलाई यो काम सिक्न पढ्नु पर्दैन भन्ने तरिकाले यो काम सिकाएँ, चार जात छत्तीस वर्ष ल्याएर राखेँ। पछि समस्या पनि चारजात छत्तीस वर्णकै समस्या भयो। समग्रमा भन्नुपर्दा १० हजार जना मानिसलाई काम सिकाए।र काम दिएर त्यो प्रोजक्ट बेच्न सक्ने क्षमता ममा थियो, अहिले पनि छ । तर के गर्नु, ‘यो सतीले सरापेको देशमा के गर्ने ?’

राँगाका सिंह हाडखोरका बस्तुदेखि आरूका बियाँका टाँक, झिक्राबाट बनाईएका कलात्मक स्वरुपका सामानहरु अमेरिका, जापान, क्यानडा, जर्मनी, फ्रान्स, अष्ट्रलियादेखि विभिन्न देशमा पठाउने गर्छिन्।

उद्योगले  देश तथा विदेसमा राम्रै व्यपकता पायो।  व्यापारिक कामको शिलशीलामा अ‍मेरिकी प्रथम महिला हिलारी क्लिन्टनलाई समेत भेटेकी लक्ष्मी शर्माले देशमा भएका यस्ता हाडलाई विदेश जान रोकी यसको सही सदुपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउँछिन्।

नेपालको राजनीतिक परिवसको कारण उनको उद्योग यतिबेला घाटामा छ । उनको  व्यवसाय बिथोल्न ट्रेड युनियन देखि सरकारसम्म लागिपरेको उनको गुनासो छ।

मुद्दा मामिला खेप्नुपर्‍यो। करौडौंको क्षति व्यहोर्नुपर्‍यो। तर पनि उनले हार मानिनन्। ‘एक्लै सुरू गरेको व्यवसायमा मैले ४ हजार जनालाई रोजगारी दिएँ’, उनले भनिन्,‘राष्ट्रिय मात्र होइन गत वर्ष मात्र १० महिला अन्तर्राष्ट्रिय उद्दमीमा पर्न सफल भएँ।’

कुनै बेला  हेलाको पात्र बनेकी लक्ष्मी शर्माको  उत्पादको प्रशंसामा उनले  कयौं राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार समेत पाईसकेकी छिन्।

यतिवेला ३ जना छोरी सबैको विवाह भईसकेको छ। १० हजार रूपैयाबाट सुरू भएको उनको व्यवसाय आज करौडौंको भइसकेको छ।

लक्ष्मी शर्मा यति बेला महाराजगन्जस्थित आफ्नो ठूलो हवेलिमा एक्लै भेटिन्छिन्। तर,उनलाई काममा सघाउने मानिसको कमि भने छैन। घरका भित्तामा जताततै उनका पेन्टिङका सामान राखिएका छन्।

सानोमा भान्से भएर काम गर्दा ५ रूपैयाँमा बेच्ने गरेका उनका केही पेन्टिङहरू उनले अहिलेसम्म सुरक्षित राखेकी छन्।

‘दीपलक्ष्मी’ नामक संस्था दर्ता गरेर उनी यतिबेला संग्रहालय र माईग्रेसन लाईव्रेरी बनाउने काममा व्यस्त छन्। ‘अब घरमै लाईबेरी बनाउने तयारी गर्दैछु। जहाँ एकल महिलाको मेहेनतले बनाएका सम्पूर्ण समानहरु संचित गरेर राखिदिन्छु। यसले भावि पीडिलाई एक्लै पनि धेरै काम गर्न सकिन्छ भन्ने प्रेरण मिलोस्।’

एक्लै भए पनि आफू धेरै खुसी रहेको बताएकी छन्। ‘एक्लै छु। तर पनि धेरै खुसी छु,’ उनले हँसिलो मुद्रामा भनिन्।

मनलाई शान्त खुसी राख्न उनी घरमै शिक्षक बोलाएर संगीत सिक्छिन्। उनले आफूले गाएको गीतको एल्वम समेत निकालेकी छन्।

‘सुत्केरी अवस्थामा श्रीमानबाट पाएको शोकलाई शक्तिमा बदल्न सकेकोले आज म सफल उद्यमी महिलाको सूचिमा पर्न सकेकी हुँ। मनभित्रको चोट र व्यथालाई बाहिर निकालेर फ्याक्नेगर्छु। त्यसैले ७१ वर्षमा पनि आफूलाई २१ वर्षको ठिटी जस्तै अनुभव गरेकी छु।’

प्रकाशित मिति: : 2020-05-29 11:10:00

प्रतिकृया दिनुहोस्