लकडाउनले साइकल चलाउने बढे

रासस

काठमाडौँ 

भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन्। 

भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम्दा कहिले काही १ घण्टा ३० मिनेट पनि लाग्ने गर्दछ। अरु साथी पनि थपिने गरेका छन्। 

लकडाउनसँगै शारीरिक तन्दुरुस्तीका लागि व्यायाम गर्न उनीहरुले साइकल यात्रा गर्न थालेका हुन्। गियर र ब्राण्डेट साइकल चढेर हिँड्नेको सङ्ख्या लकडाउनसँगै बढेको छ। लकडाउनमा घरमा बस्दा मोटोपन बढ्ने र रोगको खतार भएसँगै साइकल यात्रा गर्नेहरुको सङ्ख्या बढेर गएको हो। 

लकडाउनमा साइकल चलाउँदा रोकतोक नहुने र शारीरिक अभ्यास राम्रो हुने भएकाले नियमित साइकल चलाउने बढेका हुन। यससँगै साइकलको व्यापार पनि बढेको छ। बजारमा साधारणको तुलनामा सौखिन खालका साइकल निकै बिक्री हुने गरेका छन्। साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका  निवर्तमान अध्यक्ष धर्मराज सापकोटा जेठ महिनामा मात्र  चितवनमा ९०० हाराहारी साइकल बिकेको बताउछन्। 

चितवन र नवलपुर जिल्लामा साना ठूला गरी ५०० हाराहारी साइकल पसल छन्। ती पसलबाट साधारण र विभिन्न ब्राण्डका गियरवाला साइकल बिक्री हुने गरेका छन्। व्यवसायीका अनुसार यहाँको बजारमा रु ६ हजार ५०० देखि दुई लाख ५० हजारसम्मका साइकल बिक्ने गरेका छन्। सापकोटाको भनाइमा सबैभन्दा बढी रु ४० हजार देखि ७० हजारसम्मका साइकल अहिले बिक्री हुने गरेका छन्। सङ्घका अध्यक्ष श्यामप्रसाद खरेल शारीरिक तन्दुरुस्तीका लागि साइकल किन्नेहरु बढेको बताउछन्। उनका अनुसार कृषक, मजदुर, विद्यार्थी, बालबालिकाले किन्ने साइकल बिक्री भएका छैनन्। 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी साइकल चलाउनु व्यायाम मध्येको राम्रो हो भने। यसले मानसिक र शारीरिक दुवै तन्दुरुस्त गर्न सहयोग पु¥याउने उनको भनाइ छ। स्थानीय सरकारले फराकिला सडकमा साइकल लेन बनाउन शुरु गरेका छन्। भरतपुर महानगरपालिकाले हालै मात्र दुई वटा सडकमा साइकल लेन बनाउँदै छ। 

साइकल आवश्यकतादेखि सोखिनसम्मको चाहना बन्ने गरेको छ। यस जिल्लामा साइकल नजान्नेहरु कम हुने गर्दछन्। बालबालिकादेखि वृद्धवृद्धासम्मले यहाँ साइकल चलाउने गर्दछन्। पहिले पहिले विवाहमा दाइजो साइकल दिने गरिन्थ्यो। त्यो क्रम भने घटेर गएको छ। 
 

प्रकाशित मिति: : 2020-06-02 20:47:26

प्रतिकृया दिनुहोस्