साइकलमैत्री शहर बन्दै लिस्बन: साइकल मोबिलिटी प्रोजेक्टमा  मात्रै ३० लाख युरो खर्च गरिँदै, सरकारी अनुदानमा किन्ने होइन त साइकल? 

पोर्चुगल सरकारले लिस्बन महानगरपालिकासँग सहकार्य गर्दै लिस्बनलाई साइकलमैत्री शहरको रुपमा निर्माण गर्दैछ। 

सरकारले लिस्बनमा साइकल किन्न चाहनेका लागि ३० लाख युरोको कोष निर्माण गरेको छ। वातावरणमैत्री परियोजनाका लागि यो रकम अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो। साइकल किन्न चाहनेले सरकारले तोकेको पसलबाट मात्रै किन्न पाउनेछन्। 

लिस्बन महानगरपालिकाले ल्याएको यो प्रोजेक्टमा शहरभित्र अझै बढी साइकललेनको निर्माण पनि गरिनेछ र साइकल पार्किङ गर्ने स्थान तथा क्षमता पनि बढाईनेछ। 

कार कल्चरलाई निरूत्साहित गर्दै साइकल कल्चरलाई प्रोत्साहन र वातावरणमैत्री गतिशिलतालाई थप सहयोग गर्न महानगरपालिकाले यो प्रोजेक्ट ल्याएको हो। 

‘मोबिलिटी फण्ड’ नाम दिईएको यो प्रोजेक्टमा १.५ मिलियन युरो सामान्य साइकल खरिद गर्न खर्च गरिनेछ भने बाँकी १.५ मिलियन युरो इलेक्ट्रिक र कार्गो साइकल खरिद गर्न खर्च गरिनेछ। ‘मोबिलिटी फण्ड’ मा खर्च गरिने यो रकम पोर्चुगलको वातावरण मन्त्रालयले कम उत्सर्जन सवारी साधनहरुलाई बढावा दिन गरिएको खर्चको १० गुणाले बढी हो। 

परम्परागत साइकल खरिदमा प्रतिव्यक्ति १०० युरो प्रदान गरिने र यो सुविधा विद्यार्थीका लागि मात्रै दिईने मोबिलिटी प्रोजेक्टका काउन्सिलर मिगेल गास्परले बताए। यो प्रोजेक्टमा १५ हजार साइकल खरिदमा सहयोग गर्न सकिनेछ। 

इलेक्ट्रिक साइकल महंगो हुने भएकोले प्रतिव्यक्ति साइकलको आधा मूल्य वा बढीमा ३५० युरो प्रदान गरिनेछ। यो प्रोजेक्टमा स्थानीय बासिन्दा र कामदारहरू लाभ लिन सक्नेछन्। 

महानगरपालिकाले मोबिलिटी प्रोजेक्टका लागि लामो समयदेखि शहरमा साइकल व्यवसाय गर्दै आईरहेका व्यवसायीसँग साझेदारी गर्ने भएको छ। यसबाट उनीहरूको व्यवसायमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। 

महानगरपालिकाले मोबिलिटी प्रोजेक्टलाई थप दिगो बनाउन तीन हजार साइकल स्ट्याण्ड निर्माण गरिने बताएको छ। यस्ता साइकल स्ट्याण्डहरू अब सार्वजनिक स्थल, सार्वजनिक सडकका  साथै अण्डर ग्राउण्ड कार पार्कहरूमा समेत निर्माण गरिने लिस्बन महानगरपालिकले जनाएको छ। 

हेर्नुहोस् भिडियो स्टोरी

प्रकाशित मिति: Jun 05, 2020 10:07:01

प्रतिक्रिया दिनुहोस