अमेरिकाबाट फर्के ५२४ नेपाली, लगाए राजदूत कार्कीमाथि 'कमिशन' खाएको आरोप

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा कोरोना कहरका कारण अड्किएका ५२४ नेपाली स्वदेश फर्केका छन्। उनीहरू अमेरिकास्थित नेपाली दूताबासले संयोजन गरेका उडानमार्फत नेपाल फर्केका हुन्। 

तीन उडानमध्ये मंगलबार न्युयोर्कको जेएफके विमानस्थलबाट टर्कीस एयरलाइन्सले २७८ नेपाली यात्रु उडाएको थियो। यसैगरी कतार एयरवेजले विहीबार न्युयोर्कको जेएफके विमानस्थलबाट १० र टेक्सासको फोर्ट वर्थ विमानस्थलबाट २३६ गरी २४६ नेपाली उडायो। 

कोरोना कहरका कारण अमेरिकामा अड्केका नेपाली  स्वदेश फर्केका हुन्। नेपाल सरकारको विदेशमा आपतमा परेका नेपालीलाई स्वदेश फर्काउने नीतिअनुसार वासिङ्टन डीसी स्थित नेपाली दूताबासले उनीहरूलाई नेपाल फर्काउने व्ववस्था गरेको हो। सुरूमा आवेदन माग्दा एकहजार दुई सय नेपालीले स्वदेश फर्कन आवेदन दिएकोेमा अन्तत: जाने बेलामा ५२४ नेपालीले मात्र टिकट काटे।

उनीहरूका लागि टर्कीस एयरलाइन्सका दुई र कतार एयरवेजका दुई गरी चार उडान चार्टर गरिने भनिए पनि अन्तत: यात्रु अभावका कारण दुई उडान मात्र उडाउनुपर्ने अवस्था सिर्जना भएको थियो। टेक्सास र न्युयोर्कबाट उडान भरिए भने शिकागो र वासिङ्टन डीसीका उडान रद्द गरिएका थिए। विहीबार न्युयोर्कबाट नेपाल उडेका १० जना वासिङ्टन डीसीबाट नेपाल जान टिकट काटेका यात्रु हुन्।

अमेरिकाबाट नेपाल उड्नका लागि दोहोरो भाडाभन्दा पनि एकतर्फी भाडा नै दोब्बर महंगो भएकाले धेरै नेपाली चाहेर पनि स्वदेश फर्कन सकेनन्। त्यसका अतिरिक्त अमेरिकामै कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट लिनका लागि गर्नुपर्ने खर्च, नेपाल पुगेपछि पनि होटल क्वारिन्टिनमा बस्नुपर्दा हुने खर्च लगायतका प्रावधानका कारण पनि धेरै नेपालीका लागि यो यात्रा झन्झटिलो बन्यो ।

अमेरिकामा कोरोना कहरका कारण अड्किएका ५२४ नेपाली स्वदेश फर्केका छन्। वासिङ्टन डीसीस्थित नेपाली दूताबासले संयोजन गरेका उडानमार्फत नेपाल फर्केका उनीहरूले महंगो भाडा तिर्नुपरेको, विमानमा खानेकुरा र पानीसमेत नदिइएको र चार्टर भनेर नियमित उडानमा फर्काइएको लगायतका गुनासा गर्दै यसका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की जिम्मेवार रहेको आरोप लगाएका छन्। उनीहरूले डा. कार्कीको विगतलाई पनि स्मरणमा राखेर कमिशन खानकै आफ्ना आसेपासेलाई सम्पर्क व्यक्ति भनेर विचौलिया सिर्जना गरेर मोटो रकम कमिशन खाएको आरोप पनि थपेका छन्। 

टर्कीश एयरलाइन्सको चार्टरमा गएका नेपालीले जहाजमा दिइएको खाना र प्रदान गरिएको सेवालाई लिएर रोष प्रकट गरेका छन् । उनीहरूले उडान व्यवस्थापनका लागि जिम्मा लिएको नेपाली दूताबासका कर्मचारी र उनीहरूले सम्पर्क व्यक्तिका नाममा सिर्जना गरिएका बिचौलियाले मोटो रकम कमिशन खाएकाले एयरलाइन्सले खानेकुरा र पिउँने पानी समेत नदिएको आरोप लगाए । 

यसैगरी टेक्सासको फोर्ट वर्थ विमानस्थलबाट उडेको कतार एयरवेज चार्टर भनिए पनि नियमित उडान नै रहेको तथ्य सार्वजनिक भएको छ। यता न्युयोर्कबाट उडाइएका १० जना त न्युयोर्क दोहाको नियमित उडानमा काठमाडौैं फर्केका हुन्। उनीहरूलाई दोहाबाट अर्को उडानमा काठमाडौैं उडाउने भनिएको छ। 

यी दुबै उडानको व्यवस्थापनलाई लिएर नेपाली दूताबास र यसका मूली वासिङ्ठन डीसीस्थित राजदूत डा. अर्जुन कुमार कार्कीको आलोचना सुरू भएको छ। नेपाल फर्केका यात्रुले आफूहरू ठगिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। उनीहरूले डा. कार्कीले सम्पर्क व्यक्तिका नाममा आफ्ना आसेपासेलाई बिचौलिया बनाएर मोटो कमिशन भागबण्डा लगाएको आरोप लगाएका छन्। केहीले कोरोना कहरमा परेका नेपालीबाट यसरी कमिशन खानुलाई काटो खाएको पनि भनेका छन्। उनीहरूले भूकम्पपीडितका लागि उठाइएको रकम हिनामिनाहा गरेको पुरानो आरोपसमेत जोडेर राजदूत कार्कीको चरित्र चित्रण गरेका छन्। 

एक वर्षदेख अर्को व्यवस्था नभएका सम्मका लागि भनिएका राजदूत कार्कीले केही समयपहिले आफू कोरोना कहरका कारण रोकिएको बताएका थिए। उनी आफैले त्यसो भनेकाले यिनै उडानमध्ये एक उडानबाट नेपाल फर्कने अमेरिकाको नेपाली डायस्पोराले अपेक्षा गरेको थियो। तर, त्यो अपेक्षा राजदूत कार्कीले पूरा गरिदिएनन्।

वामपन्थी पृष्ठभूमिबाट अमेरिकाका लागि पहिलो नेपाली राजदूत भएका कार्कीबाट केही फरक अपेक्षा गरिएको थियो। तर, उनले आफ्नो कार्यकालमा महंगा गाडी किन्ने, भवन मर्मत सम्भार गराउने, नयाँ घर किन्ने, आफ्ना मान्छेलाई जागीरका लागि अमेरिका ओसार्नेलगायतका 'काम' गरेर कमिशनकै मात्र जोहो गरेको धेरैले आरोप लगाएका छन्। अमेरिकामा रहेको नेपाली डायस्पोराबाट टाढै बस्न चाहने उनले जनस्तरमा पनि घुलमिल गर्ने राम्रो छवि बनाउन सकेनन्। 

प्रकाशित मिति: : 2020-06-27 06:05:19

प्रतिकृया दिनुहोस्