स्टोक्सले पहिलोपटक कप्तानी गर्दै

इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले अर्को साता वेस्टइन्डिज विरुद्ध हुने टेस्ट सिरिजको पहिलो खेलमा कप्तानी गर्ने भएका छन्। स्थायी कप्तान जो रुटले पहिलो टेस्ट गुमाउने भएपछि उनको स्थानमा स्टोक्सले नेतृत्व गर्न लागेका हुन्।

रुटले बुधबार हुने वार्मअप खेल समेत गुमाउनेछन्। रुट र उनको श्रीमती क्यारीको दोस्रो सन्तान जन्मन लागेकाले उनी उपस्थित नहुने भएका हुन्।

रुटले बच्चाको जन्मपछि सात दिन सेल्फ आइसोलेसनमा बसेर मात्र टोलीमा आबद्ध हुनेछन्। उनी जुलाई १६ मा हुने दोस्रो टेस्टका लागि भने जुलाई १३ सम्ममा टोलीमा उपस्थित हुने छन्। 

स्टोक्सले हालसम्म घरेलु क्रिकेटमा पनि कप्तानी गरेका छैनन्। इंग्ल्यान्डको टेस्ट क्रिकेटमा यसअघि फर्स्ट क्लास, लिस्ट ए अथवा टि–२० टोलीको कप्तानी नगरी नेतृत्व लिने खेलाडी रहेका थिएनन्न। केभिन पिटरसनले घरेलु क्रिकेटमा कप्तानी नगरेपनि ओडीआई कप्तान रहेपछि टेस्टको कप्तानी गरेका थिए।

रुट पहिलो टेस्टमा उपलब्ध नहुने भएपछि डोम सिब्ले र रोरी बर्न्सले ओपनिङ गर्नेछन्। तेस्रो नम्बरको लागि ज्याक क्रली र जो डेनलीमा एकले मौका पाउनेछन्। रुटको अनुपस्थितमा यी दुवै अथवा ड्यान लरेन्सले नम्बर ४ मा खेल्नेछन्। यसबाहेक ओली पोप अथवा स्टोक्सले नम्बर ४ मा खेल्ने सम्भावना पनि छ।

बोर्डले विकेटकिपर जस बटलरलाई पहिलो टेष्टमा उप– कप्तानको जिम्मेवारी दिएको छ। इंग्ल्यान्डले वेस्ट इन्डिजसँग तीन टेष्ट सिरिज खेल्ने छ। तीन टेष्ट सिरिजको लागि एक महिना अघिनै वेस्ट इन्डिजको टोली इंग्ल्यान्डमा रहेको छ। वेस्ट इन्डिज टोली हाल अभ्यासमा व्यस्त छ।

 इंग्ल्यान्ड र वेस्टइन्डिजका तीनै टेष्ट खेल बन्द रंगशालामा हुने छन्।

प्रकाशित मिति: : 2020-07-01 06:42:25

प्रतिकृया दिनुहोस्