वेदका सम्पादक : महर्षि वेदव्यास

वेदका सम्पादक : महर्षि वेदव्यास

तपः पूत विद्याका सागर महर्षि वेदव्यासले हिन्दू सभ्यताको धर्म, दर्शन, इतिहास तथा पुराणलाई अत्यन्त प्रभावित तुल्याए। वेदव्यास नाम मानसपटलमा आउनासाथ एक अत्यन्त गरिमामय पुरूषको आकृति प्रकट हुन पुग्छ जसको व्यक्तित्व घोलिएर ज्ञानको महाणर्व नै बन्न पुगेको छ भन्दा अतिशयोक्ति हुँदैन।

महर्षि वेदव्यासको जन्म

सत्यवती नामकी एक केवटकुमारी यमुना नदीमा नाऊ चलाइरहेकी थिइन्। नाऊ नै उनको जिविका साधन थियो। एक दिन पराशर मुनिलाई यमुना पार गरेर कतै जानु थियो। उनी सत्यवतीकै नाऊ चढेर नदी पार गर्न थाले। तर अचानक उनी सत्यवतीको रुप र लावण्यले मोहित भए। नाऊमा नै उनले सत्यवतीलाई संभोगको प्रस्ताव राखे। अनि उनीहरुबीच संभोग हुन पुग्यो। कथाका अनुसार उक्त संभोगले सत्यवती गर्भवती हुन पुगिन्।

समय बितेपछि झुपडीमा बस्ने सत्यवतीले एक दिन बालुकाद्विपमा एउटा बच्चालाई जन्म दिइन्। नवजात कालो वणर्को थियो, फलस्वरूप उसलाई ‘कृष्ण’ भनियो। साथै ऊ बालुकाद्विपमा पैदा भएको हुँदा उसलाई ‘द्वैपायन’ पनि भनियो। अनि उसको पूरा नाम हुन पुग्यो, ‘कृष्णद्वैपायन’।

सत्यवतीलाई पछि हस्तिनापुरका नरेश शांतनुले विवाह गरे। अनि उनका पुनः दुई छोरा भए, चित्रांगद र विचित्रवीर्य। चित्रांगद युद्धमा मारिए र विचित्रवीर्य अत्यन्त विषयाशक्तिका कारण रोगी भएर निःसन्तान नै मरे।

व्यासको परंपरा

राजा शांतनुकी प्रथम पत्नीबाट देवब्रत नामका राजकुमार जन्मिएका थिए, जसलाई पछि गएर भीष्मपितामह भनियो। सत्यवती उनकी सौतेनी आमा थिइन्। आफ्नो वंश जोगाउन, विचित्रवीर्यका दुवै निःसन्तान पत्नीहरुबाट बच्चा पैदा गर्ने आदेश सत्यवतीले भिष्मलाई दिइन्। तर भीष्मले पहिले नै आजिवन ब्रह्मचर्यको ब्रत लिएका थिए। त्यसैले उनले आमाको आदेश ठाडै अश्विकार गरे। त्यसपछि सत्यवतीले कृष्णद्वैपायनसमक्ष उक्त प्रस्ताव राखिन्। कृष्णद्वैपायन आजिवन अविवाहित, विद्यानुरागी र तपस्वी पुरुष थिए। तर राजवंश चलाउनका लागि आमाको आज्ञा मानेर उनले विचित्रवीर्यका दुवै पत्नीहरु मध्ये एकबाट धृतराष्ट्र तथा अर्कीबाट पांडुलाई जन्म दिए। साथै एक दासीबाट उनले विदुरलाई पनि जन्म दिए। शुकदेवमुनिलाई पनि कृष्णद्वैपायनकै पुत्र मानिन्छ जो कुनै शुकपंछीको आकृति (ट्याटु) बनाएकी एक आदिवासी जातिकी स्त्रीबाट पैदा भएका थिए।

कृष्णद्वैपायनका पुत्र धृतराष्ट्र र पांडु हुन्। र, यी दुईका सन्तान नै कौरव तथा पाण्डव हुन्। यस प्रकार पूरै कौरव-पाण्डवहरु कृष्णद्वैपायनकै सन्ततीहरु हुन्।

वेदहरुलाई सम्पादन गरेका कारण कृष्णद्वैपायनको नाम वेदव्यास रहन पुग्यो। व्यासको अर्थ हुन्छ- सम्पादक।

निराला ब्यक्तित्व

कौरव-पाण्डवहरु कृष्णद्वैपायनकै सन्तान परम्परा भए तापनि यी महापुरुषले परिवारबंधनबाट रहित भएर तप एवम् विद्याको साधनामा नै जीवन ब्यतित गरे। बताइए अनुसार उनको एउटा आश्रम बदरिकाश्रममा थियो जहाँ उनले घोर तप र साहित्य साधना गरेका थिए। पछि गएर उनले हस्तिनापुर नजिके रहेको सरस्वती नदी किनारमा पनि एउटा आश्रमको निर्माण गरेका थिए। उक्त आश्रममा बसेर उनले हस्तिनापुरसँग आफ्नो अन्योन्याश्रित संबन्ध कायम राखेका थिए। पांडुको मृत्यु भएपछि उनले हस्तिनापुर पुगेर माता सत्यवतीलाई पारिवारिक प्रपंच त्यागेर समाधिमा लीन रहन सुझाएका थिए। कौरव-पाण्डवको अस्त्रपरिक्षाको बेला पनि उनी हस्तिनापुरमै थिए। युधिष्ठिरलाई राजसूय यज्ञ गर्ने सल्लाह पनि उनैले दिएका थिए। जब पाण्डवहरु वनवासमा थिए तब पनि उनले एकचक्रा नामक स्थानमा उनीहरुलाई भेटेर द्रौपदीको स्वयंवरमा आफू उपस्थित हुने कुरा बताएका थिए।

कौरव र पाण्डवको वैमनस्यता देखेर उनलाई भावी विनाशको अन्दाज भइसकेको थियो। र, युधिष्ठिरलाई यो कुरा बताएर वेदव्यासजी कैलाश पर्वततर्फ हान्निएका थिए।

जुवा हारेपछि पाण्डवहरुलाई बाह्र वर्ष वनवास तथा एक वर्षको अज्ञातवास भयो। यसबीच पनि वेदव्यासजीले बेलाबेला उनीहरुलाई भेटेर धैर्य धारण गर्ने ढाडस दिँदै रहे। साथै अनेक युक्तिहरु पनि सुझाउँदै रहे।

तेह्र वर्ष वनमा बिताएर आएपछि पाण्डवहरुले दुर्योधनसँग आफ्नो राज्य फिर्ता माँगे। तर दुर्योधनले राज्य दिन इन्कार गरे। त्यतिबेला पनि वेदव्यासजीले दुर्योधनलाई सम्झाएका थिए। तर कसैको केही लागेन। शर्त अनुसार पाण्डवहरुले राज्य फिर्ता पाएनन्। युद्धका बीचबीचमा पनि वेदव्यासजीले स्थिति सम्हाल्ने खूब चेष्टा गरेका थिए। युद्ध समाप्ति तथा पूणर् विनाशपछि उनैले धृतराष्ट्र र युधिष्ठिरलाई उपदेश दिएर धैर्यधारण गराएका थिए। नीति र धर्मको शिक्षा दिएर युधिष्ठिरलाई राज्यभोगका खातिर तयार गरे। अनि उनलाई भीष्मसमक्ष उपदेश ग्रहण गर्न पनि पठाए।

जब अर्जुन द्वारकाबाट श्रीकृष्णको परिवारका बच्चा, बृद्ध, स्त्री र सम्पत्ति लिएर हस्तिनापुर फर्किँदै थिए, तब सरस्वती नदीसमिप बसोबास गर्ने वनवासीहरुले उनीहरुलाई कुटपीट गरेर लुटे। वनवासीहरुले स्त्री र धनसमेत लुटेर लगे। यो घटनाले अर्जुनलाई निकै ठूलो चोट पर्यो। उनी बडो बिलखबन्धमा परे। अनि समय नगुमाइ वेदव्यासलाई भेट्न गए। जहाँ वेदव्यासले अर्जुनलाई सम्झाए कि यो सब कालचक्र हो र यसबाट कोही पनि मुक्त छैन। तसर्थ हे पार्थ, यसलाई स्विकार गर।

युद्धमा आफ्ना सन्तान, दरसन्तान तथा विशाल परिवारको विनाश देखेर पनि वेदव्यास तटस्थ थिए। त्यत्रो ठूलो उथलपुथलको आँधीमा पनि उनी हिमालयसदृश स्थिर खडा थिए।

महर्षि वेदव्यासका कृति

पुराणहरुमा जम्मा अट्ठाइस ‘व्यास’ उल्लेख गरिएका छन्। कृष्णद्वैपायन वेदव्यास यी मध्ये शिर्षस्थानमा भेटिन्छन्। भनिन्छ कि यिनैले वेदका मन्त्रहरुको वर्गिकरण गरेर ऋक्, यजु, साम एवम् अथर्व -चार संहिताको विभाग निर्माण गरेका थिए। कृष्णद्वैपायनका चार शिष्यहरु थिए - पैल, वैशंपायन, जैमिनि तथा सुमंतु। उनले यी चार शिष्यहरुलाई क्रमशः ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेद संहिताहरुको ब्यापक अध्ययन गराएका थिए।

यो पनि मान्यता छ कि महर्षि वेदव्यासले नै ८,८०० श्लोकहरुमा मूल भारत आख्यानको रचना गरेका थिए। यसमा प्रमुखतः कौरव-पाण्डवका कथाहरु समाविष्ट थिए। यसमा वाशुदेव कृष्ण एक संबन्धीका रुपमा घटनाक्रमहरुमा चित्रित थिए, जसमा कुनै पनि प्रकारले इश्वरत्वको आरोपण थिएन। पछि वैशंपायनले यसलाई बढाएर चौबिस हजार श्लोक पुर्याए। अनि त्यसलाई पनि बढाएर सुमंतुले एक लाख श्लोक पुर्याइदिए।

आधुनिक आलोचक यस महाग्रंथ (महाभारत) लाई वेदव्यास र उनका शिष्य-प्रशिष्यहरुको रचना मान्दैनन्। बरु पछिका अनेक संशोधक, सम्पादक तथा पौराणिक विद्वानहरुको संकलन वा संग्रह मान्दछन्। यी आलोचकहरुको मत अनुसार भारत नामक महाकाव्य मूलतः वीरगाथाको रुपमा थियो। कालांतरमा, सर्वसाधारणको धर्मज्ञानको प्रमाण भएकाले तथा विविध हिन्दु सम्प्रदायको उत्थानको वणर्न विद्यमान भएकाले उक्त ग्रंथको महत्ता ह्वात्तै बढेर गयो।

हिन्दु धर्मकोष, महाभारतका अनुसार विद्वानहरु यस महाकाव्यका तीन आयाम प्रति एक मत छन् -

क) भारत महाकाव्यको साधारण काव्यमय रचना : दसौंदेखि पाचौं अथवा चौथो शताब्दी ईसा पूर्वका बीच।

ख) यस महाकाव्यलाई वैष्णव आचार्यहरुद्वारा सांप्रदायिक काव्यमा परिवर्तन : दोस्रो शताब्दी ईसा पूर्व।

ग) महाभारतको वैष्णव ईश्वरवाद, धर्म, दर्शन राजनीति, विधिको विश्वकोष बन्न पुग्नु : ईसाको प्रथम तथा दोस्रो शताब्दी।

कुरो जे भए तापनि जसरी गंगामा मिल्ने सारा नदीहरु आफ्नो नामरुप गुमाएर स्वयम् गंगा कहलाउँछन्, त्यसरी नै सारा सत्ताइस या अट्ठाइस व्यास कृष्णद्वैपायन महर्षि वेदव्यासमा समाहित भएर एउटै व्यास मानिसहरुको मानसपटलमा उदाउँछन् - कृष्णद्वैपायन महर्षि वेदव्यास ! अनि महाभारत, पुराण आदि चाहे जो सुकैको रचना भए तापनि ती सबै कृष्णद्वैपायन महर्षि वेदव्याससँग जोडिएर महिमान्वित हुने गर्दछन्। यो महर्षिको विशाल ब्यक्तित्वको अपरिसिम खासियत हो कि जे उनको थिएन त्यो पनि उनकै हुन पुग्यो।

उनको नामबाट प्रचलित महाभारतको शान्तिपर्व, अध्याय २९९, श्लोक २० को केवल आधा श्लोक यस्तो छ : गुह्यं ब्रह्म तदिदं ब्रवीमि न मानुषात् श्रेष्ठतरं हि किंचत्। अर्थात, म एक गुप्त कुरा बताउँछु, मनुष्यबाट बढेर केही पनि श्रेष्ठ छैन।

तर यसै श्लोकको दुरुपयोग गरेर मानव विनाशको चपेटामा पनि परेको छ। यो रहस्यको उजागर अहंकारका कारण वा अहंकारलाई बढावा दिन कदाचित् भएको थिएन। आज मानव आफूलाई सर्वश्रेष्ठ मान्छ र प्रकृतिको दोहन गर्छ। आफू भन्दा कम चेतनशिल र कमजोरलाई सताउँछ वा पकाएर खान्छ। वेद व्यासको उक्त श्लोक परमार्थिक अभिव्यक्ति हो। ज्ञानको पराकाष्ठा हो। र, यो नै अहं ब्रह्मास्मी पनि हो। तर, आफूलाई सर्वश्रेष्ठ मानेर अरुलाई कुल्चदैं अगाडि बढ्नु चाहिँ अहंकार र पागलपन हो। जति नै विद्वान भए पनि अभिमान गर्नाले र आफूबाहेक अरु तुच्छ हुन् भन्ने ठान्नाले रावण मारियो। अब, रावण जस्तो शक्तिशालि, सिद्ध र आजको भाषामा मास्टरमाइन्ड अस्तित्व त धराशायी भयो भने अन्य टपरटुइयाँहरुको के हैसियत ?

त्यसैले जो साँच्चै नै श्रेष्ठ छ उसलाई विनम्रता नै सुहाउँछ। र, विनम्रतामा नै ऊ श्रेष्ठ कहलिन्छ पनि।

प्रकाशित मिति: Jul 05, 2020 14:26:57

प्रतिक्रिया दिनुहोस

सबै