सिंहदरबार, सत्ताशक्ति र सिन्दूर

सिंहदरबार, सत्ताशक्ति र सिन्दूर

एक चुट्की सिन्दुरकी कीमत तुम क्या जाने, रमेश बाबु’ हिन्दी फिल्म ‘ओम शान्ति ओम’ मा दीपिका पादुकोणको यो सम्वाद महिला विभेदको विरूद्धमा हो। पितृसतात्मक सोचको विरुद्धमा हो। केहीअघि सत्ताशक्तिबाट सिंहनाद भयो, ‘एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिन सकिँदैन।’

मधेशको माटोमा सीतामाताको संस्कार मिसिएको छ। पतिको दुःखमा दुःख र सुखमा सुख अनुभूति गर्ने महिलाको पतिप्रेम अद्भूत र अतुलनीय छ। पतिको नामको सिन्दुर लगाइसकेपछि जहाँ पति, त्यहीँ आफ्नो जीवन–मरण स्वीकार्य गर्छन् यहाँका महिलाहरू। अपवाद बाहेक यो संस्कार र संस्कृति पुस्तौंदेखि निरन्तर छ।

असार १५ गते पतिको लागि दही–चिउरा लिएर खेतमा पुगेकी पत्नीले (विदेशी बुहारी) पतिसँग सोधिन्, ‘नागरिकताके बारेमें काथी के हाला चललबा? मालूम बा अपने के?,’ पतिले भने, ‘हमनी खातिर त सिंहदरबार मने हमनी के खेतवे नु हउवे हो, ओही में जोतिँ कोडीँ आ खाईँ, माकिर नेता लोगके सिंहदरबार– सोना के खेत ह जनताके भरमाईँ आ बिना जोतले कोडले कामात रहीँ आ खात रहीं, बुझलु।’ (ो खेत हो े हाला चललबा  पुस्तौं हाम्रो लागि सिंहदरबार भनेको हाम्रो खेत हो उब्जाउने र खाने। नेताहरुको सिंहदरबार भनेको सोनाको खेत हो। जनतामा भ्रम छर्ने, मलजल गर्ने, काट्ने र खाने, बुझ्यौं।)

डिभी परेर वा द्रव्यशक्तिले वा सत्ताशक्तिले विदेश हानिएका आफ्ना प्रवासी सन्तानको सुखशान्तिको प्रार्थना गरेर सदनमा आफ्नो धारणा प्रस्तुत गर्न आउने बहुतायत नेतागणहरु होलान्। शक्तिमा नरहेको बेला सन्तानसँगै विदेशी सुखसयलमा प्रवासी जीवन जिउने योजना नहोला, भन्न सकिन्न। त्यस्ता स्वयम् सुखायजनहरुलाई भूईँमान्छेको सरोकारसँग के नै वास्ता हुन्छ। नियमित/अनियमित श्रोतबाट अर्जित नेपाली रुपैयाँबाट अतृप्त शक्ति सम्पन्नहरु भन्दा डलरको मोह तीनीहरुमा उत्पन्न हुँदैन जो दुई छाकको लागि स्वदेशमा पसिना बगाइरहेका छन्। 

२००९ सालमा नागरिकता वितरण प्रणाली सुरु भएदेखि २०७३ असार मसान्तसम्म ३ लाख ६४ हजार ५३ विदेशी महिलाले नेपाली पुरुषसँग विवाह भएर अंगीकृत नागरिकता लिएका छन् । ६८ वर्षमा वैवाहिक अंगीकृत नागरिकता लिएर नेपालमा बसेका भारतीयदेखि अन्य देशका ४ लाखभन्दा कम महिलामध्ये कति जनाले नेपालको अस्तित्व नै खतरामा पार्ने काम गरे होलान्? यसको जवाफ सिंहदरबारसँग अपेक्षित छ।

के विवाह गर्दै नेपाल भित्रिएकी बुहारीहरू कै कारण यहाँको जनसंख्याको बनोटमा उलटपुलट भएको हो? सो मध्ये कति प्रतिशत वैवाहिक अंगिकृत महिला राज्यको नीति निर्माण तहमा छन्? बजारमा सत्ताको भाउ बढाबढ गर्ने र जनमानसमा राष्ट्रवादी छवि भजाउने नेतादेखि बुद्धिजीवीले जवाफ दिन सक्छन्? नागरिकता सम्बन्धमा सरकारीस्तरबाट सुरुदेखि नै आफ्नो वा अरू जुनसुकै देशको व्यक्तिलाई पहाडी अनुहार वा भाषा र पहिरनको आधारमा नेपाली मान्ने विभेदकारी सोचले गर्दा समस्या जन्मेको हो। यसको अन्त्य कहिले हुन्छ?

द्वितीय विश्वयुद्वपछि स्वतन्त्र राज्य बर्मा (म्यानमार) को राजनीतिक समस्याका कारण ८/१० पुस्तापछिका सन्तान जसलाई नेपालबारे ज्ञान समेत थिएन, तिनीहरू खस (नेपाली) भाषी भएका कारण प्रवासी नेपाली भनिए। यस्तै, भारत आसाम राज्यका नागरिकलाई नेपाली भनेर भित्र्याउने काम भयो। सन् १९६२ देखि असामी र बर्मेली बस्तीहरू बसालिए। नेपालमा घर–जग्गासहितको सुविधा दिएर वंशजको नागरिकता दिइयो।

३० जुन १९७६ सम्म हङकङमा जन्मेका पहाडी मूलका ब्रिटिस नागरिकको सन्तानलाई आदेश जारी गरेर नेपाली नागरिकता दिइयो, तर तिनीहरू इंग्ल्यान्डमा बसोबास गर्न हिँडेकाले आज पनि दोहोरो नागरिकताको लाभमा छन्। त्यस्तै, भारतको आसाम, दार्जिलिङ, गढवाल र कुमाउका साथै भुटानका व्यक्तिले खस भाषाभाषी भएकै आधारमा र कतिपय तिब्बतीले अनुहारकै आधारमा र कतिपयले झुक्याएर वा भ्रष्टाचारबाट वंशजको नागरिकता पाएका छन्। के कपाल फुलेका शीर्षस्थजनलाई यो इतिहास थाहा छैन?

सत्तासीनहरू समेतका पढे–लेखेका मानिसले इतिहास पढेकै होलान्। तथापि ती बुद्धिजिवि प्राणीको अभिव्यक्ति सुनेर/पढेर दया लाग्छ। यो देशका गोपाल, महिषपाल, लिच्छवी, मल्ल, शाह, ब्राह्मण, क्षेत्री लगायत हिन्दू र मुसलमानहरू विभिन्न कालखण्डमा भारतबाटै आएका हुन्। जुम्ला, दैलेख र गोरखाका राजवंश र मानिस भारतबाटै आएका हुन्। मगर, गुरूङ, राई, लिम्बू, किराती तथा शेर्पा आदि मंगोलियातिरबाट आएका हुन् र नेपाल आवाद गुलजार भएको हो।

नेपालको तराई क्षेत्र जनकपुर, कपिलवस्तु, विराटनगर आदि राज्यहरू त झन् त्रेता–द्वापरका पौराणिक धरोहर हुन्। पृथ्वीनारायण शाहबाट एकीकरण गरेर विविधतामा एकता स्थापित भएको हो। साथै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६० मा ब्रिटिस सरकारले जंगबहादुरलाई उपहार दिएकाले तराईवासी यहाँकै प्राचीन निवासी हुन् भन्ने कुरा बिर्सेर विकृत मानसिकता र शोषक प्रवृत्तिले मदेसबासीहरू नेपालका मूल निवासी होइनन्, हिजो–अस्ति मात्र आएका हुन्’ भन्ने चिन्तनले नेपालको प्रायः धमिलिएको राजनीतिक वातावरण निर्बाध रूपमा थप हुँदै आएको छ। जनताको सिंहासनमा विराजमान भएपछि जनप्रतिनिधिहरुको विगत भन्दापनि रूढ सोच अकल्पनीय हो।

वीरगन्ज राधेमाईका ३२ वर्षीय नीरज मिश्रको विवाह भारतीय वेहुली मिनाक्षी पाढीसँग हुने भएको छ। गत फागुनमा उनीहरुको औंठी समारोह सम्पन्न भएको थियो। विवाह भने लकडाउनको कारण आगामी वर्ष सारियो। निरज कृषि विज्ञानमा स्नातकोत्तर सकेर स्वदेशमा जागिरे छन्। मिनाक्षी कृषि विज्ञानमा पीएचडी धारक हुन्। उनी बिहे भएर नेपाल आउँदा ३१ वर्षकी हुनेछिन्। राज्य व्यवस्थापन तथा सुशासन समितिले प्रस्ताव गरेको नागरिकता विधेयक संसदबाट पारित भएमा नागरिकता पाउने बेलासम्म उनको उमेर ३८ वर्ष हुनेछ। उनी आफ्नो देश त्यागेर पतिको देशमा बुहारी बनेर आएपछि ७ वर्ष भान्सा कोठामा बिताउनुपर्छ। उनी भारतको बिभिन्न राष्ट्रिय प्रतिस्पर्धी परीक्षामा नाम निकालेर शिक्षा हासिल गरेकी सामान्य परिवारकी छोरी हुन्।

के मिनाक्षी नेपालको जागिर र तलबप्रति आकर्षित छिन्? के उनी भारतभन्दा बढी नेपालमा सुविधा पाइन्छ भनेर विवाह गरेर आउन लागेकी हुन्? के उनी यहाँको नागरिकताप्रति आकर्षित छिन्? पक्कै पनि होइन। दुबै देशको संस्कृति, भेषभूषा, वर–वधुको समान विषयमा शैक्षिक योग्यता लगायतको समानता भएकोले दुबै पक्ष विवाहको लागि तयार भएको हो। उनी पतिको घरसँगै देशबाट समेत अपनत्व पाउनुपदर्छ। नेपालको नागरिक भएर जीवन बाँच्न पाउनु पर्छ। 

नेपाली बंशज नागरिकलाई बाबु बनाएर वा जालसाज गरेर वा विभिन्न प्रपंच रचेर नेपाली नागरिकता हत्याउनेलाई, जाली नागरिकताको सिफारिस गर्नेलाई, सेवा प्रदान गर्ने निकाय र कर्मचारीलाई कानून बमोजिम कारवाही चालाइनुपर्छ। राष्ट्रव्यापी रुपमा कारवाहीको अभियान चलाइनुपर्छ। यो सवालमा कुनै पनि नेपाली समुदायको विमति हुनेछैन। तर, आफ्नो जन्मदेशको नागरिकता परित्याग गरेर पतिको देशमा पाइला टेकेकी बुहारीलाई सात वर्ष अनागरिक बनाएर राख्नु उसको भावना माथि ठेस पुर्‍याउनु हो।

आजको सामाजिक परिवेशमा विवाह स्वदेशमा होस् वा विदेशमा सबैलाई शिक्षित वर/वधु चाहिएको छ। केटा पक्षको पैत्रिक सम्पत्ति र केटी पक्षको दाइजो भन्दा पनि शैक्षिक योग्यतामा दुईटै पक्षको चासो बढ्नु सकारात्मक पक्ष हो। सामान योग्यताका पति/पत्नि पाउने अभिलाषा वर–वधुको मात्र होइन कि पारिवारिक आकर्षण पनि बढ्दो छ। त्यसकारण छोरीप्रति सामाजिक सोच पनि परिवर्तनशील छ। आ-आफ्नो समनाता/रुचि अनुसार जहाँ पनि विवाह गर्ने स्वतन्त्रता नैसर्गिक अधिकार हो। यस्तो परिवर्तनशील अवस्थामा सत्ताको मोर्चा विदेशी बुहारीहरु माथि खनिनु जायज हुन सक्दैन। यतिबेला सिंहदरबार, सत्ताशक्ति र सिन्दुर प्रति जनचासो बढ्दो छ। सिंहदरबारले जनअपेक्षालाई निरन्तरता प्रदान गर्नु सान्दर्भिक हुनेछ।

प्रकाशित मिति: Jul 10, 2020 13:36:19

प्रतिक्रिया दिनुहोस

सबै