नेपालले भारतीय ‘न्युज च्यानल’ बन्द गर्दा भारतमा खुशीयाली

पीत पत्रकारिता गर्न माहिर भारतीय न्युज च्यानलहरु नेपालमा रोक्ने निर्णयलाई नेपालीहरुले स्वागत गरेका छन्। गोदी मिडिया नामले चिनिने आजतक, एबीपी न्युज, रिपब्लिक न्युज, जी न्युज, न्युज १८, न्युज २४, इन्डिया न्युज लगायतको रबैया र शैलीले करिब तीन महिनादेखि नेपालीहरु दिक्क बनेका छन्। 

दिनानुदिन नेपालप्रति एकतर्फी र तथ्यहित समाचार प्रसारण गर्ने भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाउनुपर्ने माग उठेपछि, विदेशी च्यालन वितरक विदेशी च्यानल बितरक मल्टी सिस्टम अप्रेटररुले नेपालीहरुको मागलाई सम्बोधन गरेका हुन्। यो कार्यप्रति नेपाल सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले समेत धन्यवाद दिएको छ।

भारतीय न्युज च्यानलहरु रोकिएपछि अलिकति भएपनि शान्तिको सास फेरिने छ। अतिरञ्जित सामग्री देख्न वा सुन्न नपाउँने भएपछि नेपालीहरुमा हैरानी भने कम हुनेछ। मल्टी सिस्टम अप्रेटरहरुले गरेको यो कार्यको नागरिक तहबाट कतैपनि बिरोध भने आएको छैन। 

भलै– कतिपय पत्रकारहरुले नै प्रसारण रोक्न नहुने तर्क पनि गरेका छन्। नेपाली नागरिकहरु भारतीय च्यालनमा प्रसारण हुने सिरियल बाहेक अन्य समाचार वा राजनीतिक बहसहरुमा खासै चासो दिँदैन्थे। कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादपछि नेपालविरुद्ध प्रसारण गरिएका समाचारहरुको लाजमर्दो हर्कतले नेपालीहरुलाई आजित बनाएको छ।

प्रोपोगाण्डा फैलाउने भारतीय न्युज च्यानल रोक्ने नेपालको निर्णयलाई भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत साथ दिएका छन्। गोदी मिडियामा बर्षौदेखि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र आरएसएसको वकालत सुनेर वाक्क–दिक्क बनेका भारतीयहरुले नेपालको पछिल्लो कदममा सर्मथन जनाएका हुन्। 

यो दृश्यबाट पनि प्रष्ट हुन्छ कि – देशभित्रै समेत गोदी मिडियाहरुले घृण फैलाइरहेका छन्। उज्यालो भएदेखि रातिसम्म जातिय र धार्मिक मुद्दामा मात्रै बहस गर्ने यी मिडियाहरु देशभित्रै बन्द गर्नुपर्ने बेलाबेला माग नउठेको भने होइन। 

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने कदमले सबैभन्दा खुसीयाली भारतीय कांग्रेस आईका कार्यक्रताहरुमा देखिन्छ। मोदी र शाहबाट परिचालित यी मिडियाबाट सबैभन्दा बढी पीडित कोही छ, भने त्यो कांग्रेस र मुस्लिम समुदाय हो। 

भारतीय फेसबुक प्रयोगकर्ता वियन शर्माले नेपालमा गोदी मिडिया बन्द गर्ने निर्णयप्रति सर्मथ गर्दै लेखेका छन्, ‘नेपाली प्रधानमन्त्रीले यो चाहिँ राम्रो गरे। यो बारेमा भारतमा पनि सोच्न जरुरी छ। यी समाजमा अराजकता ल्याउने माध्यम हुन् मिडिया होइनन्।’

भारतीय मिडियाको चर्तीकलाले भारतीय नागरिकहरु नै नेपालमा न्युज च्यानल बन्द गर्दा खुलेर प्रसंसा गर्न थालेका छन्। टुइटरमा आर्यन यादव लेख्छन्, ‘राजस्तान, छतीसगढ, केरल र बंगालराज्यले नेपालबाट केही सिक्नुपर्छ। नेपाललाई राम्रो जानकारी छ, यी न्युज च्यानल होइनन् भाजपा कार्यालय हुन् र पत्रकारको आतंकवादी संघ हो।’ फेबुकमा प्रभात रनगिरीले पनि नेपालको निर्णयलाई राम्रो गरेको भन्दै समर्थन गरेका छन्। 

आजतक, एबीपी न्युज, जीन्युज लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः आलोचना गर्दै नेपालमा भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय गरेको समाचार अनलाइनहरुमा प्रकाशित गरेका छन्।

ती अनलाइनका समाचारहरु फेसबुक वा टुइटरमा गरिएको छ। शेयर गरिएका समाचारहरुमा उल्टै अनलाइनहरुले गोदी मिडियाको उपमा पाउँदै गाली पाइरहेका छन्। अन्य कुराहरुमा आलोचना गरेपनि भारतीयहरुले न्युज च्यानलको प्रसारण रोक्ने नेपालको कदमलाई भने उचित रुपमा बुझेका छन्।

प्रकाशित मिति: : 2020-07-10 20:29:00

प्रतिकृया दिनुहोस्