पढ्ने खर्च जुटाउन माछा मार्ने रमेश

पढ्ने खर्च जुटाउन माछा मार्ने रमेश

 लकडाउनमा बालबालिका–२ 

बर्सादले भरेको सुन्दर हरियाली चिरेर असारे खोला आफ्नै तालमा बगिरहेको छ। धमिलो खोला किनारमा छन्, रमेश बुढा।

एक हातमा माछा मार्ने बल्छी। मिलेको कपाल। चिम्सा आँखा। सप्तरंगी हाफ टिसर्ट अनि जिन्स पाइन्ट लगाएका उनको फोटो खिच्दा हिरो जस्तै देखिए।

युद्व जितेर आफ्नो देशको झण्डा फरफराउँदै अघि बढे झैं बल्छि माथि देखाएर हँसिलो मुहारमा अघि बढिरहेछन् माछा मार्न। 

नेपालीमा एउटा कथन छ, जसले हाँस्न जानेको हुन्छ, उसले बाँच्न जानेको हुन्छ।’ उसै पनि जीवनको स्वर्णिम समय बालापन नै त हो। उनी त्यही उमेरमा छन्।

१० वर्षीय उनको दैनिकी ‘माछा मार्दै’ बितिरहेको छ। कोहलपुर नगरपालिका–१४ मा बस्दै आएका उनी नमूना विद्या सदनमा कक्षा १ मा पढ्छन्। विद्यालय बन्द भएदेखि नै उनी फुर्सद छन्। त्यसैले उनको दैनिक केही न केही उटपट्याङ गरेर वितिरहेको छ।

नपढेर आमा बुबालाई सताउने। मौका पायोकि, फुत्त–फुत्त बाहिर निस्कने लगायत भइरहेको छ। जुन उनका नराम्रा बानी बेहोरा भन्दा पनि बालापनका स्वभाव हुन्।

यी बाहेक उनी दैनिक माछा मार्ने काममा व्यस्त छन्। उनी बल्छिमा हालेर तथा खोलामा गएर माछा मार्छन्। धेरै भएपछि बेच्छन्। त्यसबाट आएको पैसा फजुल खर्च गर्दैनन्। जम्मा गरेका छन्। लकडाउन पछि विद्यालय खुल्दा आफूलाई चाहिने, कापी, कलम र विद्यालय पोसाक किन्नको लागि। आमा बुबाको खर्चको भार कम गराउने उद्धेश्य रहेको छ। 

बिएल नेपाली सेवासँगको कुराकानीको क्रममा उनले असारे भेलको प्रभाह नगरी माछा मार्न आउनुको उद्देश्य पढाई खर्च जुटाउनु रहेको बताए। यही नै उनको आकर्षणको विषय थियो। 

कोरोनाका कारण विद्यालय नखुल्दा माछा मार्न लागेको उनी बताउँछन्। ‘विद्यालय नखुलेको धेरै समय भयो। पहिला–पहिला घरमै पढ्थेँ। तर धेरै पढ्न पनि सकिँदो रहेनछ। त्यसैले साथीहरुसँग माछा मार्ने काम थालेको हुँ,’ उनले भने।

उनी दैनिक आधा केजीसम्म माछा मार्छन्। बेचेर पैसा जम्मा गर्छन्। तर अहिलेसम्म कति जम्मा भयो थाहा छैन। उनले आफ्नो काम रोकेका छैनन्। यो काम स्कुल संचालन नहुँदासम्म चलिरहने छ।

स्कुल बन्द भए पनि सरकारले अनलाइन तथा रेडियो र टेलिभिजन कक्षा सञ्चालन गरिरहेको छ। तर पहुँच नभएका कारण रमेश जस्तै धेरै बालबालिका दैनिकी यसरी नै बितिरहेको छ। यस्तो बेला बालबालिकालाई सकभर सिर्जनशील काममा लगाउनुपर्ने विज्ञहरुको राय छ।

तथापी अभिभावकले यस्तो गर्न सकिरहेका छैनन्। यसकारण पनि रमेश जस्ता कतिपय बालबालिका जोखिम मोलेर दैनिक खोलाहरु तिर गइरहेको प्रसस्तै देखिन्छ।

हेर्दै गम्भीर स्वाभावका देखिने रमेश भविश्यमा सैनिक बन्न चाहन्छन्। त्यसैको लागि पढ्न चाहन्छन्। खोलामा दैनिक मारिने माछा बेचेर आएका पैसामा भविष्य देखिरहेका छन्।

 लकडाउनमा बालिबालिका –१  - जोया अर्थात जलारी (भिडियाे)

प्रकाशित मिति: Jul 13, 2020 10:49:15

प्रतिक्रिया दिनुहोस

सबै