ऊर्जा क्षेत्रको लक्ष्य प्राप्तिमा समस्या

काठमाडौँ, साउन २० गते । ऊर्जा क्षेत्रमा एक वर्षभित्र हासिल गर्ने भनी निर्धारण गरिएका मुख्य लक्ष्य पूरा हुन नसकेको देखिएको छ । समग्रमा आर्थिक वर्ष २०७६÷७७ प्रगति समीक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्नो वित्तीय प्रगति ७३.२६ र भौतिक प्रगति ७५.३ प्रतिशत हासिल गरे पनि विद्युत् उत्पादन, खपत, विद्युतीकरणलगायत महŒवपूर्ण लक्ष्यमा मन्त्रालय चुकेको देखिएको हो । ऊर्जातर्फ मात्र वार्षिक वित्तीय प्रगति ६१.४२ प्रतिशत र भौतिकतर्फ ७८.३६ प्रतिशत प्रगति देखिएको छ ।
गत आर्थिक वर्षकोे नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित महŒवपूर्ण लक्ष्यमा उपलब्धि न्यून पाइएको छ । कार्ययोजनामा गत आर्थिक वर्षमा एक हजार मेगावाट विद्युत् थप गर्ने भनिएको थियो तर आइतबार सम्पन्न मन्त्रालयको समीक्षा बैठकमा १४९ मेगावाट जलविद्युत् मात्र राष्ट्रिय प्रसारण लाइनमा थपिएको र कुल जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको जनाइएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही ठूला आयोजनाको निर्माण गत आर्थिक वर्षमै सक्ने लक्ष्य रहेकामा कोभिड–१९ का कारण पूरा हुन नसकेको मन्त्रालयले जनाएको छ ।
विद्युत् खपत विस्तारको लक्ष्यमा पनि मन्त्रालयले सन्तोषजनक उपलब्धि पाएको छैन । सो वर्ष प्रतिव्यक्ति वार्षिक विद्युत् खपत २४५ किलोवाट घण्टाबाट १८१ बढाएर ४३६ पु¥याउने लक्ष्य कार्ययोजनामा राखिएको थियो तर समीक्षा गर्दा १५ युनिट मात्र बढेर २६० मात्र पुगेको देखिन्छ ।
कार्ययोजनाले लक्षित गरेको ४० जिल्लाको पूर्ण विद्युतीकरणको लक्ष्यमा उपलब्धि भने निकै तल १५ जिल्लामा सीमित रहेको नेपाल विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।

प्रकाशित मिति: : 2020-08-04 08:08:47

प्रतिकृया दिनुहोस्