रातो मछिन्द्रनाथको रथ यात्रा कहिले?

रातो मछिन्द्रनाथ अर्थात् सहकालका देवताको प्रत्येक वर्ष उपत्यकाकै लामो जात्राको रुपमा यो जात्रा पाटनमा गरिन्छ । यो जात्राको अन्तिम दिन अर्थात् भोटो देखाउने जात्रामा राष्ट्रप्रमुख नै सवारी भएर भोटो देखाउने गरिन्छ ।

वैशाखमै गरिनुपर्ने मछिन्द्रनाथ र मीननाथको रथारोहण केही साता अगाडि मात्रै भएको छ। त्यसपछिको चार दिनभित्र रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गो लागेको छैन। मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी आउन नसकेको हो।

विगतका वर्षमा मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो। यस वर्ष कोरोना त्रासका साथै मानिसमा यसको लक्षण देखिन थालेकाले अब कुन दिन तानिन्छ भन्नेबारे कुनै जानकारी भइनसकेको गुठी संस्थानले जनाएको छ।

विगतका दिनमा धुमधाम र भिडभाडका साथ मनाइने जात्रामा अहिले सन्नाटा छाएको छ। हरेक वर्ष मनाउँदै आएको जात्रा मनाउन नपाउँदा स्थानीयसहित पूजारीसमेत खिन्न छन्।

परम्परादेखि चल्दै आएको जात्रालाई धेरै समय अलपत्र पार्न नहुने भन्दै छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने पूजारीले बताए।

कोरोना भाइरसका कारण लामो समयदेखि स्थगित रथ यात्रा केही दिनमै सुरू हुनेमा ४६ वर्षीय पूजारी पूर्ण राज शाक्य ढुक्क छन्।

हालैको अवस्थाका कारण रथ जात्रा स्थगित भएको उनले बताए। कोरोना भाइरसका कारण समस्या उत्पन्न भएको बताउँदै पूजारी शाक्यले भाइरस आउनुभन्दा पहिले पनि समस्या थियो। मछिन्द्र नाथ देवता आफैँमा समस्या हो। यो देवता नै महामारीको बेला इन्डियाको पर्वतबाट आएको हो।’

अब यसै दिन मच्छिन्द्रनाथको रथ तानिन्छ भनेर निश्चित छैन। लोकेश्वरको रथ पुल्चोकबाट तानेर पहिलो पटक गाःबहाल, गाःबहालबाट तानेर मङ्गल बजार, मङ्गल बजारबाट  सुन्धारा, सुन्धाराबाट  लगनखेल, लगनखेलबाट  जावलाखेल लाने चलन  थियो । यस वर्ष एकै दिनमा रथ तानेर जावलाखेल पुर्‍याउने विषयमा विज्ञसँग छलफल भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।

यता पूजारी भने लकडाउन खुलिसकेकाले भदौ महिनादेखि जात्रा सुरू हुनेमा ढुक्क छन्।

यस्ता कठिन अवस्थामा छिमेकी मुलुक भारतमा समेत कर्फ्यू लगाएरै ठूला ठूला जात्राहरुलाई सीमित गरेर अत्यावश्यकीय कार्य गरिएको देखिन्छ।

पुर्खौंदेखि मनाउदैं आएको रथ जात्रा सञ्चालनमा ल्याउन कर्फ्यू लगाउन नपरेको बताउदैं उनले बिएल नेपाली सेवासँग भने, ‘अहिलेसम्मको स्थिथि हेर्दा कर्फ्यू लगाउनु नपर्ला, तर अवस्था भयाभह भएमा के गर्ने भन्ने छलफल गर्नुपर्ने बेला आएको छ। जात्रामा देवता वैशाख १२ गते निकाल्नुपर्ने थियो। तर सम्भव भएन। ढिला भयो। ढिला भए पनि देवता बाहिर आइसक्यो। अब रथ जात्रा भएरै छोड्छ।’अवस्था जस्तो सुकै भए पनि दशै अगाडिसम्म जात्रा सकिने र गर्नैपर्ने अर्का ५६ वर्षीय पूजारी हेम बज्राचार्यले बताए।

अब मछिन्द्रनाथको रथ यात्रा दशैँसम्म गर्न ससके र दशैँभरीमा पनि भोटो जात्रा देखाउन नसके मछिन्द्रनाथको जात्रा भक्तपुरमा चलाउनुपर्ने किम्वदन्ती छ। यही किम्वदन्ती अनुसार भक्तपुरका केही विद्धान ईतिहासविद्हरुले भनिसकेका छन् यदि दशैँभरीमा मछिन्द्रनाथको जात्रा सम्पन्न भएन भने भक्तपुरले मछिन्द्रनाथको जात्राको लागि दावी गर्नेछ ।

मछिन्द्रनाथ मूर्तिको पूजा गर्न १६ वर्षसम्म कुर्नुपर्ने उनको भनाइ छ। ‘देवताको पूजा गर्न सजिलो छैन्। वर्षौं दिनसम्म पर्खनुपर्छ।’

रथ जात्रा सुरू भए लगत्तै पूजारीसमेत तयारीमा विशेष तयारीमा बस्नुपर्ने हुन्छ। ‘जात्रा सुरु भएदेखि नसकिएसम्म कसैलाई पनि नछोइकन बस्नुपर्छ। बिहानै स्नान गरेर देवताको पूजा गर्नुपर्छ। पूजा गरिसकेपछि देवतालाई ऐना देखाउनुपर्छ। पूजा गर्न १-२ घण्टा लाग्छ,’ उनले भने।

वृष्टिदेवको रथ तान्ने कुरामा सरकारले निर्णय दिएपछि मात्र काम अघि बढाइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। लिच्छवि राजा वरदेवले विसं ८०० मा पुल्चोकमा रथ बनाउन शुरु गराएका थिए।  किंवदन्तीअनुसार नेपालमा एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि विसं ५४४ देखि ५५६ सम्म १२ वर्ष उनले त्यसैको झोकमा नवनागलाई आसन बनाएर बस्दा अनिकाल र खडेरी भयो । यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए।

 

प्रकाशित मिति: Aug 04, 2020 18:19:50

प्रतिक्रिया दिनुहोस

सबै