रारा र छाप्रुको बसाइँसराइ {भिडियो}

 मुगु डायरी –१८ 

खेल्नेहरु दुःखमा खेल्न बड्ता रुचाउँछन्। दुःखमा खेल्न देवी देउता, भगवान, प्रभु यशु, दरखोल्या, गन्य, मान्य कोही बाँकी रहदैनन्। सबै आउँछन्। अवसरवादी नेता र कर्मचारीहरुको लागि दुःखमा खेल्नु शुअवसर बन्छ। राजनीतिको घिन लाग्दो खेल हुन्छ र ललाईफकाई गरिन्छ।   

जस्तो की देउताका धामीहरु शरीरमा भाते खालो निस्कन र टाउको दुख्न दिन्नन्, दोष देखाइहाल्छन्। प्रभु यशु मान्नेहरु भन्छन्, ‘सब सैतानको काम हो। प्रभु यशुलाई मान उहाँले सब ठिक गरिदिनु हुन्छ।’ उनीहरु सबैको एउटै काम हुन्छ, कमजोरीमा खेल्ने। ठाउँ पाउने बित्तिकै हान्ने। त्यसरी हान्ने, जसले ठहरै पारोस्। 

राराको किनारमा दुई बस्ती थिए रारा र छाप्रु नामका। दुःख साह्रै भएर पसिना आइगया भने बगाउने ठाउँ थियो, रारा ताल। चर्को गर्मीलाई तह लगाउने काम पनि राराकै थियो। दुःखलाई पाखा लगाउने काम राराको काँधमा भएपछि सुख खोज्न काँसी जान परेन। 

मासु खाउँ डाँफे चडी उम्ता। कस्तुरी र मृग उस्तै। पाउन्या (पाहुनलाई नयाँ स्वाद) चारो साइबेरीयाली आगन्तुक चरा। असला माछाको असली स्वाद। बिहान रारामा पर्‍याका घामका किरण मुगा, मोती बिर्साउन्या जस्ता। दिउसो हान्ने छालले मन चंगा बनाइदिन्या। डुब्न लाग्याको सुर्यले रारामा सुनको जलप लगाएपछि रारा र छाप्रुलाई क्यालै चाहियो धनसम्पत्ति? ‘सुनका थैला, हातका मैला के गर्नु धनले?’ लक्ष्मिप्रसाद देवकोटा –जिन्दावाद! 

०००

१९६६ सालको रारा गाउँ।


किनाराका दुई बस्तीलाई प्रकृतिले मस्ती गराएको थियो। 

कुरो २०२० सालतिरको हो। राजा महेन्द्र घुम्दै आए, रारा। सल्लाको गोइलोमुनी जीउ बिसाएका मात्र के थिए, राराको आद्रतायुक्त हावाले चुम्बन गरिहाल्यो। माया बस्यो। कवि मनले फुरायो काव्यरस। प्रशंसा स्वरुप ‘रारा कि सुन्दरी’ (महेन्द्रको कविताको शिर्षक) जलप लगाएपछि चाकडी गन्र्या जनले रारालाई करणी गरी ‘महेन्द्र ताल’ बनाइदिए। जसरी बिहे गेरेकी छोरीको जात बदलिन्छ, त्यसरी रारा बदलियो।

रारामाथि शाह वंशको आँखा लाग्यो। जसरी दरबारका सुसारे माथि लाग्छ। राराको करणी भयो, जसरी सुसारेहरुको हुन्छ। राराको क्या लाज हुुनु अरूले करणी गरेको देख्न्या, रारा र छुप्रुलाई लाज भयो। जसरी ‘.... गर्नेलाई भन्दा देख्नेलाई’ लाज भनिन्छ। 

०००

यस्तैमा २०३२ साल आइपुग्यो। राजाको शासनले एउटा निर्णय गर्‍यो, ‘रारालाई संरक्षित क्षेत्र बनाउने। (पछि रारा राष्ट्रिय निकुन्ज भयो) संरक्षित क्षेत्र भएपछि ताल वरीपरी पुरै बुँझ्याउने भनी रारा र छाप्रु गाउँको बस्ती र त्यहाँका जनतालाई बर्दियामा जग्गा दिएर बसाइँ सार्ने निर्णय भयो। जुन निर्णय राजा विरेन्द्रको थियो।

त्यसपछि आउन थाले तार (चिठी)। खोलिएको हुँदैनथ्यो, खबर उडेर गाउँमा गैजान्थ्यो। बस्ती ‘सारिन्या भया रे’! डर नौ रेक्टर स्केलको भूकम्प बनेर आउँथ्यो। मन क्षतबिच्छेद हुन्थ्यो। उजाडिएका बारपाकहरु त पछिका मात्र चित्र हुन्। पहिला त रारा र छाप्रुका मन भत्केका थिए। 

केही गरी रारासँगै जुनी काट्न नसकिने भएपछि गाउँको बुढापाका, भद्र भलादमीले अन्तिम अस्त्र प्रयोग गरेका थिए। ‘आम्नो (आफ्नो) मातृभूमि, बाजे बराजुको पालादेखि बसोबास गरेको गाउँ, ठाउँ। नमरुन्जेल कसरी छाडौं? बरु मर्‍या हाडखोड जाँदो हो।’

राजाका मौखिक बोली नै निर्णय हुने सत्तालाई भगवानको लुतो लाग्ने कुरै भएन। सुरु भयो सरकारी संयन्त्रको डर देखाउने देखि फकाउने सम्मको यात्रा।

जुन सत्ता रारालाई विश्व बजारमा पुगाएर व्यापार गर्न चाहन्थ्यो। त्यसबाट मनग्य नाफा कमाएर काठमाडौंलाई रंग्याउन चाहन्थ्यो त्यही सत्ता रारा र छाप्रु गाउँका जनताको अगाडि रारा तालको घृणा गरिरहेको थियो। घृणा गरी गाउँले फकाउने मध्येका एक अधिकारी हुन् २०३५ सालमा जुम्लामा सिडिओ बनी आएका सूर्य बहादुर सेन। उनले आफ्नो किताब ‘अविस्मरणीय जुम्ला’मा राराका गाउँलेहरुलाई फकाउन प्रयोग गरेका शब्दहरु यस्ता थिए।

‘यो तपाईहरुको जन्मभूमी हो। तर खान लाउन दुःख छ। यहाँ आलु, जौ, उवा, फापर मात्र फल्छ। प्राकृतिक सुन्दरता र रमणीयता बाहेक अरु के छ यो ठाउँमा? न यातायात, न अस्पताल, न शिक्षा, न जागिर! आजको जमानामा यो ठाउँमा बस्ने ठकुरीहरु र ठकुरीहरुसँग बस्ने अरुहरु पनि पिछडिएको जातमा परिसकेका छौं। यसो हुनाले आज जहाँ पढ्न, जान्न, औषधि उपचार, जागिर, काम, माम र इज्जत प्रतिष्ठा पाइन्छ त्यहीँ बस्नु पर्छ।’ (सूब सेन, अविस्मरणीय जुम्ला, पृष्ठ ८१)

यसरी लागेका उनले आफ्नो फकाउने कलाको निकै तारिफ गरेका छन्। तर रारा किनारका दुई बस्ती उठाउन प्रयोग गरिएका शब्दावलीले त्यबेलाका सरकारी हत्कण्डालाई गिज्याइरहेको छ। सबै नागरिकको शिक्षा, स्वस्थ्य, विकास निर्माणको दायित्व लिनुपर्ने राज्यले न शिक्षा, न यातायात, न अस्पताल भन्नु कत्ति नुसुहाएको! के यी बन्दोबस्त नभएका बस्तीलाई सरकारले सारेर सुख सयल भएको ठाउँमा लग्यो? 

आफूलाई केन्द्रमा राखेर स्वप्रशंसा गर्ने अधिकारीको मानसिकताको चर्चा ‘ग्रिन बुक अफ वल्ड रेकर्ड’मै रहनुपर्ने, कस्सो सिडिओसम्म मात्र रेकर्डेड रहेछ!

गाउँलेलाई फाँडो पकाएसरी फकाएपछि नारा लाग्यो, ‘रारा ताल बचाउँ, तारा ताल जाउँ’।

नमरी थातथलो छोड्न लागेका रारा र छाप्रुबासीहरुको धारो उकालो लाग्यो। आँसुको मुल ओरालो लाग्यो। रारा भरिदै गयो। दह झन् निलो भयो। आजसम्म पनि निलै छ। जसले देखाइरहेको छ कर्णालीको नीलो पीडा। 

मान्छेको धारोले लेक काटेर ओरालो लाग्ने बेला आँशुका मुलमा कर्णाली बगेसरी बग्दै बाँकेको चिसापानी पुगेकी थिइन, जौमती बुढा। यो उनैको गद्य ठाडी भाका हो।

०००

द्वन्द्वकालमा माओवादीले गीत गाए, ‘तिमीसित गहिरो माया बस्यो जलजला’। यो गीतमा माओवादीहरु कलाकारलाई खुब नचाउथे। जनताले कयौं पटक अभिनय सहित हेरेका थिए। रेडियोहरुले पटक पटक दोहो¥याएका थिए। स्रोता भएर मन बहलाउनेहरु जनता नै थिए। तीनै मध्येकी एक हुन, जौमती। जसको गीतसँगै गाँसिएको बसाइँसराइ अगाडिकोे बिलौना यस्तो छ। 

‘क्या हाम्मो माया फालिखेल्या (त्यसैको) हुँदो हो? कि हामीले राराकन खोलीउनाको चडा जतिको मान्यानु? कि त जुग जान्या पिरती लाउन जान्या नौं? कि हाम्मा देउता दाइना भयानुन्? त्यै भैकन राजा रिसायाका हुन् र हामीकन यताबाट भगाउन लाग्या? 

छकल्या (बिहानै) रारामा टल्कन्या मोतिका दाना हेन्र्या आँखामा केही रोग लाग्याको छियोन (थिएन)। दिउसो राराको छाल जति उर्ले पुनि मन शान्त बनाउँदो छियो। राती डुब्न लागेको सुज्र्या (सुर्य) तारो हम्मा खोरौंदो (टाउकोमा) पड्यो कि, चिड्को पड्याका जुन? (चट्याङ परेका जसरी)

राराले माया मा¥यो। चटक्क छोडेर जानु पड्यो। च्वाट्टै चुडियो मायाको डोरी। जान्या मन छियोन। त्यैबेला हाम्मा कुडा को सुन्या भया? बोल्या पै ‘स्वास्नी मुखिनी बाग्रो बटालो’ भुन्दा। मतलव महिला जान्ने भइ र बाख्राले बाटो सिकाउने भयो भने कहिले राम्रो हुन्न भन्ने पुरुषवादी चिन्तन्।

सरकारका सापहरु ठूलठूला ठालुका घर पसे। तीनुका कुडा सुन्या। हामी आइमाइ मान्ठका कुडा कोइले (कसले) सुन्दिन्या? बाआमाले छोरी दिया पै लाटो गाँडो नभनी भ्या (बिहे) गन्नु पड्या जुन गरी डाँडा कटायौं। लेक, गाड (नदीं) तर्‍यौं। 

हाम्मा वेदना त न्यौना (यहाँका) रुख बिरुवाले मत्तै (मात्रै) सुन्या। चराचुरुंगीले सुन्या। पाटी पौवाले आँशु बगाया। गाइ बाछाले सुन्या। साइबेरीयाबाट आउने पाहुना चडाहरुले सुन्या। त्यै भएर सौंराइ तिनुकै लाग्छ।

अब गाउँका ठालु, घरका मुली मानिने लोग्ने मान्ठले लाएको घो (बाटो) तताउनु बाहेक अरु क्या छियो र, उपाय?’

०००

जौमतीका कुरा सुनीसकेपछि मेरो स्मृतिमा बसाइँसराइका केही बल्याकिन ह्वाइट दृश्यहरु उल्टो घुम्न थाल्छन्। 

एउटा बालक हाँस्दै अगाडि अगाडि हिडिरहेको, मुख मिठो पार्दै। छट्के झोला भिरेको, झट्की (स्टाइलिष्ट)। तोरीको तेल घसेको, बीचमा सिउँदो देखिने गरी बाल सेपेको। झोला भित्र पोलेको मकै। भुटेका उवाका खट्टे। ती एक एक गरी टोक्दै अगाडि बडेको उसलाई सोध्छु।

– ‘काँ जान लाग्यौं?’

– ‘उँदो’। 

अलि ठूली आउँछ। सानो छतौरे डोकोमा मगमगाइरहेको, सुकेर हल्का पारिएको जंगली साग बोकेकी। आमाले ‘अब काँ पाइन्या छ?’ भनि पारेका कुम्ला कुटीराकाले जीउ गह्रुँगो पारेकी। 

सोध्छु, –‘काँ जान्या हौ?’

– ‘मुधेस’।

भर्खरको छोट्या (केटो) आउँछ। थाल, गिलास, ट्यांका जाकेको जुटको बोरा पिठ्युँमा बोकेको। हातमा सानो बाख्रो डो¥याएको। निधार र रौं बीचमा एक दुई थोपा पसिना सिताएको। 

सोधे, – ‘काँ जादा?’

– ‘औल।’ 

ठूला भारी बोकेकाहरुको एक बथान आउँछ। गह्रुँगो जीउ लाएर सजसज (बिस्तारै बिस्तारै) पाइला सारिरहेका छोट्या, छोट्टी। घाम बुढेपछि छाँया परेका जस्ता मधुरा मुहार। मौन ब्रत बसेका जस्ता, हजार माइलको यात्रा नापेका जस्ता।

सोधे, –‘तुमी सबै काँ जान लाग्यौ?’

– ‘आइदेइ (आज देखि) रारा र छाप्रुका मान्ठ सबै न्या (यहाँ) नबस्न्या भैग्यौं। तराई जान्या हौं।’

मलतव रारा र छाप्रुको बसाइँसराइ भयो।

दुई पाइला अगाडि के हालेको थिए, रारा किनारमा ठडिएका सल्लाका रुख भन्दा बढी मान्छेको भिड छ। ती मौन छैनन्। ठूलो चिच्याहट छ। कान ठाडा बनाउँछु। सुन्न सकिएन। कान थुन्नु पुग्छु।

अब कसलाई सोध्यु? ‘काँ जान्या हौ?’ भनी। को दिन्या छ जवाफ, ‘फलाना ठाउँ जान्या हौं’ भनी। 

०००

आमा रोएको देखि कराउँदैछन् काखका बच्चाहरु। बाँ बाँ गर्दै रामेका गाइ गोरुलाई एक मुठो घाँस र एक पिँडो आटो खुवाउँदै अंगालो हालेर माइ खाँदै गरेका आमाहरु। ‘बार भैगो (ढिलो भयो)’ भन्दै आखाँका कुनातिर औंला लिइरहेका बाहरु। ‘क्या प हुन्या हो?’ भन्दै शंकायुक्त लौरो टेकेका बोजे, बज्यैहरु।

लाग्छ, मुग्लान जानेलाई के दुख्दो हो, जति थातथलो छोड्दा दुख्छ? लडाइँमा जान लागेको सैनिक र उसका जहान। खाडी जान लागेका महिला, पुरुष र उनका परिवार। कोरोना लागेको बिरामी र उसका परिवार। अस्पतालको बेडमा पिकिपिकि गरिहेको बा र अन्तिम सास कुरीरहेकी छोरी। मट्टितेल छर्केर जलाइएकी मधेसकी बुहारी के रुँदी हुन जति गाउँलेरु रोए। परमाणु बमको आवाज के ठूलो हुँदो हो जति उनीहरुको चित्कार थियो। 

कान फेरी बन्द गर्छु।

००० 

बिस्मृतिमा जौमती सम्झिरहेकी छिन्, ‘आँसु बगाई बगाई गलायको जीउले ३२ दिन लगायो चिसापानी पुग्न। तल जग्गा दिन्या कुडा छियो। तर जाग्गा काँ पाउँदा हुँ बिचल्ली हात लाग्यो। न बस्नाको बास, न खानको आस। तीन चार वर्ष कुकुरले नपाउन्या दुःख पायौं। खान्या चारो पाइयोन, लाउन्या टालो पाइयोन। दुनियाका काम गरी खायौं। आलु, जौ, उवा, फापरको सित्ति सौंराइ लाग्योन।’ 

पिज्जा, बर्गर, फ्रेन्च फ्राइ क्या पोसिला जति आलु, जौ, उवा र फापर पोसिला। अनि क्या को दुःख रारा र छाप्रुमा बस्दा?

०००

त्यतिबेला बाँके चिसापानीमा बस्ती थिएन। जंगल थियो। राराको चिसो जंगलबाट गएका जीउ, उखर्माउलो गर्मीले तातेर आरनबाट झिकेका फलाम जस्ता हुन्थे। जुन दिन जग्गा मिल्यो त्यही दिन बल्ला सितल भयो। सायद राराको चिसो सिरेटो आफ्नाहरु खोज्दै तराई पुग्यो। 

‘देउता कति पुगाड्यौं कति। जग्गा पाएको बेला लाग्यो, देउताले कुडा सुन्या,’ उनले भनिन्, ‘कहिले त छोडी आएका पशु वस्तुका सराप लाग्या जस्तो पुनि लाग्दो। देउता रिसाइगया कि जस्तो लाग्दो।’ 

थातथलो छोडेर नयाँ ठाउँ पुगेकी जौमतीले तराईको जंगलमा भावुक हुने गरी विरहका भाका हालिन्। ‘गाउँको मात्रै कहाँ हो र, रुख बिरुवाको याद आउन्छियो।

झाडपातको याद आउन्छियो। सास त कति चोटी हुलियो हुलियो? उड्न्या चडा जति सबै त्यतै जान्या हुन जस्तो लाग्दो। रैबार कति पठायौं कति। उताबाट उडी आउन्या चडाचुडीको उस्तै आश लाग्दो, केही रैबार ल्यायाका छुन् कि सोच्दा!’

गाउँका सबै मान्छेलाई एकै ठाउँ बसालेन कसैलाई ताराताल छोडियो त कसैलाई चिसापानी। नाम ताराताल भएपनि रारा जस्तो घमाइलो कहाँ लाग्नु? नाम चिसापानी भएपनि राराको जस्ते कलकलाउँदो मुलको पानी कहाँ पाउनु? सेनाले बम हानेर छरिछिट्यान पारेका माओवादी जस्ता गाउँले भएपछि स्थिर मन र स्थिर बासोबास कसैको भएन। कोही भोट उक्ले त कोकी मधेस झरे। जसरी भोटकी चौंरी मधेस पुगिन्, त्यसरी मधेसकी गौरी भोट पुगिन्।

त्यसैले, जौमतीलाई सल्लेरी स्थित सल्लाको रुखले फेरी रारा किनारमा होटल गर्न बोलाएका छन्, केही पुराना यादहरु बाँड्न र केही नौला अनुभूतिहरु संगाल्न।

(नोटः रारा जाने बाटो सल्लेरीनिर जौमती बुढाको होटलमा भएको कुराकानीमा आधारित।)

  यो पनि हेर्नुहोस्  

प्रकाशित मिति: Aug 07, 2020 13:25:05

प्रतिक्रिया दिनुहोस