नेकपा विवाद : केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक कमिटी बनाइने, सचिवालय बैठकले यसको प्रस्ताव तयार पार्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेका दुई खेमाबीचको विवाद हल गर्न क्रियाशील नेताहरुले महाधिवेशनमा जाने गरी गृहकार्य अघि बढाएका छन्। 

त्यसका लागि अहिलेको पार्टीको केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने, त्यसको प्रस्ताव तयार पार्न पार्टी सचिवालय बैठक बस्ने तयारी भएको हो। केही दिनभित्रै पार्टी सचिवालय बैठक बस्नेसम्मको गृहकार्य भइरहेको छ। 

प्रधानमन्त्रीका तर्फबाट नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा लगायतका नेताहरुले यसका लागि काम गरिरहेको स्रोतको दाबी छ। यो समूह ओली र प्रचण्डसँग सम्पर्कमा रही गृहकार्य गरिरहेको स्रोतले जानकारी दिएको छ।
 
नेकपाका एक स्थायी कमिटी सदस्यले दिएको जानकारीअनुसार, सचिवालय बैठक डाकी त्यहाँबाट महाधिवेशनमा जानेबारे प्रस्ताव तयार पार्ने र वर्तमान केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने भन्नेबारे दुबै अध्यक्षबीच अलग–अलग छलफलमा सहमति जुटिसकेको छ। स्थायी कमिटीबाट यही प्रस्ताव पारित गरी जारी बैठक अन्त्य गर्ने तयारी सहित गृहकार्य भइरहेको छ। 

महाधिवेशन आयोजक कमिटीका अध्यक्ष प्रचण्ड मात्रै रहनुपर्ने प्रचण्ड–माधव नेपाल पक्षको दाबी छ। यसलाई ओली समूहले स्वीकार गरेको छैन। ओली पनि अध्यक्ष रहने तर कार्यकारी अध्यक्ष प्रचण्डले नै महाधिवेशनसम्म पार्टीको मुख्य जिम्मेवारी दिने गरी बीचको बाटो निकाल्ने प्रयत्न जारी छ। 

प्रचण्डका तर्फबाट केन्द्रीय कमिटी आयोजक कमिटीमा रुपान्तरण भएसँगै दुवै अध्यक्षले राजीनामा गर्ने र प्रचण्ड मात्र आयोजक कमिटीको संयोजक बन्ने प्रस्तावलाई ओली समूहले अस्वीकार गरेको छ। 

एमाले र माओवादी दुई पार्टीबीच एकीकरण भएपछि एकता महाधिवेशनअगावै कुनै पनि अध्यक्षले छाडेमा एकताले पूर्णता नपाउने भएकाले महाधिवेशनसम्म दुवै अध्यक्ष रहनुपर्ने ओली पक्षको तर्क छ।
 
नेकपा सचिवालयको साउन ३ गते बसेको बैठकले मंसिरमा ‘अर्ली महाधिवेशन’ गर्ने सर्वसम्मत निर्णय गरेको थियो। त्यसको भोलिपल्ट शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका प्रधानमन्त्री ओलीले त्यहीँ रहेका प्रचण्डसामु ‘जबज’ स्वीकारेर अधिवेशनपनि अध्यक्ष र प्रधानमन्त्री दुवै हुन आग्रह गरेपछि यो भाँडिन पुगेको हो। 

नेकपाको साउन १३ गते डाकिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डले त्यहीँ ओलीपक्षबाहेकका स्थायी कमिटी सदस्यहरुको बैठक डाकेका थिए। 

त्यसपछि विवादले चरम रुप लिएको थियो। पुनः झलनाथ खनाल र सुवास नेम्वाङसमेत सहभागी गराएका साउन १८ देखि अध्यक्षद्वयबीचको बैठक पनि तीन पटकभन्दा बस्न सकेन। 

साउन २१ गते डाकिएको बैठक स्थगित गरी प्रचण्ड तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान गएर आफू पक्षधर पत्रकारको भेलामा सहभागी भएदेखि अध्यक्षद्वयबीच संवाद पनि अन्त्य भएको छ। नेकपा दुवै पक्षका नेताहरु पार्टी फुट्न नदिने भन्दै सहमतिका लागि प्रयास गरिरहेका छन्।

याे पनि पढ्नुस्

नेकपा न फुट्न पाउँछ, न जुट्न सक्छ 

प्रचण्डको चाहना आफू मात्र अध्यक्ष हुने, महाधिवेशनसम्म दुवै पद नछाड्ने ओली-अडान

 

 

 

प्रकाशित मिति: : 2020-08-12 12:45:53

प्रतिकृया दिनुहोस्