कांग्रेस नेतृत्वमा युवा आउलान् त ?

देखापढी

काठमाडौँ

जङ्‌ग तामाङ

नेपाली कांग्रेसको सर्वोच्च पद सभापतिमा युवा नेताहरूले ज्येष्ठ नेताको विकल्प खोज्न थालेको वर्षौं भइसकेको छ। यसअघिको १३औं महाधिवेशनमा युवाहरूले नेतृत्वमा रूपान्तरण हुनुपर्छ भन्दै ज्येष्ठ नेताको विकल्पको स्वर निक्कै घनिभूत पनि बनाए। एकप्रकारले मोर्चाबन्दी नै गरे। तर, उनीहरूको त्यो प्रयास सफल हुन सकेन। 

१४औं महाधिवेशनको पूर्वसन्ध्यामा पनि कांग्रेस नेतृत्व युवाहरूमा सर्नुपर्छ भन्ने आवाज थप घन्किन थालेको छ। युवा नेताहरू यसपाली ‘युवा नेता पार्टीको नेतृत्वमा हुन्छन्’ भनेर ठोकुवा समेत गर्न थालिसकेका छन्। १२ जना युवा नेताहरू आवद्ध समूहका एक जना सदस्य गुरुराज घिमिरेले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा युवा नेता निर्वाचित हुने ठोकुवासहितको भविष्यवाणी गरेका छन्।

“अब १४औं महाधिवेशनबाट सभापतिमा युवा निर्वाचित हुने निश्चित छ”, नेता घिमिरेले देखापढीसँग भने, “क्षमता, आत्मविश्वास, विश्व राजनीतिकलाई नजिकबाट हेरिरहेको र राष्ट्रिय आवश्यकताप्रति सुझबुझ भएकाले अब पार्टीको नेतृत्वमा युवा हुनुपर्छ, यो आवश्यकता पनि हो।”

उनले देशभरीबाट पहिलो पुस्ताका नेताहरूलाई पार्टीको संरक्षक, अभिभावक र मार्गदर्शक बनेर बस्न दबाब रहेको पनि बताए। १२ जनाको समूहमा डा. चन्द्र भण्डारी, गगन थापा, किरण यादव, धनराज गुरूङ, प्रदीप पौडेल, गुरुराज घिमिरे, सुजता परियार, रामकृष्ण यादव, रत्ना शेरचन, सरिता प्रसाईं, कमला पन्त र बद्री पाण्डे छन्।  

यो समूहभन्दा बाहिरका एक जना नेता मिनेन्द्र रिजालले पनि अबको पार्टी नेतृत्व दोस्रो पुस्ताका नेताहरूले गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। उनले २००७ साल फागुन ७ भन्दा अगाडि जन्मेका नेताहरूले सम्मानजनक रूपमा ‘रिटायर्डमेन्ट’ लिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: : 2020-08-16 12:25:05

प्रतिकृया दिनुहोस्