शैक्षिक सत्र खेर गए जिम्मेवार को हुने ? शिक्षा मन्त्रालय भन्छ - ‘ठोस समाधान खोज्दैछौं’

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

काभ्रे दोलालघाटका भक्त थापा मगरलाई कोरोना भाइरसको महामारीले बेचैन बनाउन थालेको पाँच महीना बितिसक्यो। संक्रमणबाट आफू र परिवार जोगाउने जिम्मेवारी आफैंमा कठिन छ। त्यसमाथि महामारीका कारण सिर्जित जटिल अवस्थाले गुजारामा पनि थुप्रै सम्झौता गर्नुपरेको छ।

महामारीबाट जोगिने कठिन युद्धसँगै आर्थिक जटिलतामाथि अर्को चुनौती थपिएको छ, तीन सन्तानको शिक्षा अन्योलरहित तरिकाले सही बाटोमा लानुपर्ने। तर, दुई छोरी र एक छोराले महामारीकै कारण स्कूलको अनुहार देख्न नपाएको पाँच महीना भइसक्यो। फेरि कहिले खुल्ने टुंगो छैन।

महामारीको त्रास झन बढेको बेला सरकारले अचानक १ भदौबाट स्कूलको भर्ना खोल्ने निर्णय गर्‍यो। स्कूल नपठाए पनि बालबच्‍चालाई भर्ना चाँही गराउनै पर्ने बाध्यता मगरले बुझेका थिए। त्यसैले उनले पनि भर्ना गराउने योजना बनाएका थिए। तर, सरकारले फेरि भर्ना प्रक्रिया तत्कालका लागि रोकेको छ।

“सरकारले सही समयमा सही निर्णय लिन नसक्दा हामीजस्ता अभिभावक र विद्यार्थीहरू अन्योलमा छौं। आर्थिक रूपमा प्रत्येक अभिभावक अप्ठ्यारोमा परेको र महामारीको त्रासका बीच बाँचिरहेको बेला सरकारले स्पष्ट र उचित निर्णय गर्न सक्नुपर्छ,” मगर भन्छन्, “अभिभावक र विद्यार्थीको संख्या देशमा झण्डै करोड छ। जनसंख्याको एउटा ठूलो भाग अभिभावक र विद्यार्थीले ओगट्छन्। यसअर्थमा सरकारले यति धेरै आफ्ना नागरिकलाई राहत हुने गरी ‘बहुजन हिताय’ निर्णय गर्नुपर्छ।” 

प्रकाशित मिति: : 2020-08-17 12:35:44

प्रतिकृया दिनुहोस्