जदौ गोसाइँ
चिन्नु भो ?
तपाई मेरो पूर्खाको गौरव
म उही हली हुँ मालिक

तिम्रा मोबाइल र कम्प्यूटरमा दगुर्ने औँलामा
टाँसिए या टाँसिएनन् माटाका कणहरु
त्यही माटोको आद्रता ओढेर 
त्यही माटोको सुवास बोकेर
झुलाएको हुँ अन्न बाली
वर्षौ वर्षसम्म

बनेको थिएँ
भान्साको नूनदेखि कौसीको चून सम्मको ढाक्रे

पेटमा पटुका बाँधेर
हलोसँगै जोतेको हूँ पिँडुला र पाखुराको मासु
म उही हली हुँ गोसाइँ

काटेर ल्याउथेँ
जात्रा हेर्न हिँडेकी 
वैशालु युवतीका
पसारेका कपालझैँ
भीरको बाबियो
र पो बढारिन्थ्यो तिम्रो कौसी
घण्टौ हिँड्थ्यो मसँगै उकालो
डोकोभरीको स–सानो पसल बोकेर
र पो पाक्थ्यो तिम्रो भान्सामा परिकार !

साँझ अबेरसम्म 
जूनको उज्यालो ओढेर
सोझ्याइरहन्थे आँगनमा अचानो
र पो जोगिन्थ्यो तिम्रा अँगेनामा आगो
मधेश झरेपछि त चिन्न पनि छोड्नुभएछ क्यार !

ठिकै हो
त्यही माटो जोतेर निकालेको हुँ
अरिमल्लका पालाका माटाका भाँडाहरु
जुन आज नैपालमा छन् रे
चिन्दैनन् तिनले पनि

भोलि फेला पार्नेछु 
मेरै हजुरबुबाले बोकेर ल्याएको 
अर्जुन शाहीको शिला
जसको लम्बाइ चौडाइ र उचाइ
अटाउने छ तिम्रा क्यामेरामा
तर कहिल्यै अट्ने छैन 
मेरो पिठ्युको डाम
मेरो परिचय
किनकि म हली हुँ मालिक हली

तिम्रा मोबाइल, क्यामेरा र ल्याप्टपभन्दा
बहुमूल्य छन् मैले बोकेका चकमक,झुलो र दर्शनढुङ्गा
किनकि यिनमा टाँसिएकाछन् माटोका कणहरु
माटोका कण टाँसिएको जिन्दगी छ मसँग
हरेक पर्व पर्वादीहरु र तिनमा गाइने डेउडा,धमारी,चैत
सबैमा देख्छु मैले माटाका तिनै कणहरु

तर पनि
हलो जोतेर सीता उब्जाउने
सीताको मन्दिरमा कहिल्यै जान नपाउने
म उही अभागी हली हुँ मालिक !

प्रायः जसो तिम्रै खेतमा जोतिएको 
डोटी गौडाको किल्लाको भग्नावशेष जस्तो जिन्दगी
जोत्दैछु आज यही गोरेटामा
डाँडामाथिको घाम बनिसक्दा पनि 
थाहा छैन 
किन छोड्दैनन् माटाका कणहरुले मसँग साइनो गाँस्न ?

मलाई थाहा छ 
माथि महलबाट हजुरले 
तल माटोमा उभिएको म हलीलाई 
त्यति सजिलै देख्नु हुन्न 
आखिर जेसुकै भए पनि 
हजुरको गगनचुम्बी महल पनि त 
माटो मै उभिएको छ ।

गोसाइँ: मालिक
रिपुमल्ल: डोटी राज्यका एक राजा जसको शासनकाल शाके १३२१ मानिन्छ
अर्जुन शाहीको शिला:  डोटी राज्यका राजा महाराज मान्धाता शाहीका पाँच भाइ छोराहरूले राज्य नपाई पूर्व सम्झौता अनुसार डोटीराज्यको सेतीवारी क्षेत्रको तैनाथी मात्र पाएका थिए । पाँच भाइ छोराहरूमा साइँला अर्जुन शाही जसले दिपायल राज्यबाट छुट्टिएर जाँदा एउटा ढुङ्गो (शिला) र जमुनाको बोट लगेका थिए भन्ने भनाइ छ । उक्त बोट डोटी डुम्राकोटको कोट भन्ने ठाउँमा रोपी फेदमा शिला भनिएको उक्त ढुङ्गा गाडेका थिए, जसलाई डोटी राज्यको तैनाथी इलाकाको प्रतीकका रुपमा लिइएको थियो । सोही चौतारीमा बसेर त्यस इलाकामा परेका मुद्दा मामिलालगायत विभिन्न समस्याको छिनोफानो गरिन्थ्यो जुन चौतारी हालसम्म पनि देख्न सकिन्छ ।
प्रकाशित मिति: : 2020-09-06 11:17:27

प्रतिकृया दिनुहोस्