उपत्यकाका सिडिओको सुझावः नाकामा सेना परिचालनदेखि दसैंसम्म निषेधाज्ञा निरन्तर लगाउनुपर्नेसम्म

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने  र उपत्यकामा दसैंसम्म निधेषाज्ञा कायमै राख्नु पर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिको  बैठकमा आइतबार उपस्थिति भएका उपत्यकाभित्रका तीनै प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरूको आवागमनमा  कडाइ गर्नुपर्ने र उपत्यकामा पनि अनावश्यक हिँडडुल नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए। 

चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए। ‘अब हाम्रो अगाडि चाडवाडहरू आइरहेका छन्। दसैंजस्तो ठूलो चाड आएको छ। मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ। त्यो अहिले हामीले व्यहोरिरहेका छौं। दसैंमा पनि त्यस्तो हुन सक्छ। त्यसो भएको हुनाले दसैंसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाए पनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ,’ उनले भने।

काठमाडौं उपत्यकाआवागमनमा थप कडा पार्न डेलिकेटेट टिम राख्नु पर्ने तीनै सिडिओको एक मत रहेको छ। यसका लागि उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। 

दैनिक दुई हजारभन्दा बढी मान्छे काठमाडौं भित्रिरहेको स्मरण गराउँदै दाहालले नाकालाई ठप्प नपारेसम्म उपत्यकामा संक्रमण नरोकिने दाबी गरे।
‘अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरू आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ’, दाहालले भने भने, ‘सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब दुई हजार मान्छेलाई हामीले काठमाडौं भित्र्याउनै पर्छ। यदि दुई हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने हो भने यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ। त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ।’

उनले अनाववश्क मान्छे ओहोर दोहोर गर्नबाट बचाउँन नेपाली सेनाको एउटा निश्चित टुकडी परिचालन गर्नुपर्ने बताए।

‘सीमामा कडाइ गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ। नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँ न के फरक पर्छ र भनेर डिडिएमसीबाट निणर्य गरेर माथि पठाइयो तर सिसिएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि,’ दाहालले भने।

दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभइ प्रहरीले धेरै काम गर्नुपर्दा नभ्याएको हुनाले सीमा नाकाको निगरानी कमजोर भएको स्पष्ट पारे। सडकका जँड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गर्ने काममा प्रहरीलाई भ्याइनभ्याइ भएको भन्दै उनले उपत्यका भित्रने सीमा नाकामा नेपाली सेनालाई नै खाटाउनुपर्ने  दाबी गरे।

दाहालले अहिलेको निषेधाज्ञाले खासै काम नगरेको स्मरण गराए।

यस्तै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको स्वीकारिन्। ‘हामीलाई कस्तो दवाव आउँछ बुझ्नुपर्ने, निणर्यक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाकाभन्दा उता गाडि ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृत्ति पनि देखिन्छ,’ उनले भनिन्।

कार्यक्रममा नगरपालिका मेयर फोरमका सचिव एवम् मध्यपुरथिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए। बिहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने उनले बताए।

प्रकाशित मिति: : 2020-09-06 18:01:49

प्रतिकृया दिनुहोस्