फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप एकजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ।
दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएपछि अन्य खेलाडी तथा पदाधिकारीको कोरोना परीक्षण गर्दा युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित पुष्टि भएकाे हाे।
याेसँगै पीएसजीमा काेराेना संक्रमित खेलाडीकाे संख्या ७ पुगेकाे छ। यसअघि गोलरक्षक केलर नाभास, डिफेन्डर मार्किन्हस र फरवार्डद्वय मोउरो इकार्डी र नेयमारमा काेराेना संक्रमण देखिएकाे थियाे।
यस्तै एन्जल डी मारिया र लियोनार्दो परेडेसमा पनि कोरोना पुष्टि भएको छ।
युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन। भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो। फाइलनलमा पीएसजी जर्मन कल्ब वायर्न म्युनिखसँग १–० गाेल अन्तरले पराजित भएकाे थियाे।
पीएसजीले सेप्टेम्बर १० मा लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका रहेको छ।
पीएसजीको लिग खेल सरेसँगै खेलाडीले केहि विश्राम पाएका थिए। नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए। साेही क्रममा उनीहरुलाई काेराेना संक्रमण भएकाे अनुमान गरिएकाे छ।
कोरोनाकै महामारीका कारण नयाँ सिजन समेत प्रभावित बनेको छ। लिगको पहिलो खेलमै कोरोनाका कारण स्थगित गर्नुपरेको थियो।
एमबाप्पेमा काेराेना भाइरस संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ ।
२१ वर्षका एमबाप्पेले नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए । एमबाप्पेलाई सोमबारदेखि टिमका खेलाडीबाट पर राखिएको थियो र त्यसपछि घर पठाइएको छ ।
यता एमबाप्पेमा संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ। फ्रान्सेली लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ।
क्लबले केही दिनमा नै अन्य खेलाडी र टोली सदस्यको कोरोना परीक्षण गर्नेछ।