एसीड आक्रमणकारीलाई जब कडा सजाय हुन्छ, तब सन्तोसको सास फेर्नेछुः (भिडियो)

रसुल अन्सारी

एसीड पीडित मुस्कानको बुवा

२०७६ साल भदौ २० गते शुक्रबार बिहान करिब ६ बजेतिर घरबाट विद्य‌ालय हिँडेकी १४ वर्षीया मुस्कान खातुनमाथि वीरगञ्जमा एसिड प्रहार भयो।

कक्षा ९ मा पढ्दै गरेकी वीरगञ्ज छप्कैया– ३ की मुस्कानमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। नारायणी अस्पतालमा भएको प्राथमिक उपचार पश्चात उनले काठमाडौंको कीर्तिपुर अस्पतालमा थप उपचार गराइन्।

घटना कसरी भयो र अहिलेको अवस्थामा कसरी आइपुगियो भन्ने विषयमा बिएल नेपाली सेवाका लागि डिल्ली पाण्डेले अन्सारीसँग गरेको कुराकानीमा आधारित।

***

म आल्मुनीयमको ग्यारेजमा काम गर्थेँ। शुक्रबारको दिन थियो। बिहानको क्लास भएकाले छोरी ६ बजेनै घरबाट स्कुल गएकी थिइन्।

छोरी स्कुल गइन्। म घरैमा बसेको थिएँ। त्यहिँ बेला एक्कासी फोन आयो- तपाईँको छोरीमाथि एसीड आक्रमण भयो, झट्ट अस्पताल आउनू भनेर।

हामी बेहोसी जस्तै भएर दौडिएर अस्पताल पुग्यौं। त्यहाँ मुस्कान छटपटाईरहेकी थिइन्। अनुहार सबै कालो भएर डढेको थियो। के भयो यस्तो भनेर छोरीको बेडमा म रूने, आमा यता रून भयो, अस्पतालमा एकछिन रूवाबासी भयो। त्यति बेलै मेरा केही साथीहरू पनि अस्पताल आइसकेका थिए।

घटना कसले गराएको भन्ने त्यहिँ बेला थाहा भइसकेको थियो। त्यहाँको माहोलनै अर्कै भईसकेको थियो।

वीरगन्जका तत्कालिन एसपी सा’प सुमेन्द्र राठोर पनि अस्पताल आउनुभयो। उहाँले अस्पातलमा लागेको भिड हटाउनुभयो। थप उपचारका लागि काठमाडौं लैजान धेरैले सल्लाह दिइरहनु भएको थियो।

त्यतिबेलै घटनाबारे जानकारी पाएका सांसद प्रदीप यादवले मुस्कानलाई तत्काल काठमाडौं ल्याउन भन्नुभयो। ‘तपाईँको छोरीको अवस्था गम्भीर छ, तपाईँ एकछिन पनि त्यहाँ नबस्नु जति सक्दो चाँडो यहाँ ल्याउनू’ उहाँले भन्नुभयो।

मेरो खल्तीमा पैसा थिएन। मैले श्रीमतीलाई पैसा खोज्न पठाएँ। त्यहिँ बेला फेरि उहाँको फोन आयो, ‘पैसाको चिन्ता नलिनू छोरी मात्र ल्याएर आउनू’ भन्नुभयो।

त्यसपछि हामीले तुरून्त एम्बुलेन्समा राखेर काठमाडौं आयौं। हामी कीर्तिपुर अस्पताल पुग्दा उहाँ अगाडिनै पुगिसक्नुभएको रहेछ। के के प्रक्रिया मिलाएर उपचार थाल्यौं।

भोलिपल्ट मुख्यमन्त्री लालबाबु राउत पनि आउनुभयो। स्थानीय सरकारदेखि केन्द्र सरकार र विभिन्न सहयोगी हातबाट २० लाख जति रकम उठ्यो। त्यो रकमले पहिलो अप्रेशन सकियो। तर लामो समयसम्म विभिन्न अपरेसन र उपचारका लागि लाग्ने मोटो रकम आफूहरूसँग छैन। त्यसैले अब कसरी उपचार गर्ने होला भन्ने चिन्ताले सताईरहेको छ। अहिले सरसापट गरेरै गुजारा चलाइरहेका छौं।

कोभिडको बाहाना गरेर मेरो छोरीका अपराधी छुटेको भन्ने खबर सुनेँ। म काठमाडौंमै थिएँ। यस बिषयमा मलाई वीरगन्जकी पत्रकार बिमलाजी गुप्ताले सुनाउनुभयो।

सरकारले सामान्य अपराध गर्नेलाई कोरोनाका कारण देखाएर छोड्ने भन्ने निणर्य गरेको रहेछ। सोही अनुसार उनीहरुले उमेर घटनाएर कता के गरेर छुटेछन्। नक्कली जन्म दर्ता पेस गरेछन्।

यो खबर सुनेपछि एकदमै दुःख लाग्यो। त्यसपछि मैलै जिल्लाका एसपी सा’पदेखि सीडियोसम्मलाई कल गरेर जानकारी लिएँ। उहाँहरूले फेरि भित्र हाल्छौं भन्ने आश्वासन दिनुभएको थियो। अस्ती १४ गते सुनुवाई थियो, भित्र हाल्छौं भन्ने आश्वासन पाएको थिएँ, हालिएनछ, बाहिरै डुलेर हिँडिरहेका छन् रे।

उनीहरूलाई कडा कारवाही हुन जरूरी छ। मेरो छोरीपछि ५ जनामाथि एसिड आक्रमण भयो। यदि त्यहिँ बेला कडा कारवाही भएको भए सायद आज ती ५ जना माथि यस्तो अपराध दोहोरिने थिएन।

जवसम्म कडा कानुन बन्दैन तबसम्म यो अपराधीको मनोबल उही रहनेछ। एसीड आक्रमणकारीलाई कडा सजाय जब मिल्छ, तब म सन्तोस सास फेर्नेछु।

अपराधीलाई जन्म कैद हुनुपर्छ, छोरीको उपचार राज्यले गर्नुपर्छ।

‘म अनुहारको दाग छोपेर लुकाउन चाहन्नँ, यसले हाम्रो सपनालाई छेक्न सक्दैन’ (भिडियो)

आफ्नो दाग म कहिल्यै लुकाउँदिनँ। यो दागले मेरो सपना छोप्दैन भन्ने मेरो विश्वास छ। यो दाग देखाएर मलाई केही फरक पर्दैन। म सबै पीडितलाई भन्छु– तपाईंहरु पनि आफ्ना दाग नलुकाउनस्, यो दागले हाम्रो सपनालाई छेक्दैन।

प्रकाशित मिति: : 2020-09-10 11:09:00

प्रतिकृया दिनुहोस्