एथलेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट एवं दुर्व्यवहार गर्ने दुईजना रिहा भएका छन्।
जिल्ला अदालत झापाले मेचीनगर १३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठलाई जनही ३ लाख धरौटीमा शुक्रबार छाडेको हाे।
अवकाशप्राप्त नेपाली सेना श्रेष्ठ र उनकी पत्नीले जातीय दुर्व्यवहार गर्दै चन्द्रकलालाई गत भदौ ८ गते निर्घात कुटपिट गरेका थिए ।
चन्द्रकलाका श्रीमान सुमन खातीलाई समेत कुटपिट गरिएको थियो । कुटपिटका कारण ७ महिनाकी गर्भवती लाम्गादे अस्पताल भर्ना समेत भएकी थिइन्।
प्रहरीका अनुसार श्रेष्ठले छिमेकी राजन दर्जीलाई जातीय गालीगलौज गर्दै कुटपिट गरेपछि उनी गुहार माग्दै चन्द्रकलाको पसलमा आएका थिए । उनले जातीय दुर्व्यवहार किन गर्नुभएको भनेपछि श्रेष्ठ दम्पती उनीहरुमाथि जाइलागेका थिए ।
ताप्लेजुङकी लाम्गादे नेपाल प्रहरीकी एथलेटिक्स खेलाडी हुन् । गर्भवती उनलाई कोरोना संक्रमणका कारण विभागले इलाका प्रहरी कार्यालय धुलाबारीमा हाजिर गर्ने गरी काज विदामा राखेको थियो ।
उनीहरू चारआलीमै सामान्य होटल सञ्चालन गरेर बसेका थिए । कुटपिटका कारण घाइते उनको बिर्तामोडको बिएन्डसी अस्पतालमा गरिएकाे थियाे।
घटना लगत्तै जातीय विभेदसहित कुटपिट गरेको भन्दै चन्द्रकलाका श्रीमान सुमनले श्रेष्ठ दम्पत्तीविरुद्ध गत भदौ ९ मा इलाका प्रहरी कार्यालय धुलाबारीमा जोहरी दिएका थिए ।