कोरोना नियन्त्रणमा सरकारको भूमिका खोज्ने हामीले नागरिक जिम्मेवारी वहन गरेका छौं त ?

देखापढी

काठमाडौं

अञ्जना पोखरेल

नेपालमा कोरोना सङ्क्रमितको संख्या ५५ हजार ३२९ पुगिसकेको छ। यो संख्या ३५ हजार ५२९ हुँदा मलाई कोरोना संक्रमण भएको थियो। अहिले मेरो रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ। यस अर्थमा म स्वस्थ भइसकेको छु। पुनः सङ्क्रमित हुनबाट जोगिन मैले सतर्कता अपनाउनुको विकल्प छैन। र, ‘बी प्लस’ रगत समूहका कोरोना सङ्क्रमितको उपचारमा सघाउन (प्लाज्मा दिन) म ईच्छुक छु। 

हाम्रो देशमा यति धेरै सङ्क्रमित भैसके, तैपनि कोरोनाबारे समाजमा शंका-उपशंका, भ्रमका साथै हेलचेक्र्याइँ गरी बेवास्ता गर्ने अवस्था खासै फेरिएको छैन। हेलचेक्र्याइँको पारो झनै बढ्दो देख्छु। हाम्रो यो बानीले गर्दा भोलि कोरोना झन् भयावह रुपमा नफैलिएला भन्न सकिन्न। अत: मेरो यो कोरोना अनुभवले केही हदसम्म भए पनि समाजमा सहयोग पुर्‍याउला भनेर मनमा लागेका कुरा सेयर गर्न चाहेकी हुँ।

तीज लगत्तै  जिउ दुःख्यो। केही दिन सिटामोल खाएँ, तर दुखाई खासै कम भएन। ‘कतै कोरोना त लागेको होइन ?’- मनमा थोरबहुत शंका लागेकै थियो। केही दिनपछि सामान्य भन्दा केही फरक  रुघा लागे जस्तो भयो। भोलिपल्ट घाँटी दुःख्यो। अब भने कोरोना सङ्क्रमण भएकै हो भन्नेमा म करिब-करिब ढुक्क नै भएँ। त्यसपछि म श्रीमान् तथा घरमा बस्ने सबैसित अलिक अलग्गै रहन थालेँ। भोलिपल्ट साँस फेर्न पनि  अप्ठेरो महशुस भयो। अब भने मैले कोरोना परीक्षण नगरी हुन्न भनेर अस्पताल पुगे।

प्रकाशित मिति: : 2020-09-14 20:16:30

प्रतिकृया दिनुहोस्