खुल्यो सौराहा

आयोमेल

चितवन

वसन्त ढुङ्गाना 

सुमन घिमिरे क्षेत्रिय होटल संघ सौराहाका पूर्वअध्यक्ष हुन्। यतिखेर उनले छ महिनादेखि बन्द रहेको होटल सरसफाई गरेर चिटिक्क पारेका छन्। सौराहाको गैडा चोकमै रहेको उनको होटलका केही कोठा बुकिङ समेत भएका छन्।  

‘सरकारले असोज एक गतेदेखि होटल खोल्न पाउने भनेपछि हामीले खोलेका छौँ। मेरोमा बिहीबारदेखि नै होटल बुकिङ भएका छन्।,’ घिमिरेले भने, ‘विगत जस्तो पर्यटक नआएपनि तत्काल केही आन्तरिक पर्यटक आउनुहुन्छ।’  

सौराहामा होटल खुल्न थालेपछि विस्तारै पर्यटक आउने उनले बताए।  

उनको ३४ कोठा सहितको होटल रहेको छ। त्यसमा २५ जना कर्मचारीले काम गर्दथे। तर, अहिले ५ जना कर्मचारीले मात्र खटाएका छन्। पर्यटकको संख्या बढ्दै गएपछि अन्य कर्मचारीलाई बोलाउने तयारी घिमिरेको छ। 

लामो समयसम्मको लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल विस्तारै सञ्चालनमा आउन थालेका छन्। सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले होटल सञ्चालनमा ल्याएका हुन्। 

क्षेत्रीय होटल सघ सौराहाका अध्यक्ष दीपक भट्टराई सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बिहिबारबाट केही होटल सञ्चालनमा आएको बताउँछन्। 

‘छ महिनादेखि होटलमा लागेका ताला खुल्न थालेका छन् ।,’ भट्टराईले भने, ‘सौराहाका १ सय २० होटल मध्ये आधा होटल खुलिसेका छन्। अन्य खोल्ने तयारीमा छन्।’ 

अहिले  कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापनमा लागेको उनले बताए। 

प्रकाशित मिति: : 2020-09-19 19:14:25

प्रतिकृया दिनुहोस्