डा केसीलाई उनको इच्छाविपरीत जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सारियो

माग पूरा गर्नुको साटो, अपहरण गरेर ल्याउने? म कुनै उपचार लिनेवाला छैन : डा केसी

चिकित्सा शिक्षा सुधारका विभिन्न माग गर्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्य स्थिति विग्रदै गएपछि उनको ईच्छाविपरीत जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ।

उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि प्रशासनले उनलाई प्रतिष्ठानमा सारेको हो। डा केसीका सहयोगी महेन्द्र कार्कीका अनुसार डा केसी आफ्ना माग पूरा नहुन्जेल अनसनरतस्थलमा नै रहने अडान लिए पनि प्रशासनले शनिबार राति प्रतिष्ठान सारेको हो। 

अस्पतालबाट मान्छे आएर चेक गरेपछि उनको अवस्था थप बिग्रेको थियो। तर पनि डा केसी अस्पताल जान नमानेपछि  उनको इच्छाविपरीत नै प्रतिष्ठानमा सारिएको कार्कीले जानकारी दिए।

शनिबार डा केसी अनसनको छैटौं दिन पूरा भएको छ। डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका छन्। तर डा केसी आफू अन्य अस्पताल नजाने बताउँदै आएका छन्।  

शनिबार बिहान भएको स्वास्थ्य परीक्षणमा डा.केसीलाई २४सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्नु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सुझाव दिएका थिए। साँझ उनलाई प्रतिष्ठानमा सारिएको हो। 

यसैबिच डाक्टर केसीले माग पूरा गर्नुको साटो, अपहरण गरेर ल्याउने भन्दै आफू कुनै पनि उपचार  नलिने बताएका छन्।

डा. केसीले सरकारसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल दिनुपर्ने माग राखेका छन्।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण प्रक्रिया अघि बढाउन पनि डा. केसीले मा राखेका छन्।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायत डा.केसीका माग  छन्।

प्रकाशित मिति: : 2020-09-20 00:44:00

प्रतिकृया दिनुहोस्