कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यता टुंगिएको छैन, उम्मेदवारी घोषणाको प्रतिस्पर्धा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको क्रीयाशील सदस्यता र समायोजन टुंग्याउन छाडेर शीर्ष नेताहरू बीचमा नै महाधिवेशन प्रयोजनका लागि उम्मेदवारी घोषणाको प्रतिस्पर्धा सुरु भएको छ।

असारसम्म समायोजन तथा साउन मसान्तसम्म क्रीयाशील सदस्यता टुंग्याउने कार्यतालिकालाई वेवास्ता गरेर कांग्रेसका शीर्ष नेताहरूबीच उम्मेदवारी घोषणा गर्ने प्रतिस्पर्धा देखिएको छ। ‘‘असारमा समायोजन सक्ने, साउनमा क्रीयाशील सदस्यता टुंग्याउने कार्यतालिका थियो। तर, अहिलेसम्म ५६ जिल्लाको मात्रै क्रीयाशील सदस्यता केन्द्रबाट जिल्ला पठाइएको छ,’’ कांग्रेस नेता रामहरी खतिवडाले भने, ‘‘२६ जिल्लाको अझै पठाउन बाँकी छ, त्यसमाथि त्यो नामावलीमा दाबी बिरोध गर्नेतिर पार्टीलाई नलगेर उम्मेदवार घोषणाको प्रतिस्पर्धा चलेको छ।’’  

उनका अनुसार महाधिवेशनका लागि कार्यतालिका अनुसार अघि बढ्न छाडेर उम्मेदवारी घोषणा गर्नेतिर लाग्दा निर्धारित मितिमा महाधिवेशन हुनेमा आशंका बढेको छ। तर, आगामी महाधिवेशनको सभापतिका लागि शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, पुर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापालगायतले सभापतिको उम्मेदवार हुने जनाईरहेका छन्।

शीर्ष नेताहरूले उम्मेदवारी घोषणा गरे पनि क्रीयाशील सदस्यता, वडा, पालिका, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशका अधिवेसन कार्यतालिका अनुसार हुन गाह्रो हुने भन्दै विशेष महाधिवेशनमा जानेसम्मको विकल्पमा छलफल हुनु पर्ने प्रस्ताव वरिष्ठ नेता पौडेलले गरिसकेका छन्। ‘‘विभिन्न कारणले १४ औं महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति बनाउने, कसलाई मान्ने भन्ने प्रश्न उठछ। त्यो अवस्था आउन दिनुहुन्न,’’ पौडेलको प्रस्ताव छ, ‘‘बरु १३ औं महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम गरेर भए पनि विशेष महाधिवेशन समयमा नै गरौं।’’ 

सुदूरपश्चिमका कांग्रेस नेता तथा कार्यकर्तासँग जुम मिटिङ गर्दै पौडेलले यसबारे केन्द्रीय समिति बैठकमा प्रस्तावसमेत गर्ने जानकारी दिएका थिए। महाधिवेशन केन्द्रित कांग्रेसको केन्द्रीय समिति बैठक असोज १९ गते आब्हान गरिएको छ। 

बिजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच पार्टी एकता भए पनि प्रदेश-२ का ८ जिल्लामा अझै समायोजन हुन सकेको छैन। सुनिल थापाको नेतृत्वमा आएका राप्रपाका नेता-कार्यकर्ताको टिम व्यवस्थापन पनि अझै हुन सकेको छैन। 

प्रकाशित मिति: : 2020-09-22 15:47:44

प्रतिकृया दिनुहोस्