बिचौलियाको जालोमा ६३ भूपू सैनिक, बेलायत पुर्‍याईदिने भन्दै ६ करोड ठगी {भिडियो रिपोर्ट}

१७ वर्षसम्म जागिर खाएर अवकाश जीवन विताइरहेका नेपाली सेनाका ६३ पूर्व अधिकारीहरू बेलायत जाने प्रलोभनमा परि ठगीएका छन्। 

संयुक्त अरव इमिरेट्स् (दुबई) हुँदै बेलायत पुर्‍याईदिने भन्दै विभिन्न जिल्लाका ६३ जनालाई श्रृजना अधिकारी, श्याम थापा र सन्तोस थापाले ६ करोड बढी रकम असुलेर ठगी गरेका हुन्। 

श्रृजना अधिकारीलगायतका ३ जनाको गिरोहले प्रतिब्यक्ति १० लाखका दरले रकम उठाएर पीडितलाई दुबई लगेर महिनौं अलपत्र पारेका थिए। 

करिब १ वर्षअघि श्रृजनाले काठमाडौंको महाराजगन्जस्थित एक कोठालाई कार्यालय बताउँदै पीडितबाट ६ करोड भन्दा बढी रकम उठाएकी थिइन्।

नेपालमा श्रृजना र सन्तोस थापाले ६३ जना पूर्व सेनाबाट रकम उठाएर सेटिङमार्फत दुबई पठाउने गरेका थिए। दुबईमा एक महिनाको शैन्य तालिम दिने र त्यहाँबाट बेलायत उडाउने भन्दै उनीहरुले विमानस्थलमासमेत सेटिङ गरेर पीडितलाई पठाएका हुन्। 

दुबईमा रहेका श्याम थापाले उनीहरूलाई विमानस्थलबाट रिसिभ गरेर लगेका थिए।

त्यहाँ उनीहरूलाई ३ महिनासम्म विभिन्न ठाउँमा राखे पनि कुनै तालिम या अन्य काम केही दिएनन्।

‘६३ जनालाई ३ महिनासम्म दुबईका विभिन्न ठाउँमा राखिएको थियो। उनीहरुलाई न तालिम दिइयो नत कुनै अन्य रोजगारीमानै लगाइयो’, पीडित एक पूर्व नेपाली सेनाले भने।

३ महिनासम्म पनि कुनै तालिममा सहभागी नगराउनुका साथै बेलायतसमेत नपठाएपछि उनीहरू आफू ठगिएको महशुस गर्न थाले। त्यसपछि श्याम थापालाई नेपाल फर्काउनका लागि भने पनि थापाले विभिन्न बहाना बनाएर टार्ने गरेका एक पीडित पूर्व सेनाले बताए। 

उनका अनुसार थापाले आफूहरूलाई भुलाउन विभिन्न बाहाना बनाएको र नमानेपछि दुबईमा गुण्डा लगाएर कुटपिटसमेत गरेका थिए। 

ठगिएका ६३ जनामध्ये अहिले ४२ जना नेपाल फर्किएका छन्। उनीहरू सबै जना आफ्नै खर्चमा नेपाल फर्किएका हुन्। 

नेपाल आएपछि पीडितले श्रृजनालाई भेटेर सबै विवरण सुनाउँदै पैसा फिर्ताका लागि आग्रह गरे।  तर श्रृजनाले उनीहरूलाई विभिन्न मितिको चेक दिए पनि त्यसमा पैसा नभएको पीडितले बताएका छन्। 

नेपाल फर्किएका पीडितहरु अहिले न्यायको खोजी र फसेको रकम उठाउन मावन अधिकारको लागि जनमञ्चको शरणमा पुगेका छन्। 

बेलायत जाने आशमा आफूहरूको १७ वर्षसम्मको जागिरबाट आएको रकम फसेको भन्दै पीडितहरू अहिले निकै चिन्तीत छन्। 

१७ वर्षसम्म सेनामा जागिर खाएर आएको रकम खर्च गरेर बेलायत जाने आसमा पैसा बुझाएका उनीहरू बिचमै अलपत्र पर्नुबाहेक अरू केही पाएनन्।

हेर्नुहोस् भिडियो रिपोर्टः

प्रकाशित मिति: : 2020-09-28 18:42:00

प्रतिकृया दिनुहोस्