राखेपमा ११ बोर्ड सदस्य नियुक्त, विवादित छविका लाखेलाई राेकेन ऐनले

दीप सुवेदी

काठमाडाैं

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कासहित ९ जनालाई सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा नियुक्त छ। 

सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको दुई महिना भन्दा लामो समयपछि ९ जना सदस्य नियुक्त भएका हुन्। असार १८ गते लागु भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार उनीहरुको नियुक्त भएको हो।  

यसअघि ६ जनालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मनोनित गरेका थिए। 

सोमबार बसेको मैत्रीपरिषद् बैठकले खड्का (प्रदेश १) सहित मानदेव हजारा (प्रदेश २), राजेश गुरुङ(गण्डकी), पुरेन्द्र लाखे (बागमती), मोहम्मद शेख (प्रदेश २), नन्दा बस्याल (कर्णाली), एकेन्द्र कुँवर (सुदूरपश्चिम), चन्द्रा बन्दना राई (प्रदेश १) र सुमित्रा चौधरी (लुम्बिनी) लाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ। गुरुङ र कुँवर यसअघि पनि राखेप सदस्यमा रहेका थिए।

राखेपका दर्ता राष्ट्रिय संघहरुको सिफारिसमा मनोननित गर्न पाउने व्यवस्था अनुसार मन्त्री विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरिसकेका छन्। 

संघहरुको सिफारिसमा जम्मा ५ जना अध्यक्षले गर्न पाउने मनोनयनमा महिला कोटाबाट बाँकी २ जनाको नियुक्त गरिएको छ। 

अब राखेप ७ सदस्य कार्यकारी समितिले पनि पूर्णता पाउनेछ। जसमा अहिले ४ जना रहेका छन्। ३ जना भने बोर्डबाट चुनिनेछन्।

 साउन १२ गते सरकारले शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो।

मन्त्री विश्वकर्माले साउन १५ गते रिम रानाभाट, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ, सुबास श्रेष्ठ र गोविन्द्र भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनित गरेका थिए।

विवादित छविका लाखे पनि मनोनित

सरकारले नियुक्त गरेकामध्ये लाखे विवादित व्यक्ति हुन्। उनी सन् १९९० को एसियन च्याम्पियनसिपमा जापान गएका थिए। त्यसपछि उनी त्यतै भागे। उनी धेरै वर्ष जापान बसेर नेपाल फर्किएका हुन्।

त्यसपछि उनले कराते महासंघको नेतृत्व सम्हालेका थिए। जुन महासंघ लामो समयसम्म विवादमा रह्याे। यद्यपी युवा तथा खेलकुद मन्त्रालयले  विवाद समाधान समिति गठन गरेर दुवै महासंघलाई एक ठाँउमा ल्यायाे। उनीहरु निर्वाचन नै विकल्प रहेको भन्दै दुवै महासंघलाई सहमत भएका थिए।

पछि दुई वटा कराते महासंघ एक हुँदा उपाध्यक्ष चयन भएका थिए। लाखेले पूर्व सदस्य सचिव युवराज लामाको पालामा कराते महासंघमा विवादको आगोसम्म सल्किएका थिए। उनकै कारण दक्षिण एसियाली खेलकुदका साथै एसियाडमा दुई वटा करातेले छुट्टा–छुट्टै सहभागिता जनाएका थिए। 

त्यसअघि राष्ट्रिय मान्यता प्राप्त कराते महासंघको नेतृत्व दावा गुरुङले गरिरहेका थिए भने अन्तर्राष्ट्रिय मान्यता पाएको भनिएको महासंघको नेतृत्व लाखेले गरेका थिए। लाखेको महासंघलाई नेपाल ओलम्पिक कमिटीले समर्थन गरिरहेको थियो।

राखेप सदस्य सचिवका निकट व्यक्तिमध्येका लाखे एक हुन्। गएको मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा उनले भण्डारण शाखाको संयोजक गरेका थिए। उनी साेही हिसावले नियुक्त भएकाे राखेपाका एक अधिकारीले बताए।

उनका अनुसार असारदेखि कार्यन्वयनमा आएको राष्ट्रिय खेलकुद ऐन २०७७ ले यस्तो किसिमका विवादित व्यक्तिलाई राखेपमा आउन बन्देज गरेको छ।

‘ऐनको दफा ८ मा ‘पद रिक्त हुने अवस्था’को बुँदा नम्बर ‘ज’ मा राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा बोर्डमा राख्न नपाउने उल्लेख छ,’ उनले भने,‘ तर पावरको भएपछि उहाँले सहजै इन्ट्रि पाउनु भएको छ।’

प्रकाशित मिति: : 2020-10-09 18:41:35

प्रतिकृया दिनुहोस्