किन ट्रम्प अन्तर्वार्ता दिन मिडियाको छनोट गर्छन?

संजोग आचार्य

न्यूयाेर्क
बिएल नेपाली सेवा
बिएल नेपाली सेवा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एकहोरो खेदिरहेका मिडिया हाउसले चुनावको मुखमा आएर उनीसँग फेरि दुःखेसो गरेका छन्। 

यो दुःखेसो हो, उनीविरूद्ध लक्षित रूपमा चार वर्ष एकहोरो खेदिरहेका मिडिया हाउसको। 

हाल केही अमेरिकी मिडियाहरू ट्रम्पसँग अन्तर्वार्ता गर्न चाहन्थें। उनीहरू कोरोना पोजेटिभ भएर छिट्टै स्वास्थ्य लाभ गरेका अमेरिकी राष्ट्रपतिलाई पुनः आफ्नो क्यामरा अगाडि उभ्याउन चाहन्थें। तर, अमेरिकी राष्ट्रपतिले आफूलाई चार वर्ष लखेटिरहेका मिडियाको विकल्पको रूपमा फक्स न्युजका लागि डाक्टर मार्क सिगललाई अन्तर्वार्ता दिए। 

सिगलले केही समयअघि कोरोनाका कारण स्कुल बन्द गर्नुपर्ने डेमोक्रेट गभर्नरको विचारको आलोचना गरेका थिए। उनले देशको सबैभन्दा अग्लो संक्रमित रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीले राष्ट्रपतिको स्वास्थ्यको रेखदेख गरेको हुनाले उनीविरूद्ध आलोचना गर्नुको कुनै तुक नभएको बताएका थिए। 

पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ मा निकै आक्रामक देखिएका ट्रम्प डाक्टर सिगलसँगको अन्तर्वार्तामा पनि उस्तै रूपमा प्रकट भए। उनी अन्तर्वार्तामा आफ्ना मतदातामाझ आफ्ना केही कुरा पुर्याउन सफल भए। 

कोरोना संक्रमणका कारण केही दिनअघि जनतासँग साक्षात्कार गर्न असफल भएका राष्ट्रपति ट्रम्पले अन्तर्वार्तालाई चुनावी अभियानका रूपमा राम्रो उपयोग गरे। 

अमेरिकामा राष्ट्रपति चुनाव सुरु हुन तीन साताको समय मात्र बाँकी छ। आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको चुनाव हुँदैछ। 

राष्ट्रपति ट्रम्प अक्टुबर १५ तारिखमा आयोजना हुने दोस्रो ‘प्रेसिडेन्सियल डिबेट’ अगाडि कोरोना संक्रमित भएका थिए। उनी ९ दिनभित्र कोरोना मुक्त भएपछि पुनः डिबेटमा सहभागी हुन चाहन्थे।

 तर, डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले प्रत्यक्ष बहसमा उनीसँग बस्न अस्विकार गरेपछि डिबेट रद्द भएको थियो। वाइडेनले भर्चुअल डिबेटका लागि ट्रम्पसँग आग्रह गरेका थिए। तर, उनले मानेनन्। 

रिपब्लिकन पार्टीका सल्लाहकार एलेक्स कोनेन्टका अनुसार चुनावअघि ट्रम्प यस्ता १० वटा बहसमा भाग लिन चाहन्छन्। उनी भावनात्मक रूपमा अमेरिकी जनतासँग जोडिन चाहिरहेका छन्। 

बहसलाई केही मानिस चुनावी रणनीतिको रूपमा प्रयोग गर्न चाहन्छन्। तर, ट्रम्प फाइदा–घाटाभन्दा पनि आफ्नो चार वर्षे कार्यकालको काम र भावी योजनाको विषयमा आफ्ना जनतालाई बुझाउन चाहन्छन्। 

सल्लाहकार कोनेन्ट भन्छन्, ‘२०१६ को चुनाव अगाडि पनि यस्तै भएको थियो। केही मानिस महिला भएका कारण हिलारी क्लिन्टनलाई फाइदा पुगोस् भन्ने चाहन्थे। 

हलिउडको समर्थन पनि उनीसँग थियो। तर, हाम्रा राष्ट्रपति जनताको मुद्धासँग जोडिए। अहिले पनि उहाँ जनताको मुद्धामा जोडिन चाहनुहुन्छ।’

केही आलोचकको विचारमा ट्रम्प मिडियालाई कसरी प्रयोग गर्नुपर्छ, त्यसको राम्रो जानकार हुन्। उनी आफ्नो पक्ष राख्न सक्ने मिडियालाई अन्तर्वार्ता दिएर जनतासँग पुग्न खप्पीस छन्। 

आलोचकहरूको भनाईमा यो बुझन् गाह्रो छैन–शनिबार मिस्टर लिमबाङलाई राष्ट्रपति ट्रम्पले दिएको रेडियो अन्तर्वार्ताले अमेरिकी जनमानसमा कस्तो छाप छोड्यो भनेर। 

लिम्बाङसँगको अन्तर्वार्तामा व्हाइट हाउसमा बस्न योग्य कुनै उम्मेदवार छ भने त्यो ट्रम्प हो भन्ने सन्देश जनमानसमा गएको थियो। ट्रम्पले अन्तर्वार्तामा आफ्ना प्रतिस्पर्धी वाइडेन, हिलारी क्लिन्टन र एफबीआईका पूर्व निर्देशक जेम्स कोमेको कुराको खण्डन गरेका थिए। 

उनले नोबेल शान्ति पुरस्कारका लागि आफूलाई मनोनित नगरेकोमा दुःखेसो गरेका थिए। उनले सबै मिडियालाई अन्तर्वार्ता नदिनुको कारण प्रायोजित रूपमा मिडियाले गर्ने प्रश्नलाई आधार बनाएका थिए। 

उनले भनेका थिए– ‘मैले जति नै राम्रो काम गरे पनि मुलधारका मिडियाले राम्रो कभरेज गर्दैनन्।’ उनले आफ्नो कोरोना संक्रमणको रिपोर्टको विषयमा उत्तर दिँदै भनेका छन्– ‘मलाई थाहा छ, मेरोे स्वास्थ्य अवस्था कस्तो छ।’ 

उनले यो उत्तर हेनिटीको कार्यक्रममा पनि दिएका थिए। जसलाई ५० लाख मानिसले हेरेका थिए। उनले प्रतिपक्षी दलले आफ्नो स्वास्थ्यलाई लिएर भ्रम फैलाउन खोजेको आरोप लगाए। 

केही समयअघि वाइडेनले एउटा कार्यक्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी सैनिकलाई होच्याउने कार्य गरेको भन्दै आलोचना गरेका थिए। 

तर, ट्रम्पले यसको प्रतिउत्तर दिँदै आफूले यस्तो कहिल्यै नगरेको स्पष्ट पार्न खोजे। अमेरिकामा सैनिकहरूको मत ट्रम्पसँग धेरै छ। 

ट्रम्पले आफ्नो कार्यकालमा फक्स न्युजलाई सयभन्दा बढी अन्तर्वार्ता दिइसकेका छन्। यसको तुलनामा अन्य मिडियाले निकै कम अन्तर्वार्ता पाएका छन्। 

प्रकाशित मिति: : 2020-10-13 08:48:00

प्रतिकृया दिनुहोस्