झन् आक्रामक बन्दै ट्रम्प

बिएल संवाददाता

न्यूयाेर्क

कोरोना संक्रमणबाट मुक्त भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानलाई तिब्र बनाएका छन्। सोमबार राती मात्र उनी फ्लोरिडा पुगेका थिए। जहाँ उनले हजारौं आफ्ना पार्टीका समर्थकको अगाडि र्‍यालीको आयोजना गरे।

उनले लगातार ६५ मिनेट बोले। जसमा विपक्षी डेमोक्रेटिक उम्मेदवार जो वाइडेनलाई लक्षित गर्दै भने, ‘म आफूलाई पहिलेभन्दा बढी शक्तिशाली महसुस गरिरहेको छु।’

दोस्रो कार्यकालका लागि सबै दाउँपेच अपनाइरहेका अमेरिकी राष्ट्रपति ९ दिनभित्र कोरोना संक्रमण मुक्त भएका थिए। उनको कोरोनालाई लिएर डेमोक्रेटिक पार्टी निकै आक्रामक देखिएको छ। डेमोक्रेटिक पार्टीले ट्रम्पलाई कोरोना भएको सर्टिफिकेट देखाउन माग गरिरहेको छ। 

तर, राष्ट्रपतिका डाक्टर सिन कोनले व्हाइट हाउसकी संचार सचिव केली मेक्नेलीमार्फत मिडियामा सबै समाचार सार्वजनिक गरिरहेका छन्। उनले हालै राष्ट्रपतिले लगातार दुई दिन कोरोना परीक्षण गरेको बताएका छन्। जसमा दुबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। 

केलीका अनुसार राष्ट्रपतिको स्वास्थ्यलाई लिएर आम अमेरिकी चिन्तित छन्। उनीहरू राष्ट्रपतिको स्वास्थ्य अवस्थाको विषयमा जानकारी राख्न चाहन्छन्। 

दुई साताअघि संक्रमित भेटिएका ट्रम्प स्वास फेर्न अफ्ठेरो भएपछि मेरिल्याण्डको वाल्टर रिड अस्पताल भर्ना भएका थिए। उनी तीन दिन अस्पतालमा बसें। डाक्टरको एउटा टिमले उनको स्वास्थ्य परीक्षण गरेपछि शनिबारदेखि चुनावी अभियानमा जान स्विकृति प्रदान गरेको थियो। 

तर, उनले सोमबारदेखि नै चुनावी प्रचार सुरु गरे। फ्लोरिडाको सेनफोर्डमा भएको र्‍यालीमा उनलाई सुन्न हजारौंको संख्यामा मानिस उपस्थित थिए।

चिकित्सकले दिएको समय सीमाभन्दा पहिले नै चुनावी अभियानमा उत्रिएका राष्ट्रपति ट्रम्प चुनावलाई लिएर कति संवेदनशील छन् भन्ने यसले देखाउँछ। उनी र्‍यालीमार्फत आफू स्वास्थ्य भएको सन्देश अमेरिकी जनतालाई दिन चाहन्छन्। अमेरिकामा कोरोनाकै कारण २ लाख १५ हजार भन्दा बढी मानिसको निधन भइसकेको छ। 

कोरोनाबाट तंग्रिएपछि दिएको भाषणमा ट्रम्पले धेरै पल्ट वाइडेनको मजाक उडाए। उनले कोरोनाको भ्याक्सिन छिटो आओस् भन्नेमा वाइडेन र डेमोक्र्याटहरू नरहेको आरोप समेत लगाए। 

ट्रम्प पहिलेदेखि मास्क विरोधीको रूपमा चिनिन्छन्। उनको र्‍याली हुँदा सयौं मानिस मास्क नलगाई घुमिरहेको देखिन्थे। 

जेहोस्, सेनफोर्डको भाषणमा ट्रम्प पुरानै लयमा देखिए। कोरोनाका कारण अमेरिकामा विकसित वातावरणको विषयमा उनले खासै कुरा गर्न चाहेनन्। उनले आतंकवादकै राप अलापे। 

उनले भाषणमा आफू राष्ट्रपति नियुक्त भएपछि अमेरिकालाई तारो बनाइरहेका थुप्रै अन्तर्राष्ट्रिय आतंकवादीलाई मारेको स्मरण गराउन खाजे। 

उनले इरानको विषयमा कडा कुरा गरें। उनले थुप्रै मिडियाको आलोचना गरे। भने, ‘धेरै जसो मिडियाको कुरा झुटो र बनावटी छ।’

उनले शनिबार दिएको बयानलाई पुनः दोहर्‍याए। भने, ‘मलाई नोबेल पुरस्कारबाट यस कारण मनोनित गरिएन, किनभने मिडियाले झुटो कुरा फैलाए। सन् २००९ मा बाराक ओबामालाई तुरुन्त मनोनित गरिएको थियो।’

प्रकाशित मिति: : 2020-10-13 22:02:00

प्रतिकृया दिनुहोस्