अभिनेता सुशान्तको न्यायका लागि अनशनमा बसेका एक नेपाली युवा

अभिनेता सुशान्तको न्यायका लागि अनशनमा बसेका एक नेपाली युवा
अभिनेता सुशान्तको न्यायका लागि अनशनमा बसेका एक नेपाली युवा

युवाहरू माझ निकै लोकप्रिय भारतीय अभिनेता सुशान्त सिंह राजपूत १४ जुन २०२० मा मुम्बईस्थित जर्गन पार्क नजिकै रहेको ‘माउन्ट ब्ल्याङ्क’ अपार्टमेन्टमा मृत अवस्थामा फेला परें।  

३४ वर्षीय यी युवा स्टारको निधन भएको एक घण्टा नबित्दै मुम्बई प्रहरीले यसलाई आत्महत्या घोषणा ग¥यो। अझ, ‘पोस्टमर्टम’ को रिपोर्ट बाहिर नआएको अवस्थामा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुख ‘डिप्रेसन’का कारण सुशान्तले आत्महत्या गरेको बयान दिनपछि परेनन्। 

हिन्दी फिल्म जगतका ठूला–ठूला हस्तीले सुशान्तलाई ‘डिप्रेसन’ को कारण आत्महत्या गरेको बताइरहेको बेला एक नेपाली, जसले जोड्दार रूपमा आवाज उठाए– सुशान्त सिंह राजपूतको आत्महत्या नभई उनको हत्या भएको हो। 

उनको यो भनाईले हिन्दी फिल्म जगतमा मात्र होइन, विश्वमै तरंग ल्यायो। उनले सुशान्तको हत्या भएको कुरा भारतीय मिडियामा बताएपछि अहिले यो मुद्धाले अर्के रूप लिएको छ। 

उनले सुशान्तको कुकुर ‘फज’ को घाँटीमा लगाउने बेल्टले बाँधेर उनको हत्या गरिएको दावी गरेका थिए। यसअघि सुशान्तले झुन्डिएर आत्महत्या गरेको दावी मुम्बई प्रहरीले गरेको थियो। 

घरमा काम गर्ने कर्मचारीले सुशान्तले कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेको दावी गरेका थिए। तर, उनी झुन्डिएको तस्बिर न प्रहरीसँग छ, न घरमा काम गर्ने कर्मचारीसँगै। अझ, उनको आँखा वरिपरि देखिएको कालो दाग, गर्दनमा भेटिएको दुई वटा प्वाँल र घुँडा भाँचिएको फोटोले शंका गर्ने अनगिन्ति ठाउँ उब्जियो। तर, यति हुँदाहुँदै मुम्बई प्रहरीले कसरी उनको हत्या नभई आत्महत्या भएको हो भनेर दावी गर्न सक्यो? 

यो प्रश्न उठाएका थिए, अंकित आचार्यले। अंकितको पूख्र्यौली घर रोल्पा हो। उनको परिवार बुटवलमा बसाइँ सरेको थियो। यहीबाट कामको खोजीमा एक दशकअघि अंकित भारतको आर्थिकनगरी मुम्बई पुगेका थिए। 

अहिले उनी भारतभित्र मात्र होइन, विदेशमा रहेका सुशान्त सिंह राजपूतको लाखौं प्रसंसकको आशाको केन्द्र बनेका छन्। सुशान्तको मुद्धामा कोही पनि दह्रोसँग उभिन नसकिरहेको बेला उनले हिम्मत देखाएका थिए। 

अंकितले दुई वर्ष सुशान्तको घरमा बसेर सहयोगीको काम गरेका थिए। सन् २०१९ मा रिलिज भएको ‘केदारनाथ’ फिल्मको सुटिङको समयमा उनी सुशान्तसँगै उत्तराखण्डको केदारनाथ क्षेत्रमा सहयोगीको भूमिकामा कार्यरत थिए। 

उनी सुशान्तसँग छोटो समयमै घुलमिल भएका थिए। उनी सुशान्त सुत्ने कोठाकै तल भूईंमा ओछ्यान लगाएर सुत्ने गर्थे। सुशान्तलाई बिहान उठाउनेदेखि उनको दिनभरिको तालिका राख्ने सबै काममा उनी खटिएका हुन्थें। 

केदारनाथको सुटिङ समाप्त भएपछि पञ्जाबमा एउटा साथीको बुवा बिरामी हुँदा उनी सुशान्तसँग छुट्टिमागेर दुई महिनाका लागि गएका थिए। तर, पुनः मुम्बई फर्किदा सुशान्तको  जीवनमा रिया चक्रवर्तीको ‘इन्ट्री’ भइसकेको थियो। 

रियाकै दबाबले उनलाई कामबाट निकालिएको थियो। उनले काम गरेको दुई महिनाको तलब पाएका थिएनन। पछि सुशान्त र रिया युरोप भ्रमणबाट फर्किएपछि उनी एकपल्ट हिसाब–किताब गर्न सुशान्तको घर गएका थिए। त्यतिबेला नै उनलाई शंका लागेको थियो, रियाको आगमनपछि सुशान्तमा निकै परिवर्तन आइसकेको छ। पहिले हाँस्ने–बोल्ने मान्छे ३–४ महिनाभित्र त्यति नबोलेको देखेर उनलाई शंका लागेको थियो। 

अहिले अंकित राजधानी दिल्लीको जन्तर–मन्तरमा सुशान्तको हत्याको न्यायका लागि अनसन बसेका छन्। भारतका राष्ट्रपिता महात्मा गान्धीको १ सय ५१ औं जन्म–जयन्तीको दिनदेखि दिल्लीमा अनसन बस्न मुम्बईबाट हिँडेका अंकितलाई केही समयका लागि प्रहरीले पक्राउ गरेको थियो। तर, पछि उनलाई छोडियो। अहिले उनी अनसन बसेर सुशान्तको मुद्धामा न्याय मागिरहेका छन्। 

बिएल नेपाली सेवाका लागि अन्तर्वार्ता दिनेक्रममा उनले भने, ‘सुशान्त दाईको परिवारले न्याय नपाउँदासम्म म आन्दोलनमा हुनेछु।’ 

अंकितले यसअघि सैफ अली खान र शाहरुख खानको घरमा पनि काम गरेका थिए। एउटा साथीको सहयोगले सुशान्तसँग गाँसिन पुगेका अंकित उनको स्वभावबाट निकै प्रभावित थिए। ‘उहाँ जस्तो सहयोगी मान्छे मैले निकै कम भेटेको छु। घरमा काम गर्नेलाई पनि आफ्नो परिवारको सदस्य मान्नु हुन्थ्यो,’ अंकितले भने, ‘एक पल्ट मेरो जन्मदिनमा मलाई आइप्याड उपहार दिनुभएको थियो।’

उनले सुशान्तको निधन भएको दिनदेखि नै आफूलाई शंका लागेको बताए। ‘मैले जुन प्रकारले सुशान्त दाईलाई चिनेको छु, उहाँले आत्महत्या गर्ने कुरा असम्भव हो,’ उनले भने, ‘न झुन्डिएको तस्वीर कोहीसँग छ। खुट्टा टुटेको अवस्थामा देखिएको छ। फेरि ओछ्यानबाट फाँसी लगाउँदा पनि पंखासम्मको उचाई निकै कम देखिन्छ। घाँटीमा बेल्टले थिचेको जस्तो मार्क बसेको छ।’

उनले सुशान्तको लागि न्याय माग्दा आफ्नो जागिर गएको पनि बताए। तर पनि आफूले हिम्मत नहारेको उनको भनाई छ। उनी भन्छन्, ‘उस्तै परे म भोक हडतालमा बस्न तयार छु।’

अंकितले नयाँ दिल्लीको जन्तर–मन्तरबाट सुरु गरेको अनसनको प्रभाव अहिले पुरै भारतमा पर्न थालेको छ। भारतको अन्य राज्यमा पनि सुशान्तको न्यायका लागि मानिसहरू कोरोना संक्रमणको डरलाई बिर्सिएर बाटोमा निस्किन थालेका छन्।  

प्रकाशित मिति: : 2020-10-15 08:00:00

प्रतिकृया दिनुहोस्