अमेरिकी चुनावमा कोरोना प्रभावः तीन साताअघि नै १ करोड ३० लाख मत खस्यो

संजोग आचार्य

न्यूयाेर्क

पहिले त्यति वास्तै नगरेका अमेरिकीहरू देशमा फैलिरहेको कोरोना महामारीबाट अहिले त्रसिद देखिन थालेका छन्। 

यसको उदाहरण आसन्न अमेरिकी राष्ट्रपति निर्वाचनबाट पुष्टी भएको छ। अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ। तर, योभन्दा अगाडि नै १ करोड ३० लाखभन्दा बढी मतदाताले मतदान गरिसकेका छन्। 

फ्लोरिडा विश्वविद्यालयका राजनीतिक पण्डित माइकल म्याकडोनल्डले हालै विभिन्न राज्यको तथ्याक संकलन गरेका थिए। उनले यी तथ्याकको अध्ययन गर्दै सार्वजनिक गरेको रिपोर्टमा बुधबारसम्म १ करोड ३० लाख १५ हजार ६ सय ७५ मतदाताले भोट हालिसकेका छन्।

यसमा ६० लाख मतदाताले मेलमार्फत भोट गरेको माइकल म्याकडोनल्डको भनाई छ। बाँकीले केन्द्रिय बुथमार्फत भोट हालेका छन्। 

अमेरिकामा नेपालमा जस्तै भोट हाल्ने दिन मात्र मतदान गर्ने चलन छैन। मतदाताको सुविधाका लागि अगाडिदेखि नै भोट हाल्ने प्रक्रिया सुरु भइसकेको हुन्छ। सन् २०१६ को तुलनामा यसपालि चुनाव अगाडि थुप्रै मतदाताले आफ्नो मत जाहेर गरिसकेको म्याकडोनल्डको भनाई छ। 

सन् २०१६ मा चुनावभन्दा तीन साताअघि १४ लाख भोट खसेको थियो। तर, यसपालि १० गुणा बढीले भोट खसेको छ। मिनिसोटा, साउथ डकोटा, वर्माट, भर्जिनिया र विस्किन्सन जस्ता ५ राज्यमा गत चुनावभन्दा २० प्रतिसत बढी मत खसिसकेको छ।
 
नोभेम्बर ३ को अन्तिम भोटिङको दिनअगाडि यति ठूलो संख्यामा मतदान हुनुलाई विश्लेषकहरूले कोरोनाको विवशता भनेका छन्। अमेरिकामा अहिले मानिसहरू सुरक्षित भएर मतदान गर्न चाहिरहेका छन्। 

अमेरिकी मतदातालाई चुनावको अन्तिम मितिभन्दा दुई महिनाअगाडि भोट हाल्ने सुविधा हुन्छ। तर, यसका लागि मतदाताले मेल तथा केन्द्रिय बुथमार्फत मतदान गर्नुपर्ने हुन्छ। 

समान्यतया बुढाबुढी, सैन्य कर्मचारी र विदेशमा बसोबास गर्ने अमेरिकीलाई मेलबाट भोटिङ गर्ने सुविधा प्रदान गरिएको हो। तर, कोरोनाका कारण यसपालि प्रायः सबै राज्यले पुरानो नियममा केही लचकता देखाएका छन्। 

यसपालि ३४ राज्यका मतदाताले अगाडि नै भोट हाल्न कुनै कारण देखाउनु पर्ने छैन। यसैको फाइदा सबै मतदाताहरू उठाइरहेका छन्। अन्य सात राज्यमा भने मेलबाट भोटिङ गर्नुको कारण खुलाउनुपर्ने नियम बाँधिएको छ। 

यसमा पनि ९ वटा राज्य तथा राजधानी वासिङटन डिसीको प्रशासनले मतदातालाई ‘मेल ब्यालेट’ उपलब्ध गराएको छ। यसको अर्थ यी राज्यका मतदाताले मेलबाट भोटिङ गर्न कुनै आवेदन दिनुपर्ने छैन। 

एक अध्ययनका अनुसार मेलबाट खसेको ६० लाख मतमध्ये ३४ लाख डेमोक्र्याट उम्मेदवार जो वाइडेनको खातामा जाँदैछ। तर, बुथबाट हुने मतदानमा ट्रम्पको उपस्थिति बलियो रहेको यहाँका पत्रपत्रिकाले पनि स्विकार गरिसकेका छन्। 

प्रकाशित मिति: : 2020-10-15 12:21:00

प्रतिकृया दिनुहोस्