वाइडेनलाई ट्रम्पको जवाफः अमेरिकामा कसैलाई बस्नु छ भने देशको कानुन नमान्ने छुट छैन

संजोग आचार्य

न्यूयाेर्क

सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावको ऐतिहासिक ‘प्रेसिडेन्सियल डिबेट’ समाप्त भएको छ। 

अमेरिकाको १ सय ४४ वर्ष लामो इतिहास बोकेको ‘प्रेसिडेन्सियल डिबेट’अन्तर्गत नेपाली समयअनुसार शुक्रबार साँझ सम्पन्न बहस कार्यक्रममा जलवायु परिवर्तन, जातीय विभेद, कोरोना नियन्त्रण, अमेरिकामा बढ्दो अप्रवासी समस्या, स्वास्थ्य बिमा जस्ता विषय वस्तुमा राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो वाइडेनबीच बृहत बहस भएको थियो। 

दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका रिपब्लिकन ट्रम्प र पहिलो पल्ट राष्ट्रपतिको उम्मेदवार बनेका वाइडेनबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की परेको थियो। त्यसैले यसपालि दुई जनाबीचको विवादमा कसैले बीचैमा नटोकुन भनेर एकजनाको माइक बन्द गरिएको थियो। 

वाइडेनले तेस्रो तथा अन्तिम डिबेटमा ट्रम्पलाई पर्यावरणको मुद्धामा घेर्न खोजेका थिए। जसको उत्तर दिँदै ट्रम्पले विश्वमा जलवायु परिवर्तनको अवस्था खराब हुनुमा भारत, चीन र रुस जिम्मेवार भएको बताएका छन्। 

उनले अन्तिम डिबेटमा आफूलाई पर्यावरण प्रेमीको रूपमा ब्याख्या गर्न भुलेनन्। भने, ‘मेरो कार्यकालमा खर्बो रुख रोप्ने कार्यक्रम सञ्चालन भइरहेको छ।’ उनले पर्यावरणलाई गफको रूपमा मात्र नअथ्र्याएर आफूले साचो अर्थमा प्रदुर्षणरहित हावा र पानी दिन चाहेको बताए। ‘हामीले विगत ३५ वर्षयता सबैभन्दा थोरै कार्बन उत्सर्जन गरेका छौं।’

उनले पूर्व राष्ट्रपति बाराक ओबामाको समयमा कार्बन उत्सर्जनको मानक बढेको आरोप लगाए। ‘हामी किन पेरिस सम्झौंताबाट बाहिरियौं भने हामीले यसका लागि ट्रिलियन डलर खर्चिसकेका छौं तर हामीमाथि पक्षपात भयो,’ ट्रम्पले डिबेटमा दावी गरे। 

मुद्धाः कोरोना भाइरस

वाइडेनः एक जना यस्तो व्यक्ति जसको कारण लाखौं अमेरिकी नागरिकले ज्यान गुमाउनु पर्‍यो। उनी महामारीको सबैभन्दा ठूलो जिम्मेवार हुन्। उनलाई राष्ट्रपति पदमा बसिरहन अधिकार छैन। ट्रम्पसँग कोरोनाको महामारीसँग लड्ने कुनै योजना नै देखिएन। म तपाईहरू सबैलाई विश्वस्त पार्न चाहन्छु– यदी सत्तामा आए भने सबैका लागि मास्क अनिवार्य गर्नेछु। यस बाहेक परीक्षण पनि बढाइने छ। 

ट्रम्पः तपाई कुनै जानकारी बिना बेकारमा म माथि खनिनुभएको छ। हामीले सक्दो प्रयास गर्‍यौं। अमेरिका मात्र होइन, विश्वका सबै देश यो महामारीबाट घेरिएका छन्। केही सातामा हामी भ्याक्सिन ल्याउँदै छौं। महामारीलाई बहाना बनाएर हामी अमेरिकालाई ठप्प पार्न सक्दैनौं। तपाई जस्तै बेसमेन्टमा हामीलाई लुक्नु छैन। 

वाइडेनको आरोपः मास्क लगाउने नियमलाई कडाईंका साथ पालना गर्न लगाएको भए, १० हजार बढी मानिसको ज्यान बचाउन सकिन्थ्यो। मसँग कोरोनाबाट लड्ने उपाय छ। ट्रम्प कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फौसीको कुरा मान्दैनन्। के उनी फौसीभन्दा ठूलो विशेषज्ञ हुन्? 

ट्रम्पको उत्तरः यो कस्तो डर हो– जसका कारण हामीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई बन्द गर्‍यौं। यस्तो भाइरस जसलाई चीनले विश्वभरि फैलायो। पहिलेको तुलनामा अहिले मृत्युको प्रतिशत कम भएको छ। लकडाउनको निर्णय 
राज्यले गर्छ, केन्द्रको यसमा हात हुदैन। भ्याक्सिन अहिले तयारी अवस्थामा छ। 

वर्षको अन्त्यसम्म बजारमा उपलब्ध हुनेछ। म संक्रमित हुँदा यसको विषयमा धेरै कुरा बुझने मौका पाए। अनुभव पनि गरे। म सबैको कुरा सुन्छु। तर, मलाई लाग्छ, डा. फौसी डेमोक्रेट हुन्। छोड्दिउँ अहिले, यसले केही अर्थ राख्दैन।

मुद्धाः चुनावमा विदेशी चलखेल

वाइडेनः एउटा कुरामा ढुक्क हुनुहोस्। यदी हामी फेरि सत्तामा फर्कियौं भने विदेशी शक्तिले चुनावमा कुनै किसिमको चलखेल गर्न सक्दैनन्। हामीलाई थाहा छ, यो चुनावमा रुस, इरान र चीनले गोटी खेल्ने प्रयास गरिरहेका छन्। म विजयी भए भने यसको जवाफ दिनेछु। रुस चाहँदैन, मैले चुनाव जितेको। मैले आफ्नो जीवनमा अहिलेसम्म कुनै विदेशी कम्पनीबाट एक पैसा खाएको छैन। ट्रम्पले कर छली गरेका छन्। उनको चिनको बैकमा पनि खाता छ।

ट्रम्पः मेरो कार्यकालमा रुसविरूद्ध भएको कडाईं इतिहासमा कसैले गर्न सकेका थिएनन्। वाइडेनले विदेशी कम्पनीबाट पैसा लिएका छन्। मेरो करको विषयमा अहिले नै म किनपनि जानकारी दिन सक्दिन भने यसको अडिट भइरहेको छ। यति सामान्य कुरा त तपाईहरूलाई थाहा हुनुपर्ने हो। फेरि कानुनले के भन्छ। तपाईको परिवारले विदेशमा धेरै पैसा कमाएको छ। जतिबेला वाइडेन उपराष्ट्रपति थिए, उनको भाई र छोरा पैसा छापिरहेका थिए। तपाईको परिवार ‘भ्याक्युम क्लिनर’ जस्तै हो। 

मुद्धाः स्वास्थ्य

वाइडेनः ट्रम्पले ओबामा केयर हेल्थ बिललाई कार्यान्वयन गर्न अस्विकार गरें। उनले अहिलेसम्म यो भन्न सकेका छैनन्, यसको सट्टा कुन कानुन लिएर उनी आउँदैछन्। तपाईसँग कुनै योजना नै छैन। हामी १० वर्षमा ७० अर्ब डलर खर्च गर्न चाहन्छौं। 

ट्रम्पः मैले ओबामा केयर हेल्थ बिल कार्यान्वयन गर्न कहिल्यै अस्विकार गरेको छैन। तपाई जस्तै हामी पनि यो कानुनमार्फत जनतालाई फाइदा दिन चाहन्छौं। मेरो प्रतिज्ञा पनि हो, यो भन्दा राम्रो कानुन लिएर हामी आउने छौं। यसको प्रिमियम ओबामा केयरभन्दा कम हुनेछ। यदी सर्वोच्च अदालतले यसलाई अस्विकार गर्छ भने अर्को कानुन लिएर आउनुपर्ने हुन्छ। यस बाहेक म धेरै कुरा गर्न सक्दिन। औषधि सस्तो हुनेछ। 

मुद्धाः रिलिफ बिल

वाइडेनः हामीले पहिले सोच्नुपर्ने छ, रिलिफ बिल कहाँ पुग्यो? संसदले ३ दशमलव ४ ट्रिलियन डलरको बिललाई गत मेमा स्विकृति प्रदान गरेको थियो। तपाईले यसलाई काटेर २ दशमलव ४ ट्रिलियन डलरमा झार्नु भयो। तपाईले यो निर्णय गर्दा आफ्नो सहयोगीसँग सल्लाह पनि गर्नु भएन। तपाईंका लागि त्यो राज्य, जहाँ डमोक्रेटको सरकार छ, ती राज्यको कुनै काम थिएन। तपाईले देशलाई डेमोक्रेट र रिपब्लिकनमा विभाजित गर्नुभयो। 

ट्रम्पः स्पीकर न्यान्सी पेलोसी रिलिफ प्याकेजलाई स्विकृति दिन ढिलो गरिरहेकी छिन्। मैले त मे महिनामै स्विकृति दिइसकेको थिए। उनी अझैं विचार गरेर बसिरहेकी छिन्। पेलोसीलाई सम्भवत ३ नोभेम्बरको प्रतिक्षा छ। उनलाई लाग्छ– तपाईले जित्नु हुन्छ, यसपछि कानुनलाई मान्यता दिनुपर्ला।

मुद्धाः इमिग्रेसन

वाइडेनः तपाईको सरकारले इमिग्रेसनको नाममा मानवअधिकारको हनन गर्‍यो। मेक्सिको सीमामा पाँच सय केटाकेटीलाई प्रहरी नियन्त्रणमा लिनुभयो। 

उनीहरूलाई अविभावकबाट बञ्चित गर्ने काम भयो। तपाई केटाकेटीलाई अपराधी भनिरहनु भएको छ। मैले जिते भने सय दिनभित्र इमिग्रेसनको नयाँ कानुन बनाउने छु। केटाकेटीलाई जेलमा राखिने छैन। ओबामाको कार्यकालमा पनि हामीले यस्तै गरेका थियौं। 

ट्रम्पः मेक्सिको सीमामा केटाकेटीहरूको प्रयोग ड्रग्स कारोबारका लागि भइरहेको थियो। कडाईं गर्नुपर्ने बाध्यता थियो। हामीले त्यसै गर्‍यौं। यदी कसैलाई अमेरिका प्रवेश गर्नुछ भने कानुनी बाटो पहिल्याउनु पर्नेछ। 

हामी प्रयासरत छौं, यदी कोही केटाकेटी आफ्नो परिवारबाट टाढा छन् भने उनीहरूलाई छिट्टै भेटाउने छौं। तर, म स्पस्ट पार्न चाहन्छु–यस कुरामा देशको सुरक्षा र भविस्यसँग कुनै किसिमको सम्झौंता हुनेछैन। यस कुरामा राजनीति हुनु हुदैन। 

मुद्धाः जातीवाद

वाइडेनः ट्रम्प जातीवादका प्रतिक हुन्। उनी सधै आगोमा घ्यु थप्ने काम गर्छन। अमेरिकामा उनी जस्तो जातीवादी राष्ट्रपति आजसम्म जन्मिएको थिएन। पछिल्लो डिबेटमा पनि उनले ‘व्हाइट सुप्रिमेसी’ अर्थात गोराहरूको वर्चश्वको कुरा उठाएका थिए। उनले जातीवादी संगठनको विरोध अहिलेसम्म गरेका छैनन। उनी यस्ता संगठनको समर्थक हुन्। 

अहिले जति नै धनी कालाजातीका मानिस किन नहुन्, आफ्नो बच्चाहरूलाई ‘हुडी सर्ट’ लगाएर बाटोमा ननिस्किन दवाव दिन्छन्। टाउको छोप्ने हुड भएको सर्ट लगाएको खण्डमा प्रहरीले पक्राउ गर्छ भन्ने मान्यता स्थापित हुन थालेको छ। 

ट्रम्पः अब्राहम लिंकनलाई छोडेर अन्य राष्ट्रपतिको कुरा गर्ने हो भने, कालाजातिका लागि म जतिको काम कसैले गरेको छैन। यसैले म दावी गर्न सक्छु, म जतिको कम जातीवाद सोच राख्ने मान्छे बिरलै होलान। तपाई र ओबामाले त कालाजातिलाई न्याय दिलाउने कुरामा गफ मात्र चुट्नु भयो। 

तपाईहरूले कसरी बिर्सनु भयो, सन् १९९० मा कालाजातिविरूद्ध ‘क्राइम बिल’ तपाईहरूले ने ल्याउनु भएको थियो। उनीहरूलाई ड्रग्सको झुटो मुद्धामा फसाउनु भयो। आज म सबैका लागि बराबरीको सिद्धान्तमा काम गरिरहेको छु। यसैले सबैले मलाई माया गर्छन। 

मुद्धाः जलवायु परिवर्तन

वाइडेनः जलवायु परिवर्तन एउटा ठूलो मुद्धा हो। ट्रम्प यसलाई ठट्टाको रूपमा लिन्छन्। यो पुरै मानवजातिका लागि खतराको विषय हो। मसँग यसको सम्पूर्ण योजना छ। विशेषज्ञसँग कुराकानी गरेको छु। यसमार्फत हामी रोजगारी पनि सिर्जना गर्न सक्छौं। हामी आयल एनर्जीको सट्टा रिन्युवल एनर्जीमा ध्यान केन्द्रित गर्न सक्छौं। 

ट्रम्पः पर्यावरणको कुरा गर्दा म प्रदुर्षणरहित हावा र शुद्ध पानी उपलब्ध गराउन चाहन्छु। हामीले धेरै नियम बनाएका छौं। जहाँसम्म सफा हावाको कुरा छ, म वाइडेनभन्दा बढी जानकार छु, यो विषयमा। हामी कहाँ कार्बन उत्सर्जन सबैभन्दा कम छ। भारत, चीन र रुसलाई हेरौं त, उनीहरूको हावा प्रदुर्षित छ। 

प्रकाशित मिति: : 2020-10-23 22:03:00

प्रतिकृया दिनुहोस्