मास्क लगाएर ट्रम्पले गरे मतदान, चुनावअघि ५ करोड मत खसेको दावी

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावभन्दा अगाडि नै मतदान गरेका छन्। उनले शनिबार फ्लोरिडामा लाइब्रेरीको एउटा मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। ट्रम्प फ्लोरिडा निवासी हुन्। 

अमेरिकी अखबारहरूले जनाएअनुसार उनले मतदान गरेपछि मिडियाहरूलाई प्रतिक्रिया दिने क्रममा भने, ‘मैले ट्रम्प नाम गरेको एउटा व्यक्तिलाई भोट गरे।’

उनले मतदान गर्ने तरिकाको विषयमा पनि चर्चा गरेका छन्। भने, ‘यो निकै सुरक्षित व्यवस्था हो। यसमा छलकपटको सम्भावना हुदैन। सबै राम्रो भइरहेको छ, कडा र नियम अनुसार सबै कुरा भइरहेको छ।’

ट्रम्पले आफ्नो न्युज कभर गर्न दौडिरहेका पत्रकारहरूलाई भने, ‘आजको दिन तपाईंहरू सबैका लागि थकाउने दिन हुनसक्छ। हामीहरू तपाईंसँग निकै मिहिनेत गर्न लागिरहेका छौं।’ ट्रम्प चुनाव प्रचारको अन्तिम चरणमा आफ्नो प्रतिद्धन्द्धी जो वाइडेनविरूद्ध लगातार ठूलो र्‍याली गर्ने अभियानमा छन्। नर्थ क्यारोलिना, ओहियो, विस्कान्सिनमा उनको चुनावी प्रचार हुँदैछ। 

कोरोना महामारीका कारण नोभेम्बर ३ मा हुने चुनाव अगाडि नै पाँच करोडको हाराहारीमा मतदान भइसकेको अखबारहरूले बताएका छन्। शनिबार मतदान गर्दा राष्ट्रपति ट्रम्प मास्कमा देखिएका थिए।

प्रकाशित मिति: : 2020-10-25 07:47:00

प्रतिकृया दिनुहोस्