अधिकारको नाममा किन दशैँको विरोध?

नवीन रायमाझी

न्यूयाेर्क

हरेक वर्ष आउने दशैँ यो वर्ष पनि आयो। त्यसमा कुनै आश्चर्य भएन। तर यो दशैँले सबैलाई अर्कै किसिमको रमाइलो र उत्साह दिन्छ, त्यो भने मुख्य कुरा हो। 

दशैँको बिभिन्न खाले धार्मिक तथा समाजशास्त्रीय पक्ष छन् र त्यसमा निकै लामो समयदेखि बहस हुँदै आएको छ। पंक्तिकारको विचारमा अरुलाई असुविधा नहुने गरि रमाइलो गर्न सबैले पाउनु पर्छ र त्यो एउटा मौलिक हक पनि हो। 

तर बिगत केही समयदेखि आफ्नो पक्ष मात्र उचित र अरुले गर्ने सबै अनुचित हो भन्ने जस्ता जडसुत्रवादी विचार ब्यक्त गर्दा समाजमा एक किसिमको सम्वादहीनता बढ्दै गइरहेको छ। त्यो सर्वथा अनुचित छ।

दशैँमा दुर्गा पुजामा गरिने पशु बलिको विरोधमा बिगत केही वर्षदेखि नारा, जुलुस र बिभिन्न खाले प्रचारबाजी हुने गरेका छन्।  

आफूलाई अधिकारकर्मी भन्न रुचाउनेहरु कुन शक्ति केन्द्रको आडमा यस्तो विरोध गरिरहेका छन्, त्यो उनीहरुलाई नै थाहा होला। तर यो अधिकारकर्मी को स्वघोषित पद उनीहरुलाई कसले दियो र अरुको धार्मिक भावनामा ठेस पुर्‍याउने अधिकार कुन निकायबाट प्राप्त गरे, त्यो पनि जानकारी पाए हुन्थ्यो। 

आफूलाई मन नपरे पनि अरुले परम्परालाई दिएको निरन्तरतालाई अस्विकार गर्ने असभ्य मानसिकता भएका स्व घोषित अधिकारकर्मीहरु कुनै पनि हालतमा सामाजिक रुपले आदरयोग्य हुँदैनन्। कमसेकम, एउटा सामान्य शिष्टाचारसम्म हुनु पर्थ्यो, दु:खको कुरा त्यो पनि रहेन छ। पशुबलिबाट प्राप्त मासु प्रसादको रुपमा ग्रहण गर्ने हो, यदी पशुबलि नै नदिने हो भने दुर्गा पुजा पनि नगरे हुन्छ भन्न सक्नु पर्‍याे।

बिदेशी गैर–सरकारी संस्थाको आर्थिक सहयोगमा हिन्दु धर्म र त्योसँग जोडिएको आस्थालाई समुल रुपमा नष्ट गरेर सांस्कृतिक रुपमा अपाङ्ग बनाएपछि त्यो समाजलाई कठपुतली बनाउन सकिने र त्यस्तो प्रयोग धेरै वर्षदेखि हुँदै आएको छ। 

त्यसमा पनि गरिव देशका गरिब जनताहरुको बीच यस्तो प्रयोग गर्न सजिलो हुने कुरामा दुई मत छैन।  बर्षौदेखि चल्दै आएको सनातनी परम्परालाई अबदेखि यस्तो गर्नु वा उस्तो नगर्नु भनेर आदेश दिने अधिकार कसैलाई हुनुहुँदैन। 

परिवर्तनको नाममा कुनै पनि कुराको जग नै हल्लाउने कुरा उचित होइन। समय अनुसार सबै कुरा परिवर्तन हुन्छ र त्यसलाई सबैले स्वीकार पनि गर्नुपर्छ। तर त्यो परिवर्तन आधारभूत कुरामा हुँदैन। यदी त्यस्तै परिबर्तन खोजेको भए गाइको गोबरले लिप्नु पर्ने स्थानमा अर्को कुनै जनावरको दिशा प्रयोग गर्न सकिन्छ?

त्यस्तै टिका लगाउँदा प्रयोग हुने चामल (अक्षता)लाई लिएर पनि बिभिन्न तर्क, बितर्क र कुतर्क हुने गरेको छ। दशैँमा अक्षताको रुपमा प्रयोग गरिने चामलले धेरै मान्छेको पेट भरिने उनीहरुको तर्क छ। 

यो कुरालाई ठिक मान्ने हो भने वर्ष दिनभरी घर घरमा चामलबाट बनाउने जाँडमा त्यस्ता स्वघोषित अधिकारकर्मीहरुको आँखा किन नपुगेको हो पंक्तिकार अच्चमभीत छ। यो एउटा धार्मिक परम्परा हो र यसका आफ्नै मुल्य र मान्यताहरु छन्। यस्तो गहन र ब्यापक बिषयको बारेमा गहिरो अनुसन्धान नगरेर हचुवाको भरमा जे मन लाग्यो त्यो बोल्नु वा लेख्नु राम्रो काम होइन।

अब गरौँ व्यक्तिगत कुरा, मलाई भने यो दशैँले बच्चैदेखि खासै छोएन। स्कुलमा हुने लामो बिदा, चङ्गा उडाउन पाइने र  नयाँ लुगा लगाउन पाइने आकर्षण त् थियो। तर मासुप्रति त्यति रुचि नभएको कारण अब केही दिनसम्म भान्छामा अरु तरकारी पाक्दैन भन्ने तनाव पनि हुन्थ्यो। 

टिका लगाउने र आशिर्वाद दिने वा लिने कुरामा पनि मलाई कुनै विश्वास लाग्दैन। तर टिका लगाए छि प्राप्त हुने दक्षिणाको भने केटाकेटी अवस्थामा निकै ठूलो आकर्षण हुन्थ्यो। अर्को शब्दमा भन्नुपर्दा मेरो लागि दशैँलाई रु एक सङ्कलन अभियान नै भन्दा पनि हुन्छ। 

कुनै वर्ष टिका नलगाए पनि मलाई खासै मतलब लाग्दैन तर धेरैलाई दशैँमा निधार खाली हुनु एउटा पिडा दायक क्षण हो। केही वर्ष पहिले म मासाचुसेटको लरेन्स भन्ने स्थानमा रहँदा सँगै काम गर्ने एउटा सहकर्मी दशैँमा टिका लगाउन नपाएर धुरुधुरु रोएको थियो। सायद उसलाई नरमाइलो लागेको हुनुपर्छ। 

उसलाई सान्त्वना दिन मैले बजारबाट रातो कलम किनेर ल्याएर उसको निधारमा रातो टिका बनाइदिएको थिए। किनकी त्यहाँ अबिर किन्ने सुविधा थिएन। म उसको भावनाको सम्मान गर्छु तर म भने टिका लगाउन पाइन भनेर धुरुधुरु रुन्न होला।

त्यस्तै बच्चा अवस्थामा नयाँ लुगाको छुट्टै आकर्षण हुन्थ्यो, केही अपबादलाई छोडेर। मेरो जस्तो निम्न मध्यमबर्गीय परिवारमा नयाँ लुगा लगाउने भनेकै दशैंमा हो। 

इन्द्रचोकको भित्रपट्टि रहेको वटु मुबहालस्थित हनुमान साहुको पसलबाट एक थान कपडा किनेर ल्याएपछि आवश्यक सबै लुगा त्यो कपडाबाटै बनाउने चलन थियो। जब सम्पूर्ण कपडाबाट लुगा सिलाउने कार्य समाप्त हुन्थ्यो, त्यसपछि मात्र थाहा पाइन्थ्यो, आमाको चोलो र आफ्नो कमिज उस्तै कपडाबाट सिलाएको रहेछ भन्ने कुरा। 

अंग्रेजी भाषामा ‘वान सिन अ ब्लु मुन’ भनेको जस्तो पाइण्ट सिलाउन न्यु रोडको टेलर्सहरुमा पनि जाने गरिन्थ्यो। त्यो बेला पाइण्टमा जिपरको बदला टांक राख्यो भने सिलाई खर्च दुई रुपियाँ कम हुन्थ्यो। त्यो दुई रुपैयाँको बचत गर्ने कारणले जिपर भएको पाइण्ट लगाउन पाइएन। 

जिपर भएको पाइन्ट लगाउँदा कत्रो सम्मान प्राप्त हुन्छ र साथीहरुको बीच हुने ‘हाइर्‍यारकी’ मा आफ्नो स्थान उच्च हुन्छ भन्ने कुरा अभिभावकहरुले कहिले पनि बुझेनन् र हामीले पनि उहाँहरुलाई बुझाउन सकेनौं।

मैले नबुझेको अर्को कुरा, बिदेशमा बसेका नेपालीहरुले दशैँको टिका लगाएर बिभिन्न खाले तस्बीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्छन। पंक्तिकारलाई त्यो एपिसोड सँग कुनै गुनासो र आपत्ति छैन। 

अमेरिकाको हकमा नेपालमा टिका लगाउने जुन दिनको साइत हुन्छ, त्यसको भोलिपल्ट मात्र यता त्यो दिन र साइत आउँछ। कुनै बिद्द्त व्यक्तिले मलाई निकै लामो समयसम्म पेण्डिङ्गमा रहँदा उक्त साइत बित्छ कि बित्दैन भनेर बुझाइदिए हुन्थ्यो।

अन्तमा कोरोना महामारीको बीच भएको यो वर्षको दशैँलाई साबधानीपूर्वक मनाउन सबैलाई बिनम्र अनुरोध छ। 

सकेसम्म बाहिर नगएर र घरमै बसेर यो चाडको आनन्द लिनु पर्ने र टिका लगाउन जानै पर्ने भए मास्क र स्यानेटाइजर लगाएर जाने गर्दा राम्रो हुन्छ। 

यसबाट रोग सर्ने खतरा कम हुन्छ। जीवन रहे अर्को बर्ष भयरहित रुपले दशैँ मनाउन सकिन्छ भन्ने कुरालाई मनमा राखेर त्यसै अनुसार व्यवहार गर्न सकिन्छ।

अत बडादशैँ २०७७ को उपलक्ष्यमा सम्पूर्ण पाठक वर्गलाई हार्दिक तथा मङ्गलमय शुभकामना। यो दशैँ सबैको लागि शुभ रहोस्।

प्रकाशित मिति: : 2020-10-25 11:20:00
# दशैँ

ट्रेन्डिङ