मृत्युलाई नजिकबाट देखें, धेरै प्रेरणा लिएर घर फर्किएँ

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

दैनिकी सावधानीपूर्वक चलिरहेको थियो असोज तेस्रो साता सुरुमा अचानक श्रीमानलाई जिउ दुख्न थाल्यो । गर्मी बेस्सरी भयो, खलखली पसिनाले जिउ नुहाएजस्तो भयो । जिउ सिरिङ सिरिङ भयो, हनहनी ज्वरो आयो। ज्वरो नाप्दा १०१-१०२ देखियो करङ हाड जोर्नी बेस्सरी दुख्यो । कहिले टाउको दुखेजस्तो, कहिले पेट दुखेजस्तो अनुभव भैरह्यो ।

दिनमा तीन चार पटक पखाला चल्यो, सिटामोल खाँदा पनि ज्वरो कम भएन । त्यही लक्षण दोश्रो दिनदेखि मलाई पनि सुरु भयो । म सँगै भदैनी पनि ज्वरोले निस्लोट थिई, जिउ जता छोयो उतै दुखेजस्तो अनुभव भैरह्यो । कोरोनाको चौतर्फी कोलाहल थियो, त्यसैले ज्वरो आउन थालेको चौथो दिन हामीले पनि पीसीआर जाँच गरायौं। तीन दिनपछि आएको रिपोर्टले हामीलाई पनि संक्रमणले छोएको पुष्टि गर्‍यो ।

मेरा श्रीमान र मेरी भदैनी संक्रमित हुँदा नाबालक दुई छोरालाई कुनै लक्षण थिएन । त्यसैले हामीले बच्चालाई अलग राखेर आफू भने घरमै बस्ने निर्णय गर्‍यौं । डा. रोमा बोराले सम्बन्धित डाक्टरसँग छलफल गरेर नियमित रुपमा हामीलाई सहयोग गरिरहनु भएको थियो । दिनेले त हज्जारौं सल्लाह दिनुभयो तर हामीले आफूलाई चाहिने मात्र लियौ । कोरोना संक्रमण भएको एघारौं दिनसम्म आइपुग्दा म लगभग ठिक भएको अनुभव गरिरहेकी थिएँ । बरु, श्रीमानको खोकी निरन्तर जारी थियो ।

एघारौं दिन घटस्थापनाको दिन थियो । मनले मानेन र नुहाएर घरको मन्दिरमा बत्ती बालेँ । पूजा गरेँ, जमरा राखेँ । मन एकदम हलुका भयो तर टाउको एकदम भारी भयो । टाउको दुख्न थालेपछि बेलाबेला बान्ता र डायरिया सुरु भयो र भइ नै रह्यो । टाउको दुखेपछि बान्ता हुँदा पहिला ठिक हुन्थ्यो तर त्यो दिन झन बढ्यो । पाँच बजेपछि त म ट्वाइलेट छोड्नै नसक्ने भएँ फेरि श्वासप्रश्वासमा समेत समस्या हुन थाल्यो । श्रीमान अतालिनु भएछ र प्रदेश सांसद दिदी कृष्णा केसी 'नमूना'लाई फोन गर्नुभएछ । दिदीले तुरुन्तै एम्बुलेन्स पठाउनु भएछ र मलाई नेपालगञ्जको भेरी अस्पताल भर्ना गरियो । अस्पताल पुगेर औषधि सुरु गरेको केही समयपछि मात्र मैले आफ्नो स्थितिका बारे थाहा पाएकी थिएँ । 

प्रकाशित मिति: : 2020-10-26 09:21:00
# मृत्यु

ट्रेन्डिङ