महाराष्ट्रका मुख्यमन्त्री उद्दव र कंगनाबीच शीतयुद्ध

महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरे र अभिनेत्री कंगना रनौटबीच शीतयुद्ध सुरु भएको छ। दशैंको उपलक्ष्यमा आइतबार मुम्बईमा आयोजना भएको दशहरा र्‍यालीमा ठाकरेले कंगनाको नाम नलिई उनीप्रति ब्यंग गरेका थिए। यसको जवाफ सोमबार कंगनाले दिएकी छिन्। उनले ठाकरेलाई महाराष्ट्रको मुख्यमन्त्री बन्न लायक नभएको प्रतिक्रिया दिएकी छिन्। 

उनले आफ्नो छोरोको उमेरको कर्मशील नारीलाई होच्याएको भन्दै ठाकरेप्रति कडा प्रतिक्रिया दिएकी छिन्। 

ठाकरेले दशहरा र्‍यालीमा जो व्यक्ति आफ्नो राज्यमा राम्रोसँग खान पनि सक्दैनन्, उनीहरू मुम्बईमा आएर काम गर्ने तर यही ठाउँको बदनाम गर्दै हिँडने गरेको प्रतिक्रिया दिएका थिए। 

यसको प्रतिउत्तरमा कंगनाले ठाकरेलाई लाज मान्न आग्रह गरेकी छिन्। उनले भिडियो सन्देशमा उद्दव ठाकरेले आफूलाई नुनको गुण नतिरेको भनेर गाली गरेको आरोप लगाइन्। 

उनले मुम्बईमा आफ्नो घर तोड्दा नारी सशक्तिकरणको ठेक्का लिएर बसेका कसैले पनि चुइँक्क नबोलेको आरोप लगाएकी छिन्। कंगना पछिल्लो समय बलिउडका स्टार कलाकारप्रति सबैभन्दा ठूलो आलोचकको रूपमा देखा परेकी छिन्। 

उनले मुख्यमन्त्री भएर एउटा केटीलाई सार्वजनिक समारोहमा गाली गर्नु निन्दनीय भएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘तपाईलाई लाज लाग्नुपर्ने हो, छोराको उमेरको केटीलाई नानाभाती गाली गर्दा। म सघर्षशील नारी हुँ। तपाई जस्तो भाई–भतिजावादको खराब प्रोडक्ट होइन।’

प्रकाशित मिति: : 2020-10-27 10:10:00

प्रतिकृया दिनुहोस्