किन एसियाका मान्छे क्रुर हुन्छन्?

मान्छेको पहिचान उसँग केही पनि नहुँदा उसको धैर्य र उसँग सबै कुराले परिपूर्ण हुँदा अरुप्रति उसको व्यवहारले निर्धारण गर्दछ। आर्थिक सम्पन्नतालाई मात्र सफलताको मापदण्ड मान्ने हाम्रो जस्तो समाजमा यो कुराले अझैं बढी महत्व राख्छ। 

भारतका प्रथम राष्ट्रपति प्राध्यापक राजेन्द्र प्रसादका अनुसार आजको भौतिकबादी समयमा जब पैसा वा धन सम्पत्ति बोल्न थाल्छ, त्यसको अगाडी सत्यता टिक्न नसकेर भाग्नु पर्छ। 

हाम्रो र भारतीय समाजको सामाजिक–आर्थिक मुल्य मान्यताहरु करिब करिब सबै जसो मिल्न जाने कारण हाम्रो समाजमा पनि प्राध्यापक प्रसादको बिचारले प्रमुख भूमिका खेल्ने कुरालाई नकार्न सकिँदैन।

दैनिक बोलचालको प्रसँगमा हामी सबैले अरु मान्छेको बारेमा प्रसंग चल्दा फलानो कस्तो असल वा खराब छ, फलानो निकै उदार वा लोभी छ, फलानो आफ्नो मतलव भए मात्र सम्पर्क राख्छ वा स्वार्थी छ भनेर भनिरहेका हुन्छौं।

जुन देशमा बसोबास गरेको छ उक्त देशको कानुनले निषेध गरेको कार्य बाहेक हामीले अरुलाई खराब, लोभी र स्वार्थी भनेर भन्ने मापदण्ड के हो? त्यो मैले आजसम्म बुझ्न सकेको छैन। 

पंक्तिकारको विचारमा कसैलाई खराब भनेर कुनै ब्यक्तिले होइन, त्यो स्थानको अदालतले मात्र भन्ने हो। त्यस्तै लोभी एउटा सर्तीय कुरा हो। लोभ नगर्न कुनै पनि ब्यक्तिसँग स्रोत र इच्छा अर्थात धन र मन दुवै भएको अवस्थामा मात्र सम्भव छ। 

कुनै एउटा नभएको अवस्थामा त्यो परिपूर्ति हुन कठिन हुन्छ। यसैप्रकार यो संसारमा हामी सबै स्वार्थी हुन्छौं र आफूलाई म स्वार्थी भनेर स्वीकार गर्न नसक्दा अरुलाई दोष लगाउने कार्य गर्छौं।

प्रसिद्ध समाजशास्त्री इमाइल दुर्खिमका अनुसार कुनै पनि व्यक्तिमा रहेको मानवीय भावना, संवेदनशीलता र संवेगको निर्धारण उसको समाज र परिवारको रहन–सहनले गर्दछ। 

जस्तो अमेरिकाको समाजमा हुर्किएको बच्चा र नेपालमा हुर्किएको बच्चाको सम्पूर्ण व्यक्तित्व नितान्त फरक हुन्छ। नेपाल मै पनि दुई वा दुईभन्दा बढी वातावरणमा हुर्किएको बच्चाको आचरण फरक फरक हुन्छ। 

तर हाम्रो समाज त्यति उदार नभएको कारण व्यक्तित्व परीक्षण गर्दा यी सबै व्यक्तित्वहरुलाई एउटै प्रकारले परीक्षा लिने गरिन्छ, त्यो अवस्थामा भने उप्रति अन्याय हुने गर्दछ। 

समाजशास्त्री दुर्खिमको विचारमा मानवीय व्यवहार र कुनै व्यक्तिले गर्ने कार्यलाई निर्देशन गर्ने मस्तिष्क कसैको नियन्त्रणमा हुदैन। अरुको गतिबिधिको बारेमा निकै टाढाको बिषय रह्यो, एक छिनपछि मैले के गर्छु भन्ने कुराको नियन्त्रण पनि ब्यक्ति स्वयंमा हुँदैन र हुन् सक्दैन। 

यसैले मेरो हातबाट यस्तो कार्य हुन सक्दैन भन्ने दाबीमा कुनै ठोस आधार छैन। तर आफूलाई हरेक समय नियन्त्रणमा राख्ने प्रयास भने व्यक्तिले गर्न सक्छ। यस्तो प्रकारको व्यवहार गर्दागर्दै पनि मान्छेको हातबाट विभिन्न  प्रकारको कुकर्म र अपराध हुन जान्छ। 

केही बर्ष पहिले काठमाडौंको बालाजुमा एक अस्सी वर्षीय बृद्धले आफ्नी सात वर्षीय नातिनीको बलात्कार गरेका थिए। समाजमा नैतिकवान भनेर परिचय बनाएका उक्त ब्यक्तिबाट हुन गएको यस्तो जघन्य अपराध, आफ्नो मस्तिष्क आफ्नै नियन्त्रणमा नरहने उदाहरण हो। 

उक्त घटनालाई सत–प्रतिसतमा लिन नसकिएला अर्थात सबै हजुरबुवाले आफ्नो नातिनीको बलात्कार गर्छन भन्ने अभिप्राय होइन तर यस्तो घटना दोहरिन सक्ने कुरालाई नकार्न भने सकिन्न।

युनिभर्सिटी अफ टोरन्टोबाट मानवीय व्यवहारको बिषयमामा पीएचडी गरेका जापानीमुलका क्यान्ड़ेली नागरिक योसिहिरो नोरिकानेका अनुसार युरोप र अमेरिकामा हुर्केका मान्छेभन्दा एसियामा हुर्केका मान्छेहरु बढी क्रुर र निर्दयी हुन्छन, केही अपबादलाई छोडेर।

 हाल फ्रान्सका लागी क्यानडाका आबासीय राजदुत रहेका नोरिकानेले आफ्नो अनुसन्धानको लागि एसियाका पाँच देश नेपाल, बर्मा, मङ्गोलिया, अफगानिस्तान र भियतनामलाई छनोट गरेका थिए।  

अधिकांश बौद्ध र हिन्दु धर्मालम्बी ब्यक्तिहरुको नजिकबाट अनुसन्धान गरेका नोरिकानेले युरोप र अमेरिकाको जस्तो खुल्ला समाज नहुने कारण धेरै जस्तो समय मनको कुरा मन मै दबाउनाले पनि बदलाको भावना आउने आफ्नो अनुसन्धानमा उल्लेख गरेका छन्। उक्त अनुसन्धानमा सहायकको रुपमा केही महिना काम गरेको पंक्तिकार पनि नोरिकानेको निचोडलाई स्वीकार गर्दछ।

अत: मानवीय ब्यबहार र मान्छेको स्वभाबको बारेमा यसै हो भनेर किटानी गर्न नसकिने र मान्छेको मस्तिष्कमा आउने र जाने बिचारमा कसैको पनि नियन्त्रण नहुने बिभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ। 

त्यसैले कुनै बिस्तृत कारणको जानकारी नहुँदा नहुँदै पनि कुनै अमुक मान्छेलाई फलानो असल, खराब, लोभी, उदार र स्वार्थी जस्ता उपमा दिने गर्दा उप्रति अन्याय हुन जान्छ। यसैबीच एउटा रोचक कुरा के छ भने डिप्रेसन (अबसाद)को रोगीले पनि अरुलाई फूर्ती देखाउन आफ्नो हैसियतभन्दा बढी खर्च गर्ने र महंगो उपहार दिने गर्छ, अब यसलाई के भन्ने उदार वा रोगी?

प्रकाशित मिति: : 2020-10-27 13:44:00
# क्रुर

ट्रेन्डिङ