सामान्य बन्दै वीरगञ्ज, जाडोको त्रास अझै (भिडियाेसहित)

‘वीरगञ्जमा संक्रमितको संख्या गनिनसक्नु छ। सेवा दिन नसक्दा मन रुन्छ’ कुनै बेला नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमेत रहिसकेका डा मदन उपाध्यायले भनेका शब्द हुन् यी। 

खासमा चैत ११ गते सरकारले लकडाउनको घोषण गर्ने समयसम्म यहाँ कोरोना भाइरसको संक्रमणले जर्जर बनाउँछ भन्ने सोचिएको थिइएन्।

सरकारले मुलुकभर लकडाउनसँगै भारतसँग सीमा जोडिएका नाका अनिश्चितकालका लागि बन्द गराउने निर्णयसँगै वीरगञ्जका बासिन्दा ढुक्कसाथ निदाउन थालेका थिए।

तर केही दिनपछि वीरगञ्जका बासिन्दाको त्यो ढुक्तामाथि तुषारोपात भयो। वीरगञ्जमा पनि कोरोना संक्रमित विस्तारै फेला पार्न थाले।

गत चैत २९ गते भारतबाट वीरगञ्ज छिरेका तीन भारतीय जमातीमा संक्रमण पुष्टि भयो।

त्यसपछि संक्रमितको ‘ग्राफ’ बढ्न थाल्यो। एकै महिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत ‘फ्रन्ट’ लाइनमा खटिएका सबैमा कोरोना देखिन थाल्यो।

तर सरोकारवाला व्यक्तिले भने यसको दोष केन्द्र सरकारमा थोपर्न थाले, नारायणी अस्पतालको आइसोलेसन भरिन थालेपछि। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘टेस्टिङ’  प्रोटोकलका कारणले धेरै मानिसलाई परीक्षण गरिएन।

त्यही बेला स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताललाई भिसा तथा निरोगिताका लागि ‘प्रोटोकल’मा नपर्ने मानिसको शुल्क लिएर कोभिड–१९ परीक्षण गर्न अनुमति दियो। तर पैसा हुनेले मात्रै कोरोना परीक्षण गराए। नहुने घरमै बस्न थाले।

त्यसपछि यहाँ दैनिक ठूलो संख्यामा कोरोना संक्रमित फेला पर्न थाले। त्यसैले यहाँको अवस्था भयावह र जटिल बन्दै गयो। बिस्तारै भाइरस समुदायमा फैलियो।

दिनहुँ २ सयदेखि ५ सयको हाराहरीमा कोरोना संक्रमित भटिन् थाले। त्यहाँका सञ्चारकर्मीले संक्रमितको संख्या गन्न नै छाडिदिए। 

सबैभन्दा बढी कोरोनाले ‘फ्रन्टलाइन’ खटिएकालाई आफ्नो निशानामा पार्यो। कोभिड अस्पताल बनाइएको नारायणी अस्पतालमा ५० बेडको क्लिनिक र २० बेडको आइसोलेसन सञ्चालनमा ल्याइयो। त्यस बाहेकको अन्य नियमित सेवा बन्द गरियो।

तर त्यहाँका डाक्टर, नर्स, सफाई कर्मचारीमा समेत कोरोना देखिन थाल्यो, बिस्तारै बिरामी पनि।

यहाँ रहेका अन्य अस्पतालमा पनि त्यस्तै अवस्था आयो। गण्डक अस्पतालमा पनि कोरोना संक्रमितको संख्या बिस्तारै बढ्न थाल्यो।

अब वीरगञ्जमा कोरोना भाइरस नियन्त्रण गर्न हम्मे पर्यो।। यति खेरसम्म यहाँ आवश्यक पूर्वतयारी गरिएको थिएन, आइसोलेसन सेन्टरको अभाव थियो। परीक्षण पनि पूर्ण रुपले गर्न सकिएन। तर, कोरोना संक्रमित भने बढेको बढै।

यहाँका अस्पतालमा नियमित सेवाहरु सञ्चालन गर्न गाह्रो भयो। चिकित्सका साथै बिरामीलाई पनि पीसीआर परीक्षण अनिवार्य गरियो। जसकारण आर्थिकस्थिति कमजोर भएका बिरामीले सामान्य उपचार सेवासम्म पाउन सकेनन् र अस्पताल डुलाउँदा डुलाउँदै धेरै संक्रमितको मृत्यु भयो भने कति संक्रमित अस्पतालसम्म पनि पुग्न सकेनन्।

राज्यको स्पष्ट नीति नहुँदा सीमा–नाकाबाट वीरगञ्ज भित्रिनेको संख्या थेगिनसक्नु भयो भने ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित पनि फेला पर्न थाले। 

भारतसँगको सीमा बन्द नभएकाले धेरै मानिसको आवतजावत लुकिछिपी चलिरह्यो। यहाँ एउटा बैधानिक नाका छ र अर्को चोरबाटो। बैधानिक सीमा बन्द गर्दा पनि जंगल र खेतबाट आउने क्रम रोकिएन। आवतजावत मज्जाले भइरह्यो। निषेधाज्ञा, कर्फ्र्यु जे लगाए पनि त्यति प्रभावकारी देखिएन।
 
भारतका मानिस नेपालमा आएर व्यापार गर्ने र बेलुका फेरि उतै फर्किने क्रम पनि चलिनैरह्यो। यसले गर्दा पनि आवतजावत खासै रोकिन सकेन। यि सबै टुलुटुलु हेरेर बस्न बाध्य भयो स्थानीय प्रशासन।

यता ‘होम आइसोलेसन’ मा बसेका मानिसको जानकारी स्थानीय निकायले लिन पनि सकेन। 

‘होम आइसोलेसन’ मा बस्दा बनाइएको नियम पालना हुन सकेन। त्यहाँ मापदण्ड लागू गर्न सक्ने अवस्था पनि थिएन र लागू पनि भएन। अट्याच ट्वाइलेट, बाथरुम भएका घर नहुँदा त्यहाँ संक्रमण नभएका अन्यलाई पनि कोरोनाको लक्षण देखिन थाल्यो। 

अर्को सामान ओसार्ने सवारी साधन र त्यसमा आउने मानिसबाट पनि अन्यलाई कोरोना भाइरस सर्यो। उनीहरुलाई कारोना परीक्षण अनिवार्य गर्न सकिएन भने ती सबैको चेकजाँच गर्न सम्भव नै भएन। 

उनीहरुको बसाईं समूहमा हुने भएकाले एक व्यक्तिबाट अर्कोमा सजिलै फैलियो। त्यसपछि यहाँका जनशक्तिले मात्र धान्न नसक्ने अवस्था सिर्जना भयो। किटको अभाव हुन थाल्यो। स्वाब कलेक्सन गर्न सकिएन भने ‘कन्ट्रयाक ट्रेसिङ’ को काम एकदमै फितलो हुन थाल्यो। 

प्रत्येक दिन सयौं संख्यामा संक्रमित आएपछि ट्रेसिङ गर्न पनि समय लाग्न थाल्यो। तीनै तहका सरकारको सहकार्य, समन्वय, सहजीकरण हुन सकेन। जताततै कमजोरी स्पष्ट रुपमा देखिन थाल्यो। त्यसकारण अवस्था झन् भयावह भयो।
त्यसले आइसोलेसन सेन्टरको अभाव भयो। लजिस्टिक अभाव भयो। यिनै कारणले गर्दा समस्या दिनदिनै बढ्न थाल्यो।

नारायणी अस्पतालबाट केन्द्रमा चिठी पठाउन थालियो। उता वीरगञ्ज महानगरपालिकाले पनि केन्द्रलाई चिठी पठाउन थाल्यो, जसमा लेखिएको थियो, ‘हाम्रो जनशक्तिले धान्न सकिएन। थप जनशक्ति केन्द्रबाट पठाइयोस्।’

तर केन्द्रबाट विज्ञ टोली अथवा विज्ञ स्वास्थ्यकर्मी पठाउन आनाकानी भयो। स्वास्थ्य अधिकारीहरु पनि यहाँको स्थिति बुझन आइपुगेनन्। 

त्यसपछि वीरगञ्ज महानगरपालिका जनशक्ति व्यवस्थापन, भौतिक संरचना र आवश्यक सामग्री आपूर्ति गर्न असफल देखियो। यहाँ कडा लकडाउनका साथै कर्फ्यूसम्म पनि नलगाइएको होइन्। तर, त्यो पनि असफल भयो। सर्वसाधारणले मात्र होइन कसैले पनि पालना गरेनन्। भीड बढिरह्यो भने भौतिक दूरी समेत कायम गरिएन। मास्क र स्यानिटाइजर लगाउने कुरा त परको कुरा भइहाल्यो।

यस क्षेत्रमा चैतबाट संक्रमण सुरु भएपनि जेठमा अलि सेलायो। असारमा भारतबाट आउनेमा केही संक्रमण देखियो। असारपछि लक्षणसहितको केस बढ्न थाल्यो। साउन पहिलो सातादेखि मध्य भदौसम्म कोरोनाको ‘हटस्पट’ बनेको वीरगञ्ज भदौ दोस्रो सातादेखि सुधारोन्मुख देखिएको छ।

‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र आम जनताको कारण कन्ट्रोलको अवस्थामा छौ। अहिले अस्पताल पनि खालि भएका छन्। यही तथ्याङकलाई हेरेर थप पुष्टि हुन्छ,’ डा उदय नारायण सिंह भन्छन्।

कसरी भयो घट्यो कोरोना?

कुनै बेला डाक्टर, नर्स र काम गर्ने कर्मचारीलाई नै संक्रमण देखिएपछि के हुन्छ भन्ने चिन्ता सबैमा थियो। त्यसबाट बाहिर निस्किन सोचेजति सहज पक्कै थिएन। काउन्सिलिङको धेरै आवश्यकता थियो। तर अहिले त्यस्तो अवस्था छैन।
बिस्तारै कोरोना संक्रमितको संख्या घट्न थालेको छ। कुनै बेला पीपीई नलगाइकन उपचारमा खटिने स्वास्थ्यकर्मीले पनि अहिले प्रर्याप्त सुरक्षा विधि अपनाएको देख्न सकिन्छ।

उपचारमा खटिनेहरुले सुरक्षाको विधि अपनाएको कारण पनि कोरोना संक्रमितको संख्या कम हुँदै गएको एकथरी विज्ञको भनाई छ।

तर डा सिंहले योजना नबनाइक नै लकडाउन खोलिएकाले वीरगञ्जमा कोरोनाले जरो गाडेको स्वीकार गर्छन्।

‘पहिला हामीसँग प्रर्याप्त योजना थिएन। बिना योजना लकडाउन खोलिएकाले भीडभाड बढ्दै जाँदा कोरोना फैलिएको थियो,’ उनी भन्छन्। उनी भारतसँग सीमा नाकामा कडाईं गरिएकोले पनि कोरोना संक्रमितको संख्यामा कमी आएको बताउँछन्।

सामान्य बन्दै वीरगञ्ज

कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनले खासै प्रभावकारी नदेखिएपछि जनताहरु लकडाउनको विकल्प खोज्न माग गर्दै चौतर्फी आन्दोलनमा उत्रिए।

त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा सतर्कता अपनाएर लकडाउनलाई खुकुलो बनाउने निर्णय गर्यो।

उक्त निर्णयलाई आधार मान्दै एक हप्ताअघि वीरगञ्जका बजार दुई दिनका लागि खुलेको थियो। तर, प्रशासनले दिएको निर्देशनको पालना नभएको भन्दै पुनः बजार बन्द गरियो। 

सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै वीरगञ्ज फेरि सामान्य अवस्थामा फर्किएको छ। जिल्ला प्रशासन कार्यालयले जोर–बेजोर प्रणाली अन्तर्गत नीजि सवारी साधन सञ्चालन गर्न तथा पसलहरु खोल्न अनुमति दिएको छ।

बिहानदेखि साँझसम्म पसलहरु खुल्छन्। लकडाउनको कारण घरमै थुनिएका सर्वसाधारण बिहान बेलुका बजारमा निस्किन्छन्।

व्यापारीहरु पसल खोलेरै व्यापार गर्न थालेका छन्। वीरगञ्जमा सञ्चालनमा आएका दुईवटा विशेष कोरोना अस्पतालमध्ये एउटा अस्पताल दुई दिनदेखि खाली छ। १ सय २० शय्याको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा भर्ना भएका संक्रमित निको भएर घर फर्किएका छन्। यहाँ नयाँ संक्रमित भर्ना भएका छैनन्। पछिल्लो विवरणले कोरोना संक्रमण ओरोलोतर्फ गइरहेको देखाउँछ। 

विज्ञ भन्छन्– महामारी अन्त्य भएको छैन, जाडोमा झनै बढ्न सक्छ

डा सिंह जाडो मौसममा कोरोना भाइरसको महामारी बढ्न सक्ने भएको भन्दै पूर्वतयारी गर्न आग्रह गर्छन्।

‘भाइरसहरु मौसम परिवर्तनमा धेरै सक्रिय हुन्छ। कोरोना भाइरस पनि चिसो मौसममा सक्रिय हुँदै कडा रुपमा पनि आउन सक्छ। पानी पर्यो वा चिसो भयो भने भयावह हुन्छ। त्यसैले हामी सचेत हुनुपर्छ,’ उनी भन्छन्।

जाडोयामसँगै कोरोनाबाट युवा जमात बढी संक्रमित हुने सम्भावना रहेको जनाइएको छ।

युवाहरू जाडोयाममा पाका मानिससँग नजिक सम्पर्क आउन सक्ने, जसका कारण संक्रमणको स्थिति झन जटिल तथा भयावह हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसअघि नै चेतावनी दिइसकेको छ।

‘हामी अनावश्यक भविष्यवाणी गर्न त चाहँदैनौँ’, डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक डा हान्स क्लगले भनेका छन्, ‘तर जाडोयाममा पक्कै बढी मानिस अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने सम्भावना रहेको छ।’ 

उनले मृत्युदर बृद्ध उमेरमा बढी देखिएका युवालाई नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्।  

‘यसबाट वयस्क मानिसको ज्यान जाने अवस्था छ भन्ने चाहिँ होइन’, उनले भनेका छन्, ‘तर यो टोर्नाडो जस्तै र बहु–अंग भएको रोग हो।’

यता डा सिंह पनि नेपालमा चाडबाड आएको र लकडाउन पनि खुकुलो भएका कारण कोरोना संक्रमण थप फैलन सक्ने बताउँछन्।

‘वीरगञ्जमा फेरि कोरोनाको तेस्रो लहर आउँदैन भन्न सकिँदैन। तेस्रो लहर पनि आउन सक्ने सम्भावना छ। अस्तवस्त बजार छ। सुरक्षा पनि नअपनाइएको कारण केही दिनमा फेरि पहिले जस्तो अवस्थामा नफर्किएला भन्न सकिँदैन,’ उनी भन्छन्।
उनले कोरोना भाइरसलाई सामान्य रुपमा नलिन आग्रहसमेत गरेका छन्।

‘कोरोनाले जात, धर्म र लिङ्ग भन्दैन। यो अदृश्य रोग हामीमाझ अझै कायम छ।

यो अफवाह हो भनेर नजर अन्दाज गरे फेरि फैलिन सक्छ। त्यसैले हामी नै सचेत हुनपर्छ,’ उनी भन्छन्।

उनी कोरोना भाइरसबाट जोगिन प्रर्याप्त सावधानीसमेत अपनाउन आग्रह गर्छन्। 

‘भीडभाड कम गर्ने,  भौतिक दूरी कायम गर्ने, मास्क स्यानिटाइजरको प्रयोग गर्ने र सार्वजनिक यातायातमा चढ्दा पनि सावधानी अपनाए कोरोना संक्रमणबाट बच्न सकिन्छ,’ उनी भन्छन्।

प्रकाशित मिति: : 2020-10-28 07:08:00
# कोरोना

ट्रेन्डिङ