‘महामारीका बेला हामी नर्सको भाइटिका कस्तो होला?

देखापढी

काठमाडौँ
तस्बिर : आयोमेल

रेणु त्वानाबासु 

बुटवलकी २५ वर्षीया हेमा पौडेलको यसपालि तिहार खल्लो हुनेछ। फेरि, तिहार खल्लो भन्दा ‘जुठो परेको’ वा ‘दाजुभाइ नै नभएको’ वा ‘विदेशमा होलान्’ भन्ने अर्थ लाग्न सक्छ।

उनी स्वदेशमै छिन् र उनको भाइ पनि स्वदेशमै छन्। तर, भाइटिका भने गर्न पाउँदिनन्। किनकि, उनी वर्षेनि आउने भाइटिकाभन्दा पनि बढी जिम्मेवारीको काममा खटिरहेकी छिन्। अहिले काठमाडौं टेकु अस्पतालमा कोरोना संक्रमित आइसियुका बिरामीका सेवामा जुटेकी छिन्।

‘यो वर्ष एकचोटि भाइटिका गर्न नपाएर के भो त? अर्को वर्ष पनि आउँछ नि तिहार, त्यतिबेला धुमधामसँग मनाउँला, हेमा भन्छिन्, ‘यो वर्ष भिडियो कल गरेर भाइटिका मनाउने विचार छ। अस्ति दसैं पनि भिडियो कल गरेरै टिका थापेकी थिएँ।’

सबैलाई आफ्नो घर जान मन लाग्छ तर आफ्नो खुसीमात्र नभई अहिले संसारभर फैलिरहेको कोरोना माहामारीबाट बच्न र बचाउन जरुरी भएको उनी बताउँछिन्।

देशभरि अहिले तिहारको चहलपहल छ। त्यो चहलपहल देख्दा सबैजना खुसी छन् र सबैले मनाउन पाएका छन् जस्तो उनलाई लाग्छ।

मैले अहिलेसम्म भाइटिका छुटाएकी छैन तर यो वर्ष पहिलापल्ट भाइटिका गर्न नपाउने भएँ,’ हेमा भावुक हुँदै भन्छिन्, ‘भाइलाई सम्झाएको तर जसरी भए नि मिलाएर आउनू न दिदी भन्छ। आफूलाई नि जान मन छ। अनि भाइलाई भोलिपर्सी तिमीले काम गरेपछि थाहा हुन्छ नि भनेर टाल्ने गरेको छु। फेरि भाइ कहिलेकाहीँ रिसाएर तपाईंलाई मभन्दा बढी त्यही कामको माया लाग्छ है पनि भन्छ।’

प्रकाशित मिति: : 2020-11-14 12:37:00

प्रतिकृया दिनुहोस्