नेकपा विभाजनको तानावाना कि महाधिवेशनको तयारी ?

Breaknlinks
Breaknlinks

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नयाँ–नयाँ विवाद र अराजकता बीच गुज्रिरहेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकाएक सचिवालय बैठकमा आरोप (पत्र पेश गरेपछि एउटा तरङ्ग पैदा भएको थियो। तर, कुनै कमिटीमा छलफल नभई, सहमतिको प्रयास बेगर आफू खुसी आफ्नो विचार पुस्तकमार्फत सार्वजनिक गरेपछि यसले पार्टीभित्र अर्को सुनामी ल्याएको छ।

पार्टीको महाधिवेशनको मिति तोकिएको सन्दर्भमा आफ्ना विचारलाई कार्यकर्ता सामू पुर्याएर जनमत बटुल्ने मनसाय हो भने, पार्टीका ‘कार्यकारी’ अध्यक्ष प्रचण्ड वा उहाँको समूहले महाधिवेशनको वैचारिक तयारी शुरु गरेको बुझ्नुपर्ने हुन्छ।

पछिल्लो समय सत्तारुढ नेकपा लगातार अनिर्णयको बन्दी बन्दै गएको छ। विगतमा स्थायी समितिको बैठक शुरु भएको एक डेढ महिनासम्म सहमतिको कुनै सुत्र फेला परेन। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि एकाएक अवरुद्ध हुनपुगेको स्थायी समितिको बैठक कसरी टुङ्गिएला भन्ने सर्वत्र अन्यौल पैदा भयो।

पार्टीमा लम्बिएको ‘डेडलक’ बाट सो पार्टीका नेता, कार्यकर्ता समर्थक र शुभेच्छुक आजित छन्। हाल पार्टीको सर्वोच्च निकाय सचिवालयमा ठ्याक्कै उस्तै उपक्रम दोहोरिएको छ। सत्तारुढ पार्टीमा देखिएको यस्तो अनपेक्षित असमझदारीले आज सबै जनताको मनमा केही गम्भिर प्रश्न उब्जाएको छ।

क) जनअपेक्षामाथि किन सत्ता स्वार्थको बुर्कुसी?

देशका सबैभन्दा ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र विलय भएर नेपालको कम्युनिस्ट आन्दोलनलाई नेपालको वस्तुगत वास्तविकतामा अगाडि बढाउन सहमत भई नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेपछि नेपाली राजनीतिले अर्कै मोड लिएको थियो ।

विभिन्न षड्यन्त्र र आशंकालाई चिरेर विघटित एमाले अध्यक्ष ओली र विघटित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पुर्याए। ओली र प्रचण्डले खेलेको एतिहासिक भुमिकाले एकताको सम्पूर्ण चरण पुरा गर्ला भन्ने व्यापक अपेक्षा थियो ।

तर तृणमुल तहसम्म एकता सम्पन्न हुन नपाउदै पार्टी विभाजनको हल्लाले राजनीतिको बजार तातेको छ। एकपछि अर्को फण्डा सिर्जना हुँदा विभाजनको हल्लालाई थप बल पुग्ने अवस्था पैदा भएको छ।

२०६२/६३ सालको जनक्रान्तिपछि विभिन्न कारणले कसैको पनि स्पष्ट बहुमत नहुदा संयुक्त सरकारको अभ्यास हुँदै आयो। स्वभाविक रूपमा त्यस्तो संसदले स्थीर सरकार दिन सक्ने कुरा थिएन ।

नेकपा पार्टीको एकताले दशकौ पछाडि देशमा एउटा पार्टीको पूर्ण बहुमतको सरकार निर्माण हुन सम्भव भयो।

तर विडम्वना नै भन्नुपर्छ, वर्तमान सरकार आफ्ना अजेण्डा पूर्ण रूपमा कार्यान्वयन गर्न सक्ने अवस्थामा भएर पनि आफैंभित्रको शक्ति संघर्षको कारणले क्षमता गुमाउदै गएका छन्।

यो सरकार आन्तरिक कारणले बाहेक यो सरकार अरु कारणले तलमाथि हुदैन तर पार्टीमा यही अवस्था रहिरहेमा सरकारको अगाडिको बाटो कसरी तयार होला अनुमान लगाउन कठिन छ। जनअपेक्षाको भारी बोकेर अगाडि बढिरहेको सरकारलाई बीचैमा काँडेतार लगाएर ती तमाम अपेक्षामाथि बुर्कुसी मारिने पो हो कि भन्ने त्रासदी पैदा भएको छ।

ख) पार्टीको विचार निर्माणमा उदाशीनता किन?

नेपालको कम्युनिस्ट आन्दोलन शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अगाडि बढ्ने कि सशस्त्र विद्रोहको माध्यमबाट अगाडि बढ्ने भन्नेमा ठूलो विवाद चल्दै आएको थियो। सम्पन्न पार्टी एकताले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोलाई स्वीकार गरेको छ। मोहन वैद्य र विप्लवको अत्यन्त सानो समुहले तत्काल यो बाटो नस्विकारे पनि करिब सत् प्रतिशत बाम जनमत शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो नै ठिक बाटो हो भन्ने निष्कर्षमा पुगेको अवस्था छ।

नेपाल कम्युनिस्ट पार्टीको समाजवाद पुग्ने बाटो शान्तिपूर्ण प्रतिस्पर्धामार्फत भएपछि पार्टीको सांगठनिक स्वरुप पनि प्रतिस्पर्धामा आधारित हुने पक्का भएको छ। विगतमा अभ्यास गरिएका राम्रा कुरालाई झन् समृद्ध बनाउने र पार्टीलाई थप क्रान्तिकारी बनाउने दिशातर्फ यो पार्टी अगाडि बढ्ने सहज अपेक्षा गर्न सकिन्छ। विगतमा तत्कालीन माओवादीले नेपालको कम्युनिस्ट आन्दोलनमा अभ्यास गर्दै आएको संगठनको सैनिक शैलीको पनि विधिवत अन्त्य भएको छ।

समाजवादमा पुग्ने लक्ष्यसाथ विघटित एमाले र माओवादीबीच गठबन्धन भएको थियो । एक्काइसौं शताब्दीमा नेपाली समाजवादको स्वरुप पनि फरक हुने निश्चित छ। विगतमा कम्युनिस्ट पार्टीको एकाधिकारबाट निर्माण भएका समाजवाद असफल भएको सन्दर्भमा नेपालमा निर्माण हुने समाजवाद प्रतिस्पर्धात्मक एवम् बहुलवादी शासन प्रणालीमा आधारित हुनेछ।

नेपाल कम्युनिस्ट पार्टीले लोकतन्त्र, समृद्धि र समाजवादलाई आफ्नो जीवन पद्धतिको रुपमा विकास गर्नेछ। तर पार्टीका शीर्ष नेता नै विचार निर्माणमा उदाशीन देखिन्छन्।

ग) राष्ट्रियताको सवालमा पार्टीभित्रै असमान धारणा किन ?

नेपालको विशिष्ट भौगोलिक अवस्थितिको कारण इतिहासदेखि नै यसको स्वाधीनता जोगिदै आएको छ। इतिहासमा नेपालले कहिल्यै कसैको गुलाम बन्नु परेन।

नेपाललाई गुलाम बनाउने प्रयास पू्र्खाले असफल बनाए। पछिल्लो समयमा देशको स्वाधीनता जोगाउन नेपालका कम्युनिस्टले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । तर नेपाल अहिले पनि वैदेशिक हस्तक्षेपबाट मुक्त भइसकेको छैन।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सबै खाले विदेशी हस्तक्षेपको अन्त्य गरेर मात्र स्वाधीन, सार्वभौम र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ। दशकौंदेखि गुमेको भू–भाग समेटेर नक्शा प्रचलनमा ल्याएपछि सबैतिरबाट ताली पाएको सरकारको यस दिशातर्फ झन् प्रभावकारी पाइला अगाडि बढ्ने अपेक्षा गर्न सकिन्छ।

तर राष्ट्रियता र विदेशनीति सम्बन्धमा पार्टीमा हदैसम्मको अलमल र असमान धारणा भएमा सबल राष्ट्र निर्माण गर्ने जनताको चाहनामा तुषारापात हुने खतरा पैदा भएको छ।

घ) सिङ्गो पार्टी जीवन कोमामा त जाने होइन ?

तत्कालीन नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रबीच एकता घोषणा भएर बनेको नेकपाको जीवन राम्ररी चल्न सकेको छैन। एकताअघि दुबै पार्टीमा जनताको बहुदलीय जनवाद वा माओवाद वा एक्काईसौं जनवादको बारेमा केही न केही रुपमा जनस्तरमा विचार, विमर्श र अन्तरक्रिया भइरहन्थ्यो।

यस्ता वैचारिक क्रियाकलापले पार्टीलाई चलायमान र पुनर्ताजगी गरिरहन्थ्यो। एकतापछि तय गरिएको वैचारिक व्यवस्था पार्टी केन्द्रको निर्णयपुस्तिकामा मात्र सीमित भयो, जनस्तरमा पुग्नै सकेन।

जनजिब्रेमा रहेके जबज वा माओवाद जनताले बिर्सिने र तय गरिएको भनिएको नयाँ वैचारिक व्यवस्था पनि नेकपाको तृणमूल तहमा नपुग्नाले विस्तारै पार्टीमा वैचारिक शुन्यता पैदा हुदैछ। यस्तो प्रकारको शून्यता लामो समयसम्म रहेमा त्यसले पार्टीभित्र थप अराजकता पैदा गर्ने निश्चित छ।

माथिदेखि तलसम्म पार्टी संगठनले पूर्णता नपाउँदा र एकताका दुई पक्षबीच सहमति नभई पार्टीका हरेक तहमा कुनै निर्णय हुन नसक्ने वैधानिक व्यवस्थाका कारण पार्टीको अग्रगति ईतिहासमा सबैभन्दा सुस्त भएको छ।

एकताको करिब सत्तरी प्रतिसत शक्ति तत्कालीन एमालेले नेकपालाई गति दिन सक्थ्यो तर उ आफैं दुश्मनीपूर्ण पाराले विभाजित होइदिनाले सिंगो नेकपा त्रिपक्षीय गोलचक्करमा फस्यो। एकताको एकतिहाई शक्ति तत्कालीन माओवादी केन्द्र एमाले रुपी सुरुङमा छिर्दा सतर्कतापूर्वक समूहबन्दीमा लाग्नु कुनै आश्चर्यको कुरा थिएन।

छिटोछिटो हिँड्न नसके पनि नेकपा एकताको मार्गमा घिस्रिन थालेको दुई बर्ष नाघिसकेको छ। प्रसिद्ध अंग्रेजी कवि रवर्ट फ्रोस्टले उनको कविता ‘द रोड नट टेकन’ मा भने झैं आफूले नहिँडेको बाटोको केवल कल्पना मात्र गर्न सकिन्छ। पार्टीमा विवाद उत्कर्षमा पुग्दा बाहिर आएका पार्टी विभाजनका हल्ला केवल कल्पना मात्र हुन्।

यथार्थमा नेकपा विभाजनमा जान सक्दैन। राज्यको वैधानिक व्यवस्था, व्यवहरिकता, आवश्यकता र इतिहासका अनुभवले नेकपाको विभाजनलाई कुनै अनुमति दिँदैन। पार्टी विभाजनको कसैले कल्पना गरेको भए त्यसैलाई त के अपराध भन्नु र?

नेकपाका नेता–कार्यकर्तामा देखिएको अहिलेको प्रमुख चिन्ता पार्टी विभाजनको होइन। अहिलेको प्रमुख चिन्ता हो –पार्टीको शीर्षतहमा विद्यमान त्रिपक्षीय तानातानले सिङ्गो पार्टीमा विस्तारै रक्तसञ्चार नै बन्द हुने पो हो किरु

ङ) पार्टी र सरकार कसले कसलाई चलाउने?

कम्युनिष्ट शासन भएका चीन, क्यूबा, भियतनाम लगायतका देशमा र राष्ट्रपति शासन भएका अमेरिका, फ्रान्सजस्ता देशमा सत्तारुढ पार्टी र सरकारको बीचमा खास विवाद देखिदैन। संविधानले तोकेको अवधिसम्म देशको कार्यकारी प्रमुखले सम्पादन गर्ने कार्यमा पार्टीले अंकुश लगाएको पाइदैन। तर संसदीय व्यवस्था भएका अधिकांश मुलुकमा सत्तारुढ पार्टी र सरकारबीच कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर भन्ने प्रश्न बारम्बार उठिरहन्छ।

गिरिजाप्रसाद कोईराला नेतृत्वको नेपाली कांग्रेसको सरकारलाई ‘पुच्छरले कुकुर हल्लाएको’ आरोप लागिरह्यो। वर्तमान प्रधानमन्त्री ओलीलाई पनि त्यस्तै प्रकारको आरोप पार्टीभित्रबाट लगाइदैछ। सरकारमा नरहेका शीर्ष नेताका ‘प्रधानमन्त्रीले पार्टीलाई नसोधी काम गरेको, एकलौटी गरेको’ भन्ने टिप्पणी नेपाली राजनीतिक बजारमा व्याप्त छन्।

देशको सर्वोच्च कार्यकारी प्रमुख प्रधानमन्त्रीले राज्य सञ्चालनमा कस–कसलाई कहाँ–कहाँ सोध्नु पर्ने हो प्रष्ट नहुँदासम्म यो विषयले ओलीको मात्र होइन, अब आउने हरेक प्रधानमन्त्रीको टाउको दुखिरहनेछ। सरकारमा नरहेका नेकपा नेताका सरकार सञ्चालनका विषयमा आफूलाई नसोध्नु नै पार्टीलाई नसोध्नु हो भन्ने अचम्मका तर्कसमेत सुनिनु त आश्चर्यजनक छ नै, कहीं नभएको जात्रा हाँडी गाउँ जस्तै।

गत निर्वाचनमा नेकपालाई झण्डै दुईतिहाई बहुमत दिलाउने जनतालाई राज्य सञ्चालन र पार्टी सञ्चालनमा कसले कसलाई सोध्यो वा सोधेन भन्ने प्रमुख चासोको विषय होइन, बरु राज्य सञ्चालन र पार्टी सञ्चालनबाट देशले के–के सकारात्मक परिणाम ल्यायो भन्नेचाहिं प्रमुख चासोको विषय हो।

त्यसकारण प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर शीर्ष नेताहरु ‘म्युजिकल चेयर’ खेलिरहने कि राष्ट्र र जनताका समस्यालाई केन्द्रमा राखेर सहमतीपूूर्वक समाधानको बाटोमा लैजाने भन्ने दुई विकल्पमा नेकपा विवादको निकास प्रतिक्षारत छ।

डाईनामाइटका आविस्कारक अल्फ्रेड नोबलको दाजुको मृत्यु हुँदा अल्फ्रेड नोबल मर्यो भन्ने गलत सूचनाको आधारमा भोलिपल्ट एउटा समाचार छापियो– ‘जनताको हत्यारा मर्यो’। बैज्ञानिक नोबललाई हत्याराको संज्ञा साह्रै मन परेन।त्यो संज्ञाबाट मुक्त हुन पछि उनले नोबल पुरस्कार स्थापना गरे। उनको अर्कै परिचय स्थापित भयो।

सबै नेतालाई आफूू र आफूूले गरेको काम उत्कृष्ट लाग्नु स्वाभाविक हो। तर अरुले आफ्नो कार्यलाई कसरी मूूल्याकंन गरेको छ भन्ने अल्फ्रेडको हेराइ हाम्रा समकालीन नेतामा भइदिए समस्याको समाधान त्यही निस्किन्छ।

त्यसकारण नेकपामा युद्धरत दुबै पक्षले आ–आफ्नो विचारको फायर खोलेर महाधिवेशनको तयारी गर्नु र महाधिवेशनसम्म पार्टीका सबै केन्द्रीय निकायलाई काम चलाउ निकायको रुपमा सञ्चालन गर्नुमा नै देश, जनता र पार्टीको कल्याण छ ।

प्रकाशित मिति: : 2020-11-27 18:16:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ