भ्यालिडेशन र शक्ति

राजीव घिमिरे

काठमाडाै‌ं

‘सेफ सन्तोष साह उपविजेता!’  भनेर पढेँ, बधाई! कुनै पनि नेपालीको लागि यो चानचुने उपलब्धि हुँदै होइन। ठूलै र गर्व गर्न लायक उपलब्धि हो। खान नपाएका, फुड कल्चर नभएको भन्ने देशबाट अब गौरवशाली फुड कल्चर भएको देशमा नेपाल गनियो। 

खाना कै लागि पनि अब पर्यटकहरू नेपाल आउँछन्। हामीले जति सुकै ठूलो राम्रो काम गर्यौं भनेर फुर्ति लगाए पनि कसैले त्यो साँच्चि कै राम्रो हो भनेर ‘भ्यालिडेट’ गरिदिनु पर्ने रहेछ। त्यो ‘भ्यालिडेट’ चाही जसको हातमा शक्ति छ, उसैले गर्ने रहेछ। जस्तोः नेपालको संविधान बन्यो भारतले ‘भ्यालिडेट’ नगरेर अहिलेसम्म धरमर नै छ। नेपालमा नयाँ सरकार बन्यो, सबैभन्दा पहिले ‘भ्यालिडेट’ गर्न भारत नै पुग्नुपर्छ। किनभने भारतसँग यो क्षेत्रको शक्ति छ। 

नेपाल टिभीमा कुनै खाना पकाउने कार्यक्रम भएको भए नेपाली खाना पनि राम्रो खाना हो भनेर यतिको ‘भ्यालिडेशन’ पाउने थिएन। तर सन्तोष साहले बीबीसीको कार्यक्रममा नै प्रस्तुत गरेको हुनाले यो ‘भ्यालिडेशन’ प्राप्त भयो। बीबीसीको विश्वसनियतामा यो शक्ति रहेछ। 

नेपालको कुन समुदायले अक्टोपसलाई खानाको रूपमा खान्छन्? मलाई थाह भएन।  तर सन्तोष साहले बीबीसीमा पेश गरे। गोरा जजले मन पराए। अब अक्टोपस नेपाली खाना हो भनेर ‘भ्यालिडेट’ भैसक्यो। सन्तोषलाई राम्रोसँग थाह रहेछ, ‘भ्यालिडेशन’ कसरी गराउने भनेर।

उनले नेपाली खाना भनेर दाल, भात, तरकारीलाई थकाली थालमा सजाएर पस्केको भए पहिलो राउण्डबाटै चैट हुन्थे। मैले कसैसँग केही कुराको ‘भ्यालिडेशन’ लिनुछ भने ‘भ्यालिडेशन’ दिने मान्छेले बुझ्ने तरिकाले त्यसलाई पेश गर्नुपर्छ। सन्तोषले नेपाली खानालाई गोराको खानासँग फ्युजन गरे र उनीहरूको जिब्रोले पनि बुझ्ने बनाए। अनि बल्ल नेपाली खानले ‘भ्यालिडेशन’ पायो। किनभने उनलाई थाह छ कि अहिले शक्ति गोराको जिब्रोमा छ। 

अर्को अचम्म उनी नेपाली हुन कि भारतीय भनेर धेरैले शङ्का गरे। उनको नेपाल कै घरको फोटो देखाउँदा पनि पत्याएनन्। किनभने हाम्रो राष्ट्रियता ‘साला उदिते, हाम्रो प्रशान्त तामाङ’ भन्ने मानसिकताको छ। त्यसैले उनले टोपी लगाएर आफ्नो राष्ट्रियता ‘भ्यालिडेट’ गराए। किनभने उनलाई थाह छ- अहिले शक्ति टोपीमा छ। बुद्धिमान् मान्छेले भनेको कुरा ‘भ्यालिडेटेड’ हुन्छ। त्यसैले हेर्नुस् त गुगलमा ‘संसारको सबैभन्दा अमूल्य ग्रन्थ गीता हो’ भनेर आइन्सटाइनले भनेको भन्ने किसिमका थुप्रै कोटेशन फेला पार्नुहुन्छ।

त्यो कोटेशन बनाउने मान्छेलाई पनि थाह छ कि जब कोही बुद्धिमानको नामबाट फर्जी ‘भ्यालिडेशन’ गराउन नै छ भने संसारकै हालसम्मको सबैभन्दा बुद्दिमान मानिएको व्यक्ति आइन्सटाइनबाट नै ‘भ्यालिडेट’ गराउन पर्छ। किनभने आइन्सटाइनको वौद्धिकतामा त्यो शक्ति छ। 

हाम्रा ‘मिथिकल पौराणिक राष्ट्रवाद’ मा आधारित रहेर विश्लेषण गर्ने विद्वानहरूले हाम्रो संस्कृति उच्च थियो, अहिलेको पश्चिमा प्रभावले बिगार्यो भनेर प्रमाणित गराउन तिनै पश्चिमा विद्वानहरूका यस्तै कोटबाट ‘भ्यालिडेट’ गराउँछन्। किन भने उनीहरूलाई थाह छ कि अहिले शक्ति पश्चिममा छ। त्यसैले मलाई लाग्ने भनेको संस्कृतमा भएका ठूला ठूला कुरालाई ‘भ्यालिडेट’ गराउन छ भने त्यसलाई अङ्ग्रेजीमा ट्रान्सलेट नगरि हुन्न, जतिसुकै फूर्ति दिए पनि। किनभने अहिले शक्ति अङ्ग्रेजी भाषामा छ।
 

प्रकाशित मिति: : 2020-12-27 15:03:00

प्रतिकृया दिनुहोस्