अस्ट्रेलिया र चाइनीज ताइपेईविरूद्धको खेल दशरथ रंगशालामा खेलाउने तयारी छः एन्फा महासचिव तुलाधर (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व कप छनोटअन्तर्गत अस्ट्रेलिया र चाइनीज ताइपेईबीच घरेलु मैदानमा हुने खेलका लागि नेपालले जोडतोडका साथ तयारी गरिरहेको छ। यसका लागि नेपालले ५८ खेलाडीबाट ‘क्लोज क्याम्प’ सुरु गरेको थियो। 

घरेलु मैदानमा आयोजना हुने भनिएको छनोट खेल नेपालमा हुने वा नहुने भन्ने चर्चा चलिरहेको बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले बिएल नेपाली सेवासँग कुराकानी गर्दै काठमाडौंको दशरथ रंगशालामा खेलाउने तयारी भइरहेको बताएका छन्। 

उनले बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्दै भने, ‘हालको लागि हाम्रो एकमात्र अन्तर्राष्ट्रिय रंगशाला भनेको दशरथ रंगशाला हो। कोरोना सुरु हुनु भन्दाअघि पनि हामीले दशरथ रंगशालामै तयारी गरेका थियौं। यसका लागि हामीले राष्ट्रिय टिमको तयारी पनि गरिसकेका छौं।’

उनले कोरोनाका कारण तयारीमा प्रभाव परेको जानकारी दिए। ‘अहिले ५८ जनाबाट फाइनल स्क्वाडका लागि तयारी भइरहेको छ। हामीले ब्याक–अप टिम पनि बनाउँछौं,’ उनले भने, ‘हामीले तयारी स्वरुप मित्रराष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम राखेका छौं। यहाँ सम्भव भएन भने न्युट्रल भेन्यु वा अरु देशमा गएर मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छौं।’

उनले दशरथ रंगशालामा लामो समयदेखि मर्मत कार्य भइरहेको हुनाले हामीले गुनासो गर्ने ठाउँ नदिने बताए। ‘हामीले नेपाल आर्मीको फुटबल मैदानलाई अभ्यासको लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘पाहुना टोलीलाई गुनासो गर्ने ठाउँ दिँदैनौ।’

नेपालले विश्व कप छनोटअन्तर्गत २५ मार्चमा चाइनिज ताइपेई र ३० मार्चमा अस्ट्रेलियासँग खेल्दैछ।   

प्रकाशित मिति: : 2021-01-03 21:18:00

प्रतिकृया दिनुहोस्