ओलीसँग साइबर सेना भनिने ‘साइबर स्यालहरु’ मात्रै बाँकी छन्: भुसाल

बिएल संवाददाता

काठमाडाै‌ं

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साइबर सेना भनिने ‘साइबर स्यालहरु’ मात्रै बाँकी रहेको बताएका छन्।

शुक्रबार संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड)को विरोध सभा सम्बोधन गर्दै नेता भुसालले साइबर सेनासँगै सेटिङवाला मामिला पनि बाँकी रहेको आरोप लगाए। 

‘स्यालहरुले दन्ते कथामा मात्रै रजाइँ गर्छ, वास्तविक जीवनमा गर्दैन,’ उनले भने,‘ओलीलीजी यो तपाईंले बोल्न भुलेको उखान हो, कोहि पनि डराएर भाग्दैन।’

भुसालले आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म केपी ओलीले चुनाव नगराउने दावी गरेका छन्। 

‘चुनावको सपना कसैले देखेका छन् भने गलत हुन्छ। संविधान च्यातेर यो चुनाव हुने वाला छैन। म यो मासलाई अगाडि राखेर भन्छु, दुई तिहाईको ग्यारेन्टी नभएसम्म ओलीले चुनाव गर्दैनन्,’ उनले भने। 

भुसालले प्रधानमन्त्रीओलीले आउने चुनावमा दुईतिहाइ ल्याउने भनेको भएको सन्तानको हत्या गरेर नयाँ सन्तानका लागि पूर्णिमाको व्रत बस्नु जस्तै भएको बताए।

‘झण्डै दुईतिहाइ बहुमत भएको प्रतिनिधि सभा विघटन गरेर र पार्टी फुटाएर निर्वाचनमा जाने र दुईतिहाइ ल्याउने रे। त्यसो गर्नु भनेको हुँदाखादाको सन्तानको हत्या गरेर नयाँ सन्तानका लागि व्रत गर्नुजस्तै हाे,’ उनले भने।

उनले ओलीले कुनै हालतमा चुनाव नगर्ने बताए। ‘संविधान च्यातेर, पानीमा भिजाएर निर्वाचन हुन सक्दैन,’ उनले भने।

अब पार्टी पुनर्गठन गर्दा अर्को ओली जन्मिन दिनु नहुने पनि भुसालको भनाइ छ । उनले भने, ‘अब अर्को ओली हाम्रो पार्टीमा जन्मिन दिँइदैन । ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलनले विश्राम लिन्छन् ।’

उनले अहिले देशमा लोकतन्त्रवादीका सामु ओलीलाई पराजित गर्नैपर्ने अवस्था आइपरेको बताए।

‘अब मुलुकमा यात वामपन्थी र लोकतन्त्रवादीहरुको जित हुनुपर्छ या त ओलीको जित हुनुपर्छ,’ उनले भने, ‘त्यसैले अब हामीसामु ओलीलाई पराजित गर्नैपर्ने परिस्थिति बनेको छ।’

प्रकाशित मिति: : 2021-01-22 14:54:00

प्रतिकृया दिनुहोस्