नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न ओलीलाई निम्ता दिन्छु: खनाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै खनालले ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकिएको र पार्टीबाट निष्कासन गर्ने तयारी रहेको बताए।

उनले भने, ‘कुन पार्टी आधिकारिक हो? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु। अर्को कुरा केपी ओलीलाई पार्टीबाट हामीले निष्कासन गरेका छौं। अब उहाँ कमरेड रहनुभएन।’

नेता खनालले ओलीले घुँडा टेक्नुको विकल्प नभएको पनि बताए । 

‘प्रधानमन्त्री ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने रहन्छ। प्रतिगमन नसच्चिएसम्म कफन बाँधेर सडकमा बस्छौं,’ उनले भने।

अहिले आफूहरुसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी आन्दोलनमा रहेको र छुट्टाछुट्टै आन्दोलन भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको उनले बताए ।

उनले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै संविधान बाहिर गएर सर्वोच्चले निर्णय नगर्ने पनि विश्वास व्यक्त गरेका छन्। 

‘सर्वोच्चले संसदको पुनर्स्थापना गर्छ। त्यस अदालतले संसदको पुनर्स्थापना गर्छ, गर्छ । त्यो भन्दा अर्को कुनै विकल्प छैन । अदालतले के गर्ला भनेर भ्रम छर्नुपर्ने आवश्यकता छैन । सर्वोच्च अदालतका न्यायमूर्तिहरुले नेपाली जनता के भन्दैछन् सुनिरहनुभएको छ, मनमा गुनिरहनुभएको छ,’ उनले भने।

प्रकाशित मिति: : 2021-01-22 15:24:00

प्रतिकृया दिनुहोस्