भारतको गणतन्त्र दिवसमा किसानको ट्रयाक्टर परेड, राजधानी दिल्लीमा तनाव

बिएल संवाददाता

नयाँ दिल्ली

भारतले ७२औं गणतन्त्र दिवस तामझामका साथ मनाइरहेका बेला दिल्लीमा भने किसान र प्रहरीबीच तनाव भएको छ।

विगत दुई महिनादेखि आन्दोलनरत भारतीय किसान र दिल्ली प्रहरीबीच ठाउँ–ठाउँमा केही समयअघि झडप भएको छ। गणतन्त्र दिवस मनाइरहेको दिल्लीको लाल किल्लातर्फ ट्रयाक्टरसहित अघि बढिरहेको किसानको परेडलाई सुरक्षाकर्मीले रोक्न खोज्दा यहाँको अवस्था तनावग्रस्त बनेको हो।

राजधानी दिल्लीको सीमा जाेडिएको सिंघमा भागदौड मच्चिदा स्थिति भयावह बनेको थियो। प्रहरीका अनुसार सो क्षेत्रमा ठूलो संख्यामा किसानको  उपस्थिति रहेको थियो।

प्रहरीले आन्दाेलनरत किसानलाई तितरबितर पार्न ग्यासका गोला तथा लाठीचार्ज गरेका थिए। दिल्ली प्रहरीले  इन्डिया गेटतिर लागेका किसानतर्फ इंकित गर्दै निरन्तर फायर गरेको थियो। आन्दोलनरत किसान हालसम्म आईटीओमा उभिएका छन्। 

यसअघि गाजीपुर सीमा हुँदै नोएडा रोडमा पुगेका किसानलाई पनि तितरबितर पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो। किसानले पनि जवाफमा ढुंगा हानेका थिए। उनीहरुले सरकारी गाडी तोडफोड गरेका छन्। दिल्ली पुलिसको दाबी अनुसार किसानहरूले पाण्डव नगर पुलिस क्षेत्रमा ट्रयाक्टर राख्ने प्रयास गरेका थिए। 

प्रकाशित मिति: : 2021-01-26 14:50:00

प्रतिकृया दिनुहोस्