निर्वाचन आयोगबाट प्रधानमन्त्रीले दिएको सन्देश– ‘एमाले र माओवादीबीचको एकता पूरा नहुँदै बीचैमा भङ्ग भएको हो’   

‘नेकपाको पहिलो अध्यक्ष म, सूर्य चिन्ह हाम्रो, प्रचण्डको सूर्यसँग कुनै नाता छैन’ 

निर्वाचन आयाेगसँगको बैठकमा प्रधानमन्त्री ओली ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार मध्यान्ह निर्वाचन आयोग, बहादुरभवन गए । प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेपछि पहिलोपटक निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले त्यहाँबाट तीनवटा सन्देश दिए– 

– नेकपाको पहिलो अध्यक्ष म हुँ, सूर्य चिन्ह हाम्रो हो । अर्को समूहले पनि निर्वाचन आयोगमा मलाई नै एक नम्बर अध्यक्ष भनेर स्वीकार गरेको छ । हामी नै आधिकारिक नेकपा हौँ । सूर्य चिन्हबाट एकपटक पनि चुनाव नलडेका नेकपाको अर्को समूहका अध्यक्ष प्रचण्डको सूर्य चिन्हसँग कुनै साइनो छैन ।’ 

– साविक एमालेको निर्वाचित अध्यक्ष म हुँ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन् । दुई पार्टीबीचको एकता प्रक्रिया टुंगोमा नपुगी भंग भएको हो । भंग भो भनी घोषणा मात्र नभएको हो । पूर्ववत समूहहरु साविक एमाले र माओवादी पार्टी छुट्टिएका हुन् । 

– एमाले र माओवादी पार्टी एकता घोषणा गरी पार्टीका जुन तह र पदाधिकारी घोषणा गर्‍यौँ, त्यो सबै मनोनित हो । साविक दुई पार्टीका दुई जना अध्यक्ष मात्र निर्वाचित हौँ । नेकपाका ४४१ जना केन्द्रीय सदस्य आधिकारिक भनी निर्वाचन आयोगले  जुन निर्णय गरेको छ, त्यो केन्द्रीय कमिटी पनि मनोनित हो । निर्वाचन आयोगले निर्णय गर्दा त्यसलाई पनि ध्यान राख्नुस् ।

निर्वाचनको तयारीबारे जानकारी लिन गएका प्रधानमन्त्री ओलीलाई त्यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ‘ब्रिफिङ’ गरे तर प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नेकपाको अर्को समूहले निर्वाचन आयोगमा गएर गरेका सम्पूर्ण दाबीको खण्डन गर्न पनि भ्याए । प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष पेश गरेका सम्पूर्ण तथ्यलाई अस्वीकार गरे । 

मकैको घोगा–हँसिया र सूर्य !

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड र माधवकुमार नेपाल दुई पटक आयोग पुगिसकेका छन् । दुवै पटकका छलफलमा प्रचण्ड र नेपाल दुबैले नेकपाको बहुमत पक्ष आफूहरु भएकोले सूर्य चिन्ह पनि आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए । 

तर, अर्को समूहले दुई पटक दाबी पेश गरिसकेपछि पुगेका प्रधानमन्त्री ओलीले ०४८ सालमा तत्कालीन नेकपा एमालेले सूर्य चिन्ह लिँदाको प्रसंग आयोगलाई सुनाए, ‘माधवकुमार नेपाल र बलराम उपाध्याय (स्व.) ले हँसिया र मकैको घोगा भएको चुनाव चिन्ह आयोगमा दर्ता गराएर जानुभएको थियो  । हामीले त्यसको विरोध गर्‍यौँ । अनि त्यसलाई सच्याएर हामीले सूर्य चिन्ह दर्ता गरेका हौँ ।’ 

नेकपाको प्रचण्ड समूहका नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा गएर ०४८ सालमा निर्वाचन आयोगमा गएर आफूले सूर्य चिन्ह दर्ता गराएको बताएका थिए । सूर्य आफ्नो हुनुपर्ने दाबी गरेका थिए । ‘त्यसयता हामी सधैँ सूर्य चिन्हबाट चुनाव लड्दै आएका छौँ’, ओलीले भनेका थिए, ‘प्रचण्डजी एकपटक पनि सूर्य चिन्हबाट चुनाव लड्नुभएको छैन ।’

हाल दिवंगत भइसकेका नेताहरु मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव रहेको तत्कालीन एमालेमा नेता नेपाल ०४८ सालको संसदीय चुनाव नलडी निर्वाचन परिचालन कमिटीको संयोजक बनेका थिए । नेपालले ओलीले त्यसको खण्डन गरेका हुन् । 

०१६ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले हँसिया र मकैको घोगा चुनाव चिन्ह लिएर लडेको थियो । जसमा पाटनबाट तुलसीलाल अमात्यसहित चार सीट नेकपाले जितेको थियो । नेपाल र उपाध्यायले त्यही चुनाव चिन्ह दर्ता गरेर गएको ओलीले बताए । एमालेले सूर्य लिएपछि नेकपा (अमात्य) ले मकैको घोगा र हँसिया चुनाव चिन्ह लिएको थियो । 

सूर्य चिन्हसँग प्रचण्डको सम्बन्ध

ओलीले ढाडमा सूर्य चिन्ह टाँसेर माइतीघरको सडकमा धर्ना बस्नेदेखि निर्वाचन आयोगमा समेत पुगेको अर्को समूहका अध्यक्ष ‘प्रचण्ड’बारे पनि आयोगलाई बताए, ‘पुष्पकमल दाहालजी कहिल्यै सूर्य चिन्हबाट चुनाव लड्नुभएको छैन ।

प्रधानमन्त्री ओलीले ०७४ सालको संसदीय निर्वाचनअघि वाम गठबन्धन गर्ने सहमति हुँदा सूर्य चिन्हबाट सबैले चुनाव लड्ने सहमति भएका तर प्रचण्ड दुई दिनपछि उक्त सहमतिबाट पछि हटेको पनि सुनाए । उनले भने, ‘असोज १४ गते सहमति भएको थियो, १६ गते पछि हट्नुभो । जसको परिणाम स्वरुप करिब १० लाख भोट बदर भए । नेकपालाई धेरै सीट नोक्सान भयो ।’

प्रधानमन्त्री ओलीले गत उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचनमा पनि आफ्नो एकल हस्ताक्षरमा उम्मेद्वारको नाम सिफारिश गरेको स्मरण गराए । ‘उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचनमा पनि मैले एकल हस्ताक्षरमा सिफारिश गरेको थिएँ । म पहिलो अध्यक्ष हुँ । किन मेरो एकल हस्ताक्षर मान्य नहुने ?’, ओलीको प्रश्न थियो, ‘केही मान्छे बाहिरिएको हो । उनीहरुले बहुमत छ भनेका पनि होलान् ।’

दल र चिन्हकाे विवाद झिक्न मिल्दैन

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको सिफारिश गर्दासम्म पार्टीमा बहुमत वा अल्पमत भन्ने त्यस्ता कुनै कुरा नभएको बताउँदै भने, ‘निर्वाचनको अवधिभित्र दल र चुनावचिन्हको विवादमा पस्न पाइँदैन । चुनाव आउनुभन्दा १२० दिनअघिसम्मको अवधि चुनावको अवधि हो । पार्टी र चुनाव चिन्हको विवाद १२० दिनभित्रको अवधिमा झिक्न पाइँदैन ।’ 

पार्टीको विधानमा दुई अध्यक्षसँग एजेन्डाबारे सहमति गरी महासचिवले बैठक डाक्नुपर्ने प्रावधान रहेको उल्लखे गर्दै ओलीले भने, ‘महासचिव र अध्यक्षलाई जानकारी नै छैन, कसरी बैठक बस्यो ?’ उनले प्रचण्ड समूहले बैठक आफू र महासचिव विष्णु पौडेललाई हटाएको भनी आयोगमा पेश गरिएको निर्णयको खण्डन गरे । 

ओलीले नेकपामा आफ्नो मात्र एकल हस्ताक्षर चलेको दाबी गर्दै भने, ‘कहिलेकाहीँ मेरोसँगै पुष्पकमल दाहालको पनि हस्ताक्षर चलेको छ । 
ओलीले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भाडाको घरमा चलिरहेको बताए । साविक माओवादीको आफ्नो केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको पनि बताए । 

पार्टी एकताको सहमति पनि दुई अध्यक्षबीच भएको र पछि मात्र यो अनुमोदन भएको ओलीले आयोगलाई बताएका थिए। तीन महिनामा पार्टी एकता पूरा गर्ने र दुई वर्षमा एकता महाधिवेशन गर्ने पूर्वनिर्णय कार्यान्वयन नभएका कारण केन्द्रीय सदस्यको विस्तार गरी १५०१ पुर्‍याउने निर्णय गरेको पनि आयोगलाई जानकारी दिए । 

प्रमुख पार्टीको अध्यक्ष दलबिहीन हुन्छ?

उनले आफू सधैँ सूर्य चिन्हबाट चुनाव लडेको र सूर्य चिन्हबाटै चुनाव जितेर प्रधानमन्त्री बनेको जानकारी दिँदै प्रश्न गरे, ‘देशको प्रमुख पार्टीको अध्यक्ष दलबिहीन र स्वतन्त्र हुन्छ ? यो कुन कानून, तथ्य र तर्कका आधारमा संभव हुन्छ ?’

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा बैशाख १७ गते र दोस्रो चरणमा प्रदेश १, बागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णयबारे पनि आयोगलाई औपचारिक जानकारी गराएका थिए । आयोग जानुअघि मंगलबारै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखी उक्त निर्णय गराएका थिए । 

प्रमुख आयुक्त थपलियाले आयोगका काम–कारवाहीबारे ‘ब्रिफिङ’ सुनेपछि ओलीले आयोगका कामप्रति सन्तोष व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए । 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले चुनाव स्थगनको अन्तरिम आदेश जारी नगरेका कारण तोकिएको मितिमै निर्वाचन हुन्छ भन्ने दाबी गर्दै भने, ‘सर्वोच्च अदालतले स्थगनको आदेश गरेको छैन । निर्वाचन हुन्छ । निर्वाचन आयोग दबाब वा धम्कीबाट प्रभावित हुनु आवश्यक छैन । निर्वाचनको तयारी रोक्नु जरुरी छैन ।’

प्रधानमन्त्री ओलीले गत संघीय संसद्को निर्वाचनमा राष्ट्रपति कार्यालय शितलनिवासमा निर्वाचन परिणाम पुक्ष्न सवा महिना लागेको बताउँदै भने, ‘त्यो गलत थियो ।’ 

२०७५ साल जेठ ३ गते नेकपा बनेको र जेठ २३ गते निर्वाचन आयोगले सूचना जारी गरेको बताउँदै भने, ‘म एउटै संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको थिएँ । पुस ५ गते मेरो सिफारिशमा विघटन हुँदाको मितिसम्म मेरो त्यो हैसियत कायमै थियो । मैले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिश गरेको हुँ । त्यसपछि कसैले पार्टी छाडेको होला ।’

प्रकाशित मिति: : 2021-02-10 13:47:00

प्रतिकृया दिनुहोस्