एमाले पुनर्मिलन अलमलमा, ओलीको निम्तो कुर्दै नेपाल समूह

थाहा खबर

काठमाडौं

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पुनर्जीवित भएका छन्। पार्टी एक हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खेमामा रहेको एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु एमालेमै फर्किएका छन्। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट रहेका एमाले नेताहरु पार्टीमा फर्केको भएपनि अहिलेसम्म भेटवार्ताको बिषयमा कुनै कुराकानी भएको छैन। प्रचण्ड खेमामा उभिएर अध्यक्ष ओलीविरुद्ध खनिएका नेताहरु पार्टीमा फर्केपछि ओलीले कस्तो व्यवहार गर्लान्? भन्ने सबैको चासोको बिषयमा बनेको छ। 

यद्यपी, विभाजित नेकपाको अध्यक्ष समेत भइसकेका एमाले नेता नेपालले सार्वजनिक रुपमा अहिलेसम्म पार्टीभित्रैबाट कसैले भेटवार्ता नगरेको तर्क गरे। उनले आफ्नै पार्टीको सरकार भएको सुनेको त हो तर, आफूलाई अहिलेसम्म जानकारी नभएको सम्म भन्न भ्याए। 

अर्का नेता खनालले भने अब एमाले नेतृत्वको सरकार नै दुई बर्ष टिक्ने टिप्पणी गरे। अब संविधानको मर्म र भावना अनुसार बढ्नुको विकल्प नभएको भन्दै उनले भने, ‘हामी एमाले भयौँ, तीन वर्ष नेकपा भइसकेका थियौँ। एकीकृत भएको पार्टी विभाजन भयो। नेकपा एमाले वामपन्थी एकताको पक्षमा छ।’

उनले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको हैसियतमा एमालेले फेरि पनि वाम एकताको नेतृत्व लिनुपर्ने अवस्था आएको दाबी गरे। 

प्रकाशित मिति: : 2021-03-11 19:43:00

प्रतिकृया दिनुहोस्